१ दर्जन सुरुङले पाए ६७ करोड बजेट

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा देशभर १ दर्जन सुरुङमार्ग निर्माण तथा सम्भाव्यता अध्ययन अघि बढाउने भएको छ ।

पूर्वाधार विकास मन्त्रालयले आगामी आर्थिक वर्षका लागि ती सुरुङमार्गको अध्ययन तथा निर्माणका लागि ६७ करोड १ लाख रुपैयाँ बजेट विनियोजन गरेको हो ।

मन्त्रालयले निर्माणाधीन सिद्धबाबा सुरुङमार्गका लागि सर्वाधिक ५० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।यो सुरुङमार्ग आगामी आवमा निर्माण सम्पन्न गरी संचालनमा ल्याउने लक्ष्य छ ।

मन्त्रालयले सुरुङमार्ग विकास कार्यक्रमका लागि ३ करोड ७७ लाख ८० हजार बजेट छुट्याएको छ । टोखा छहरे गुर्जु भन्ज्याङ सुरुङमार्गका लागि ११ लाख ४८ हजार, विभिन्न प्रस्तावित सुरुङमार्गहरुको सम्भाव्यता अध्ययनका लागि १ लाख ९० हजार, सुर्खेतको भेरी नदीदेखि बर्दियाको दानुवा तालसम्म सुरुङमार्ग अध्ययनका लागि ५ लाख ६० हजार बजेट विनियोजन गरिएको मन्त्रालयले उल्लेख गरेको छ ।

त्यस्तै, दोलालघाट चर्नावती सुरुङमार्गका लागि १८ लाख ९० हजार, हात्तीसार बबई सुरुङमार्गका लागि ७ लाख ५६ हजार, खुर्कोट चियाबारी सुरुङमार्गको अध्ययनका लागि ३ लाख ९२ हजार विनियोजन गरेको छ ।

त्यसैगरी, शिवपुर भालुवङ्ग सुरुङमार्गका लागि ३ लाख ९२ हजार, रानीघाट भुरीगाउँ सुरुङमार्गका लागि३लाख ९२ हजार रुपैयाँ विनियोजन गरिएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, मन्त्रालयले ग्वार्को–सातदोबाटो-एकान्तकुना फ्लाइओभर परियोजनाका लागि १२ करोड ६६ लाख रुपैयाँ छुट्याएको छ ।


Back_to_top