पावरफुल इन्जिनमा रोयल इनफिल्डको ‘हिमालयन ७५०’

काठमाडौं । रोयल इनफिल्ड इन्डियाले नयाँ हिमालयन ७५० एड्भेन्चर मोटरसाइकल सार्वजनिक गर्ने तयारी थालेको छ ।

कम्पनीले नयाँ डबल पर्पस सेग्मेन्टमा निर्माण गरेको हिमालयन ७५० एड्भेन्चर मोडल २०२६ जुन महिनामा सार्वजनिक गर्न तयारी थालेको हो । रोयल इनफिल्डको नयाँ हिमालयन २०२६ को मध्यमा भारतीय बजारमा आउने भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

मिडिया रिपोर्ट अनुसार नयाँ हिमालयन परिक्षणको क्रममा बारम्बार देखिँदै आएपछि मोटरसाइकलका बारेमा नयाँ जानकारीहरु सार्वजनिक हुन थालेको हो । कम्पनीले भने अहिलेसम्म मोटरसाइकलका बारे कुनै रिपोर्ट बाहिर ल्याएको छैन ।

नयाँ हिमालयन ७५० भारतको लद्दाख, खार्दुङला पास जस्ता ठाउँहरूमा पहिल्यैदेखि परीक्षण हुँदै आएको थियो । एड्भेन्चर मोटरसाइकल भएका कारण कम्पनीले अफरोड र उच्च पहाडी क्षेत्रलाई प्राथमिकतामा राखेर परीक्षण गरिरहेको हो ।

रिपोर्ट अनुसार नयाँ एड्भेन्चर मोटरसाइकल पूरा डबल पर्पस टुरर डिजाइनमा तयार भएको छ । यसको फ्रन्टमा डबल र रियरमा सिंगल डिस्क ब्रेक सेटअप देखिन्छ । अगाडिको ह्वील १९ इन्च र पछाडि १७ इन्चको प्रयोग हुनेछ ।

ट्युबलेस टायरसहित वायर स्पोक ह्वील, यूएसडी टेलिस्कोपिक फर्क र मोनोसक सस्पेन्सन सेटअप रहनेछ । हाई माउन्टेड अपस्वेप्ट एग्जस्ट, स्याडल ब्याग माउन्ट पेनियर, अग्लो वीन्ड स्क्रीन, बल्कि फ्रन्ट इन्ड, स्लिम साइड र टेल सेक्सन रहेको छ ।

कम्पनीले यो मोटरसाइकल नयाँ चेसिस फ्रेममा तयार पारेको हो । यसमा कनेक्टिभिटी सिस्टम सहितको टीएफटी डिस्प्ले, नेभिगेसन, पूरा एलईडी लाइट सेटअप, सर्कल आकारको हेड्ल्याम्प, ट्रयाक्सन कन्ट्रोल, क्रुज कन्ट्रोल, राइडिङ मोड, एबीएस सिस्टम लगायतका एड्भान्स फिचर रहने अनुमान गरिएको छ ।

रोयल इनफिल्डले आधिकारिक रूपमा हिमालयन ७५० मोटरसाइकलको बारे कुनै जानकारी बाहिर ल्याएको छैन । तथापि, यसमा ५० ब्रेकहर्स पावर तथा ६० न्यूटन मिटर टर्क प्रदान गर्ने ७५० सीसीको प्यारालल ट्वीन सिलिण्डर इन्जिन रहनेछ ।

रोयल इनफिल्डको हिमालयन ७५० एड्भेन्चर अहिलेसम्मकै सबैभन्दा ठूलो र पावरफुल इन्जिन क्षमतामा निर्माण हुनेछ । त्यसैले यस मोटरसाइकलले परिक्षण समय देखिनै निकै चर्चा कमाइरहेको छ ।


Back_to_top