गाडीमुनि जनावर भए/नभएको पत्ता लगाउने प्रविधि प्रयोग गर्दै बीवाइडी

काठमडाौं । विश्वकै सबैभन्दा ठूलो न्यू इनर्जी भेहिकल उत्पादक बीवाइडीले कार मुनि कुनै जनावर भए पत्ता लगाउन नयाँ प्याटेन्ट दर्ता गरेको छ ।

कम्पनीले गाडी स्टार्ट गर्ने बेला मुनि कुनै जीवजन्तु रहे/नरहेको पत्ता लगाइ चालकलाई सहयोग गर्न उक्त प्याटेन्ट दर्ता गरेको हो ।

हालै सार्वजनिक भएको नयाँ पेटेन्टले विशेष गरी गाडी स्टार्ट गर्ने समयमा गाडीमुनि कुकुर, बिरालो, बाँदर, वा अन्य कुनै जनावर वा चराचुरुङ्गीहरू) भए/नभएको पत्ता लगाई चालकलाई सतर्क गराउने प्रविधिमा केन्द्रित छ ।

कहिलेकाहीँ अत्यधिक गर्मी, हिलो, पानी वा हिउँबाट बच्न कुकुर, बिराला लगायत जीवजन्तु गाडी मुनि ओत लागेर बस्ने गर्छन् । तर, धेरैजसो अवस्थामा गाडी चालकहरूले यस कुरामा ध्यान नदिई गाडी स्टार्ट गरेर अघि बढाउँछन्। यसले गर्दा ती निर्दोष प्राणीहरू घाइते हुने वा उनीहरूको ज्यानै जाने जोखिम हुन्छ।

यस्तै दुर्घटनाहरू रोक्न बीवाइडीले एउटा यस्तो इमेजिङ प्रणाली (इलेक्ट्रोनिक क्यामेरा प्रविधि)मा काम गरिरहेको छ । जसले गाडीको तल्लो भाग (अन्डरबडी) मा भएका जीवित प्राणीहरू पत्ता लगाउन सक्छ।

यसका लागि बिवाइडीले कम्प्युटर भिजन प्रविधिको प्रयोग गरेको छ। हरेक पटक गाडी चलाएर बन्द गरेपछि यस प्रणालीले गाडीमुनिको फोटो खिच्छ । ती फोटोहरूलाई गाडीको आन्तरिक मेमोरीमा रेफरेन्सको रूपमा सुरक्षित राखिन्छ।

त्यसपछि, जब चालकले पुनः गाडी स्टार्ट गर्छ, तब यो प्रणालीले तुरुन्तै गाडी मुनिको रियल टाइमको नयाँ फोटो खिच्छ र पुरानो रेफरेन्स फोटोसँग तुलना गर्छ। यस तुलनाका दौरान आधुनिक कम्युटर प्रविधिले फोटोहरूको गहिरो विश्लेषण गर्छ र गाडीमुनि थपिएका नयाँ वस्तु वा कुनै पनि प्रकारको हलचल पहिचान गर्छ ।

यदि त्यहाँ कुनै हलचल वा जनावर फेला परेमा, गाडीको स्क्रीन वा अन्य माध्यमबाट चालकलाई तुरुन्तै अलर्ट गराइन्छ।

कम्पनीले उक्त प्याटेन्ट दर्ता गराए पनि कहिलेदेखि प्रयोगमा ल्याउँछ भन्ने खुलाइएको छैन । यद्यपि, दर्ता गरिएका केही प्याटेन्ट प्रयोगमा नआउन पनि सक्छन् ।


Back_to_top