काठमाडौं । अहिले सडकमा गुडिरहेका ‘विद्युतीय सफा टेम्पु’ हाम्रो आफ्नै प्रविधि र डिजाइन हो । चालकको क्याबिन पछाडि १० जना यात्रु बोकेर सडकमा दौडिने सफा टेम्पु अहिले पनि उपत्यकावासी धेरैको यातायातको साधन बन्दै आएको छ ।
अहिले विद्युतीय सवारीसाधनको बृहत् बहस भइरहेको समयमा २७ वर्षअघि विंसं. २०५२ सालमा नै नेपालमा यसको उत्पादन थालनी भएको थियो । संचालन खर्च कम, वातावरणमैत्री, आवाज नआउने जस्ता कारण धेरै चालकले यसबाट आफ्नो आर्थिक उन्नति गर्न सफल भएका छन् । यस्ता सफा टेम्पु उपत्यकामा ६० प्रतिशत हाराहारी महिला चालकले चलाउँदै आएका छन् ।
वि.सं. २०५२ साउनदेखि संचालनमा आएको सफा टेम्पुले उपत्यकाको प्रदूषण कम गर्न निकै ठूलो भूमिका निर्वाह गरेको विज्ञहरूको बताउँछन् । त्यतिबेला काठमाडौंको वायु प्रदूषणमा मुख्य भूमिका निर्वाह गर्ने साधनहरू मध्ये करिब १५०० डिजेल र २५०० थान पेट्रोल इन्जिन भएका विक्रम टेम्पुहरू संचालनमा थिए ।
यी टेम्पु दैनिक १० देखि १५ घण्टासम्म सडकमा संचालन हुँदा २०५४ सालमा नै उपत्यकामा हुने प्रदूषणमा टेम्पुको हिस्सा २५ प्रतिशत रहेको थियो । बढ्दो प्रदूषण कम गर्न यूएसएडको आर्थिक सहयोगमा २०५० सालमा नै ग्लोबल रिसोर्स इन्स्टिच्युट नामक अमेरिकी एजेन्सीले थापाथली इन्जिनियरिङ क्याम्पसमा सफा टेम्पुको प्रोटोटाइप विकास गरिएको थियो । विभिन्न चरणका ६ महिने परीक्षणपछि सफा टेम्पु उत्पादन र संचालनको लागि अनुमति दिइएको थियो ।
‘नेपाल इलेक्ट्रीक भेहिकल इन्डस्ट्री’ (नेभी) नामक निजी कम्पनीले सुरूमा ७ वटा सफा टेम्पु खरिद गरेर संचालन गरेको थियो । कम्पनीले सुरूमा खरिद गरिएको सफा टेम्पु बालुवाटारदेखि मङ्गलबजारको रुटमा सञ्चालन गरेको थियो ।

त्यसरी विकास भएको सफा टेम्पु २०५८ साल असोज मसान्तसम्ममा करिब ६५० यूनिट सडकमा गुड्न थालेका थिए । त्यसपछि केही यूनिट थपिए पनि ७१४ युनिट संचालनमा आएको नेपाल सफा परिवहन संघका अध्यक्ष फुमप्रसाद पोख्रेल बताउँछन् ।
सरकार र दातृ निकायको भूमिका
तात्कालीन श्री ५ को सरकार (हाल नेपाल सरकार)द्वारा विद्युतीय तीनपांग्रे सफा टेम्पुको प्रयोग र विकासको लागि आर्थिक वर्ष २०५२/५३ को आर्थिक अध्यादेशमा विद्युतीय सवारी साधनहरू नेपालमा एसेम्बल गर्नका लागि आयात हुने पार्टपूर्जामा ५ प्रतिशत मात्र भन्सार लाग्ने व्यवस्था गरेको थियो ।
त्यही बजेटले नेपाल आयात हुने पूर्ण विद्युतीय सवारीहरूमा १० प्रतिशत भन्सार लगाउँदा विक्री कर पूर्ण रूपमा छुट दिइएको थियो । सफा टेम्पुको बडी नेपालमै बन्थ्यो भने चेसिस, मोटर र व्याट्री विदेशबाट आयात हुँदै आएको थियो । यसरी ५ प्रतिशत भन्सार तिरेर सामान ल्याउँदा टेम्पु महंगो हुने व्यवसायीको भनाइ थियो । त्यसैले सरकारले आर्थिक वर्ष २०५३/५४ को बजेट मार्फत भन्सार १ प्रतिशतमा झारेको थियो ।
नेपालले उत्पादन गरेर संचालनमा ल्याएको सफा टेम्पुको प्रयोग बढाउन र विक्रम टेम्पु हटाउन डेनमार्क सरकारले नेपाल भ्रमण वर्ष १९९८ लाई मध्येनजर राख्दै दुई करोड ५० लाख रुपैयाँ बराबरको आर्थिक सहायता उपलब्ध गराएको थियो । तर, कुनैपनि बिक्रम टेम्पुले उक्त कार्यक्रममा सहभागी हुन इच्छा नै देखाएनन् ।
यद्यपि, उक्त कार्यक्रमका लागि छुट्याइएको रकमले भने चार्जिङ स्टेसन निर्माण र केही व्यक्तिलाई नयाँ सफा टेम्पु खरिद गर्न न्यून व्याजदरमा ऋण दिइएको थियो ।
त्यसपछि रोकिएको ईभी उत्पादन र प्रयोगमा सरकारी चासो चालु आर्थिक वर्षको बजेट नआउन्जेल ठप्पप्रायः थियो । आर्थिक वर्ष २०७९÷८० को बजेट मार्फत अर्थमन्त्री जनार्दन शर्माले नेपालमै विद्युतीय रिक्सा, विद्युतीय मोटरसाइकल वा विद्युतीय स्कुटर उत्पादन गर्ने उद्योगलाई विशेष छुट दिने घोषणा गरेका थिए । चार पाङ्ग्रे विद्युतीय कार उत्पादनमा छुट घोषणा गरेका छन् ।
सफा टेम्पुको हालको अवस्था
पछिल्लो समय काठमाडौँ उपत्यकामा दर्ता भएका ७१४ वटा सफा टेम्पु मध्ये ६७० वटा मात्र सञ्चालन हुँदै आएका छन् । विविध कारणले सञ्चालन हुन नसकेका ४४ वटा सफा टेम्पु हाल विभिन्न मर्मत केन्द्र तथा कुनै पार्किङ स्थलमा भेटिन्छन् ।
पछिल्लो पटक सुन्धारादेखि कालिमाटी हुँदै सितापाइलासम्म जाने ५५ वटा सफा टेम्पुले सेवा दिँदै आएका छन् । यो रुटमा चल्ने ५५ सफा टेम्पु मध्ये करिब २५ जना महिला संचालक स्वरोजगार छन् ।
सुन्धारादेखि जमल, मैतीदेवी हुँदै कपनसम्म जाने १३५, सुन्धारा–अनामनगर–नयाँबानेश्वर हुँदै कोटेश्वर ओम शान्तिचोकसम्म ३४, सुन्धारा–पुरानो बानेश्वर–सिनामङ्गल रुटमा ४३, शंखमूल–जोरपाटी रुटमा १०३, ललितपुरदेखि घुम्ती रुटमा सञ्चालन हुने १७५, सुन्धारादेखि मंगलबजार हुँदै इमाडोल ४५ वटा र सुन्धारादेखि महाराजगंज हुँदै गल्फुटारसम्म जाने २० वटा सफा टेम्पुहरू काठमाडौँ र ललितपुरमा चल्दै आएका छन् ।
गर्विलो इतिहास अन्धकार भविष्य
करिब २७ वर्षअघि क्लीन इनर्जीबाट चल्ने यातायातमा फड्को मारेको नेपाल अहिले सम्पूर्ण यातायातका साधन आयातमा भर परिरहेको छ । अझै यसलाई राम्रोसँग संचालन गर्न सकिने सरोकारवालाहरूको भनाइ छ ।
नेपाल सफा परिवहन संघका अध्यक्ष फुम प्रसाद पोख्रेलले सफा टेम्पुको विकास गर्नका लागि सरकारले तीनपांग्रे सफा टेम्पुको नयाँ दर्ता खुल्ला गरी काठमाडौँको बाटोमा १ हजार सफा टेम्पु सञ्चालनमा ल्याउन पर्ने बताउँछन् । उनले त्यसका लागि चालक, दक्ष जनशक्ति उत्पादन गर्न अत्यावश्यक रहेको भन्दै महानगरपालिकाले समन्वय गर्नुपर्ने बताए ।
त्यस्तै, नेपाल विद्युतीय परिवहन संघका अध्यक्ष उमेशराज श्रेष्ठले नेपाल सरकारले स्वदेशमै विद्युतीय सवारी उत्पादन गर्न आवश्यक पर्ने सामग्रीको आयातमा थप सहुलियत दिनु पर्ने बताए ।
उनी भन्छन्, ‘सफा टेम्पुको उत्पादन गर्न हामीसँग २० वर्ष बढीको अनुभव रहेको छ । यसमा केन्द्रीय सरकार, प्रदेश सरकार र स्थानीय निकायले स्वदेशी उत्पादन कम्पनीलाई फस्टाउन दिनका लागि पनि अन्य भन्दा थप सहुलियत दिनु पर्ने देखिन्छ ।’
उनले उत्पादन गरिएका गाडीको नयाँ दर्ता प्रक्रिया सरल, सहज बनाउनुका साथै नयाँ रुटपर्मिटको उपयुक्त व्यवस्था गरे विद्युतीय सवारीको उत्पादन गर्न सहज हुने बताए ।

