काठमाडौं । रोयल इनफिल्डको मेटिअर ३५० मोटरसाइकलले ६ लाख युनिट बिक्रीको माइलस्टोन पूरा गरेको छ ।
रोयल इनफिल्डको क्रुजर सेग्मेन्ट अन्तर्गत रहेको मेटिअर ३५० मोडलले विश्वभरको बिक्रीमा ६ लाख युनिट बिक्री पूरा गरेको हो ।
कम्पनीले यो मोटरसाइकल बजारमा ल्याएको ६ वर्षमा ६ लाखको माइलस्टोन पूरा गरेको हो ।
रोयल इनफिल्डको मेटिअर ३५० मोटरसाइकल भारतमा निर्माण भएको मोडल हो । रोयल इनफिल्ड ब्रिटिस ब्राण्ड भए पनि यसका अधिकांश मोडलहरू भारतमै उत्पादन भएर अन्तर्राष्ट्रिय बजारमा निर्यात हुन्छन् । रोयल इनफिल्ड इन्डियाले मेटिअर ३५० मोटरसाइकल सन् २०२० बाट भारतमा बिक्रीसँगै अन्य देशहरूमा निर्यात गर्न थालेको थियो ।
मोटरसाइकलले भारतमा लन्च भएदेखि विश्वभर ६ लाखभन्दा बढी युनिट बिक्री गरेर मिड साइज क्रुजर सेग्मेन्टमा आफ्नो लाइनअप अझै बलियो बनाएको छ ।
मेटिअर ३५० मोडल आकर्षक डिजाइन, आरामदायी राइडिङ पोजिसन, आफ्नो क्रुजर स्टाइल, पर्फमेन्स र विश्वसनीय ब्राण्डका कारण अन्तर्राष्ट्रिय बजारसँगै नेपाली बजारमा पनि मोटरसाइकल प्रेमीहरूबीच लोकप्रिय बन्दै गएको देखिन्छ ।
नेपाली बजारमा क्रुजर सेग्मेन्टका मोटरसाइकल मन पराउनेलाई धेरै अप्सन छैन । त्यसैले पनि मेटियर रुचाइमा पर्दै गइरहेको हो । अर्कोतर्फ यसको आकर्षक मूल्यका कारणले पनि ग्राहक तानिरहेको बुझ्न सकिन्छ ।
नेपालमा रोयल इनफिल्डको आधिकारिक बिक्रेता कम्पनी अल्फा अटोमोटिभ हो । कम्पनीले उपलब्ध गराएको रोयल इनफिल्डका सम्पूर्ण मोडलहरू नेपालमै एसेम्बल गरी बिक्री गर्दै आइरहेको छ । हाल नेपाली बजारमा बिक्री भइरहेको मेटिअर ३५० पनि नेपालमै एैसेम्बल भएको मोडल हो । त्यसकारण यसको मूल्य सोचेभन्दा निकै कम पर्न गएको हो ।
मेटिअर ३५० मा क्लासिक क्रुजर स्टाइलसँगै निकै आधुनिक फिचरहरू पनि पाउन सकिन्छ । मोटरसाइकलमा ३४९ सीसी सिंगल-सिलिण्डर, एयर कुल्ड, एफआई इन्जिन छ । उक्त इन्जिनले अधिकतम २०.४ पीएस पावर र २७ एनएमको टर्क जेनेरेट गर्छ ।

