काठमाडौं । लामो समयको आयात प्रतिबन्धका कारण समस्यामा परेको रोयल इनफिल्डले नयाँ मोटरसाइकल नेपाल ल्याउने प्रक्रिया सुरु गरेको छ । कम्पनीले पहिलो चरणमा क्लासीक ३५० र मेटीअर ३५० नेपाल ल्याउन लागेको हो ।
सरकारले लगाएको बैसाख १४ गतेको पहिलो चरणको आयात प्रतिबन्धमा नै रोयल इनफिल्डका मोटरसाइकल आउन बन्द भएको थियो । सरकारले बैशाख १४ गते राजपत्रमा प्रकाशित गरेको सूचना अनुसार २५० सीसी माथिका मोटरसाइकल आयात रोकेको थियो । साउनबाट १५० सीसीभन्दा माथिका मोटरसाइकलमा पनि प्रतिबन्ध लगाइएको थियो ।
रोयल इनफिल्डका ग्राहकले बुक गरेर बसेका मोटरसाइकलहरु पहिलो चरणमा ल्याउने योजनामा कम्पनी रहेको छ । कम्पनी स्रोतका अनुसार पहिलो चरणमा रोयल इनफिल्डक क्लासीक ३५० र मेटीअर नेपाल आउने छन् ।
यसका अलावा केही समयअघि भारतमा सार्वजनिक भएको हन्टर ३५० र हिमालयनको नयाँ भर्सन नेपाल ल्याउने योजना रहेको आधिकारीक विक्रेता अल्फा अटोमोटीभ्सले जनाएको छ । तर, यी मोटरसाइकल किन्न चाहने ग्राहकले अझै केही महिना प्रतिक्षा गर्नु पर्ने हुन्छ ।
अहिले अल्फाले विक्रीपछिको सर्भिसलाई प्राथमिकतामा राखेरका काम गरिरहेको छ । त्यस्तै, कम्पनीले नक्साल नारायणचौरमा अन्तर्राष्ट्रिय स्तरको शोरुम निर्माण अगाडि बढाएको छ । कम्पनीका अनुसार अबको दुई महिनामा नयाँ शोरुम तयार हुनेछ ।
नेपालमा रोयल इनफिल्ड क्लासीक ३५० को सुरुवाती मूल्य ६ लाख ४० हजार रुपैयाँ र मेटीअरको मूल्य ८ लाख ३० हजार रुपैयाँ रहेको छ ।

