काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अटोमोबाइल क्षेत्रमा बजार अनुगमन तीव्र बनाएको छ । विभागले पछिल्लो एक साता यता गाडी/मोटरसाइकल/स्कुटरको शोरुम, स्पेयर पार्टस बिक्रेता, सर्भिस सेन्टरमा अनुगमन तीव्र बनाएको हो ।
विभागले उपभोक्ताको हक र हित संरक्षण गर्दै बजारलाई स्वच्छ र प्रतिस्पर्धी बनाउन बजार अनुगमनका साथै कारबाही तीव्र बनाएको हो । विभागले हाल आधादर्जन बढी टोली बनाएर अनुगमनमा खटाएको छ ।
विभागले थापाथली, नक्साल, कुलेश्वर क्षेत्रका अटो कम्पनी तथा फर्महरूमा अनुगमन गरेको हो । विभागले पछिल्लो एक सातामा मात्रै करिब १ दर्जन अटो क्षेत्रसँग सम्बन्धित कम्पनीलाई कारबाही गरेको छ । केही कम्पनीलाई नगद जरिवाना तिराएको छ भने केहीलाई सचेत गराएर छाडेको छ ।
विगतमा चाडवाडको बेलामा मात्रै कर्मकाण्डी बजार अनुगमन हुने गरेको भन्दै चौतर्फी आलोचना हुँदै आएको थियो । तर, पछिल्लो समय विभागको महानिर्देशकमा कुमारप्रसाद दहाल आएपछि बजार अनुगमन तीव्र बनाइएको हो ।
अहिले बजारमा कालोबजारी र तस्करी गरेर ल्याइएका अटो पार्टस छ्यापछ्याप्ती बिक्री भइरहेका छन् । यसले एकातिर उपभोक्ता ठगिएका छन् भने अर्कोतर्फ राज्यले करोडौं राजस्व गुमाइ रहेको छ ।
‘एमआरपी नराख्ने कसैलाई छाड्दैनौं’
महानिर्देशक दहाल एमआरपी नराखी कुनै पनि सामान बेच्न नपाइने बताउँछन् । कानुनमै अनिवार्य रूपमा एमआरपी राख्ने व्यवस्था भएकाले सबैले उक्त नियम पालना गर्नुपर्ने उनले बताए ।
‘हाम्रो कानुनमै बजारमा बिक्री हुने वस्तुको अधिकतम खुद्रा मूल्य राख्नु पर्ने व्यवस्था छ । सियोदेखि गाडीसम्म सबैमा एमआरपी राख्नु पर्छ । तर, बजारमा बिक्री मूल्य नै नराखी मनपरी रूपमा सामान बेचिरहेको भेट्यौं,’ उनले भने, ‘हामीले अनिवार्य एमआरपी राख्न सूचना समेत जारी गरेका छौं । अब पनि हेलचेक्र्याइँ गरेको पाइएका ठाउँको ठाउँ जरिवाना गर्छौं ।’ एमआरपी नराखी सामान बेच्ने साना ठूला सबै व्यापारीलाई नछाडिने उनले बताए ।
सबैभन्दा धेरै ठगी स्पेयर पार्टसमा
अनुगमनका क्रममा सबैभन्दा धेरै ठगी अटो स्पेयर पार्टसमा पाइएको महानिर्देशक दहाल बताउँछन् । ‘हामीले दैनिक रूपमा देशका विभिन्न ठाउँमा विभिन्न फर्मको अनुगमन गरिरहेका छौं,’ उनले भने, ‘अन्य क्षेत्रमा पनि गठी छ । तर, स्पेयर पार्टसमा अत्यधिक गठी भइरहेको छ । किलोमा जोखेर ल्याएको सामान पनि एक पिसकै हजारौंमासम्म बेचेको भेटिएको छ ।’
अधिकांश स्पेयर पार्टस कालोबजारी र तस्करीबाट आउने भएकाले एमआरपी बिनै बिक्री हुने गरेकाले एमआरपी नराख्ने गरिएको आधिकारिक बिक्रेताहरू बताउँछन् ।
‘भन्सार तिरेर ल्याइएको पार्टस एमआरपी तोकिएकै हुन्छ । हामीले १८ रुपैयाँ पर्ने एउटा नटमा समेत एमआरपी राखेका छौं,’ एक आधिकारिक पार्टस बिक्रेताले भने, ‘एमआरपी नहुने सबै पार्टस दुई नम्बरी बाटोबाट ल्याएका हुन्छन् । यसको नियन्त्रणका लागि कडा कारबाही गर्नैपर्छ ।’ हाल बजारमा बिक्री हुने झन्डै आधा अटो पार्टर्स तस्करीबाट आउने गरेको उनको भनाइ छ ।
अब सचेत मात्र होइन, ठाउँको ठाउँ जरिवाना
उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ को उल्लंघन गरेको पाइएपछि विभागले सम्बन्धित व्यवसायीलाई आवश्यक निर्देशन तथा जरिवाना तिराउने गरेको छ ।
विभागले यसअघि सामान्य कैफियत देखिएकालाई एकपटक सचेत गराएर छाड्ने गरेको थियो । अब भने अनिवार्य जरिवाना गरिने महानिर्देशक दहालले बताए । यसअघि सचेत गराइएकाहरूले पनि अब गल्ती नदोहोर्याउने प्रतिबद्धता जनाएको उनको भनाइ छ ।
‘अनुगमनका क्रममा कैफियत देखिएकालाई एकपटक सचेत गराएर छाड्ने गरेका थियौं,’ उनले भने, ‘सचेत मात्र गराउँदा फेरि गल्ती दोहोर्याउने प्रवृत्ति बढ्यो । अब ठाउँको ठाउँ ३ लाख रुपैयाँसम्म जरिवाना गर्छौं ।’

