मुल ढोकाबाट छिरेर बाँया तर्फ मोडिए पछि बैठक कोठा छ । कोठाका कार्पेट, फर्निचरहरु र अन्य सामग्रीहरु सिनित्त सफा छन् । पुरस्कार, मायाका चिनोहरु र स–साना सहभागिता र उपलब्धिका ‘गाथा’हरु पनि सजाइएका छन् । कोठाको ठ्याक्कै बाहिर चाहिँ एप्पलका संस्थापक स्टिभ जब्सको तस्वीर रहेछ ।
‘उहाँ त हाम्रो प्रेरणा हो नी,’ दुईजना संस्थापक मध्येका एक रवि सिघंल जोसिए । स्टिभ जब्सले आफ्नो कल्पनालाई प्रबिधिको रुप दिए र त्यसलाई मानव समाजसँग जोडे । जसले एक्काइसौं शताब्दीको मानव समाजका केही समस्या फुकायो र गति पनि दियो ।
रवी सिघंल र प्रकाश न्यौपाने पनि उनकै प्रेरणा लिएर नेपाली सार्वजनिक यातायात र उपभोक्ताले दशकौं देखि भोगि आएको समस्याको गाँठो फुकाउन लागिपरेका छन्, सारथी मोबाइल एप मार्फत ।
मोबाइल एप मार्फत ट्याक्सी बुक गरि आफु उभिएकै ठाउँमा ट्याक्सी बोलाउन सकिने सुबिधा उपलब्ध गराएको छ ।
करिब ४ बर्ष अघिदेखि प्रविधिको माध्यमबाट ट्याक्सी यात्रालाई सहज र ब्यवसायीक बनाउन लागिपरेका यी दुई युवाले धेरै उतारचढाव भोगेका छन् ।
समस्या जति गहिरो र फराकिलो हुन्छ, समाधान त्यती नै कठिन ! नेपाली सार्वजनिक यातायातको समस्या भनेरै साध्य छैन । ब्यवस्थापन नगरिएका सवारी, चालक र सहचालको रुखो बोली, क्षमताभन्दा धेरै यात्रु कोच्ने प्रबृति, सञ्चालनको नतोकिएको समय आदि समस्या बोकेर नेपाली सार्वजनिक यातायात क्षेत्र घिसिपिटि गरिरहेकोछ ।
यस्तो यातायात नचढि अलि बढि पैसा र्तिर्छु भन्ने र बिरामी वा केही अड्कोपड्को परेका बेला ट्याक्सी चढ्ने यात्रुहरुको अवस्था पनि ‘तावाबाट खसेर भुङग्रोमा पर्नु’ जस्तै छ ।
प्रविधिको माध्यमबाट ट्क्याक्सी यात्रालाई सहज सस्तो र चालक एवं लगानीकर्ताका लागि पनि फाइदाजनक बनाउन लागि परेको संस्था हो सारथी । तर, बिगत ४ बर्षमा उनीहरुले धेरै उतारचढाव देखे । कम्पनी अझै आर्थिक रुपमा स्थिर भैसकेको छैन । पुँजी लगानीकै चरणमा छ । लगानीकर्ताहरु आउने जाने क्रम जारी नै छ । बिभिन्न लगानीकर्ताहरुसँगका तीतामिठा अनुभव पनि रहेछन् उनीहरुको ।
सारथीको सञ्जालमा अहिले ५ सय ट्याक्सी छन् । सन् २००९ मा स्थापना भएको ‘उबर’ बिश्वब्यापी रुपमा फैंलदा, ११ अर्ब डलरभन्दा बढिको करोबार गर्दा, १० अर्ब डलरको सार्वजनिक सेयर निष्काशन गर्ने तयारी गर्दा, झण्डै ९२ अर्ब डलरको मुल्याङ्कन हुँदा र संस्थापकद्धयले सार्वजनिक निष्काशन मार्फत केही सेयर बेच्दै ३५ करोड डलर खल्तीमा हाल्ने तयारी गर्दै गर्दा सारथीको ५ सयवटा ट्याक्सीको सञ्जाल कत्तिको ठूलो उपलब्धी हो ?
सायद केही पनि होइन । वा, नेपालको धरातलिय यर्थाथमा घोत्लिदा ठूलो उपलब्धि पनि त हुनसक्छ !
जसरी कुनै पनि समाजको एकाङकी छलाङ सम्भव छैन त्यसैगरी समाजका बिभिन्न क्षेत्रहरुको पनि एकाङकी बिकास सम्भव छैन । एउटा मात्र खुट्टा टेकेर मानिस कति नै पो टाढा हिँड्न सक्छ र ?
समाज भनेको आर्थिक, राजनितीक, मनोबैज्ञानिक, साँस्कृतिक आदि सम्बन्धहरुमा जेलिएको बहुआयामिक अवधारणा हो । कुनै पनि एउटा आयामको मात्र छलाङ सम्भव छैन । समाजको बिकास समग्रतामै हुन्छ । एकलकाँटे बिकासको कुरा कसैले गर्छ भने अज्ञानता, छल वा ढोंग हो ।
उदाहरणको लागि, अबोध बालिका बलात्कारी फुक्काफाल हिँड्ने देशमा लाखौंलाख पर्यटक आउँदैंनन् । अशक्क्त बृद्धालाई बोक्सीको बात लगाई फोहर खुवाउने समाजमा सहज सार्वजनिक यातायात सम्भव छैन । अनी स्थानीय र प्रदेश सरकारका संबिधान प्रदत्त अधिकारहरुलाई कुण्ठित तुल्याउँदै वडा अध्यक्षले गर्ने निर्णयको टिप्पणी कोटको खल्तीमा बोकेर हिँड्ने प्रधानमन्त्री भएको समाजको सामुदायिक शिक्षाको अवस्था उकासिंदैन ।
अनी, सरकारले ट्याक्सीको सिन्डिकेट चलाउने समाजमा जति नै अब्बल दर्जाको प्रविधिको आबिष्कार गरेपनि सारथीले नेपालमा ब्याप्त ट्याक्सीको समस्या समाधान गर्न सक्दैन ।
तर, अवस्थामा केही परिर्वतन आउने छाँट देखिएको छ, पछिल्लो समय । सरकारले ट्याक्सीमा गर्दै आएको सिन्डिकेट अन्त्य हुने समय आएको जस्तो छ । हाल सरकारले ट्याक्सी दर्तामा रोक लगाउँदैं आएको छ । अब बन्ने यातायात ऐनमा भने सरकारले नयाँ ट्याक्सी दर्ता गर्न चाहेमा जोसुकैले दर्ता गर्न सक्ने ब्यवस्थ गर्न लागेको हो । अहिलेको ब्यवस्था अनुसार बागमती अञ्चलमा नयाँ ट्याक्सी दर्ता गर्न रोक लगाइएको छ । २०५७ सालमा रोकिएको ट्याक्सी दर्ता २०७१ सालमा १८ सय ५० र भुकम्प पिडितलाई १५ सय दर्ता खुलेको थियो ।
ट्याक्सी बुक गरेर फोन अफ गर्ने प्रबृत्ति, जति प्रशिक्षण दिए पनि अन्तमा कपाल कन्याउँदै थप पैसा माग्ने चालकजस्ता समस्या त छँदैछन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नयाँ ट्याक्सी दर्ताका लागि नयाँ ब्यवस्था गर्न लागेको जनाएको छ । हाल ८ सय सीसी क्षमताका ट्याक्सी दर्ता हुँदै आएकामा अब बन्ने नयाँ ब्यवस्थामा १२ सय सीसी भन्दा कम क्षमताका ट्याक्सी दर्ता गर्न नपाइने ब्यवस्था गर्न लागेको बताइएको छ ।
यसले भने सारथीको र नेपालको ट्याक्सी क्षेत्रको समग्र अवस्थामा धेरै सुधार ल्याउने संस्थापक प्रकाशको बिश्वास छ ।
नेपाली समाजमा झै ट्याक्सी क्षेत्रमा पनि धेरै समस्या छन् । छुचुन्द्रा जस्ता देखिने साना र फोहोर ट्याक्सी, मिटरमा जान नमान्ने रुखा चालक, एक ठाउँ भनेर त्यो भन्दा टाढा जान दबाब दिने किचकिचे यात्रु, भनेको ठाउँमा ट्याक्सी नपाइने समस्या र नयाँ र सृजनशील ट्याक्सी उद्यमीको अहिलेसम्म बाटो छेकेर उभिएको सरकारी सिन्डिकेट ।
सारथीले प्रविधिको माध्यमबाट यी बहुआयामिक समस्याहरुको समाधानको लागि काम गरेको छ । मोबाइल एप मार्फत ट्याक्सी बुक गरि आफु उभिएकै ठाउँमा ट्याक्सी बोलाउन सकिने सुबिधा उपलब्ध गराएको छ । चालकले मिटरमा जान नमान्ने र यात्रीले भनेको भन्दा टाढा जान किचकिच गर्ने समस्या समाधान गर्न सारथी मार्फत ट्याक्सी बुक गर्दा पहिल्यै रुट र लागत निर्धारण गर्न सकिन्छ । चालकहरुको रुखो बोली सुर्धान ‘कस्टुमर सर्भिस’का तालिमहरु पनि सञ्चालन गरिरहेको छ सारथीले ।
सरकारले गर्न लागेको नयाँ ब्यवस्थाले त झन् नयाँ उद्यमीहरु ट्याक्सी उद्यममा आउँदा अझ ब्यवस्थीत र सृजनशिल ट्याक्सी सेवा दिन सकिने नै भयो । यात्रुका लागि आरामदायी र सुरक्षित यात्रा र चालक र ब्यवसायीका लागि फाइदाजनक ब्यवसाय गर्ने प्राविधिक आधार त सारथीले केही हदसम्म तयार पारेकै छ ।
तर, समस्या पनि कम छैनन् । ट्याक्सी बुक गरेर फोन अफ गर्ने प्रबृत्ति, जति प्रशिक्षण दिए पनि अन्तमा कपाल कन्याउँदै थप पैसा माग्ने चालकजस्ता समस्या त छँदैछन् ।
अनी कुरा अघि कै आउँछ । कुनै पनि क्षेत्रको विकास त्यती मात्र हुन सक्छ जति समाजका अन्य क्षेत्र र मानिसहरुको चेतनामा विकास भएको छ ।
सुसँस्कृत राजनीति, सामाजिक न्याए, समावेशी अर्थतन्त्र, शिक्षा, स्वास्थ्य, प्रविधि आदि क्षेत्रमा नेपाली समाज अघि बढ्दै गए सारथी पनि कलियुगको ट्याक्सी ‘महाभारत’ जिताउने सारथी बन्ला । होइन भने, नेपालमा बस्ने र काम गर्नेका आफ्नै नियतिहरु छन् ती कायमै रहलान् ।


