स्कुटर व्यापारमा उछाल, आयात ११४ प्रतिशतले बढ्यो, पहिलो स्थानमा कुन ?

काठमाडौं । दुईपाँग्रे सवारी साधन स्कुटरको व्यापारमा उछाल आएको छ । आर्थिक शिथिलताका कारण सुस्ताएको स्कुटर आयात पछिल्लो समय ह्वात्तै बढेको हो ।

सन् २०२३ को तुलनामा २०२४ मा स्कुटर आयात दोब्बरभन्दा धेरैले बढेको छ । सन् २०२३ मा पेट्रोलबाट चल्ने कुल ३६ हजार ४५४ युनिट स्कुटर आयात भएकोमा सन् २०२४ मा ११४.१८ प्रतिशतले बढेर ७८ हजार ७७ युनिट पुगेको हो ।

पछिल्लो समय अर्थतन्त्र क्रमशः चलायमान हुँदै जाँदा आर्थिक क्रियाकलाप बढेको छ । आर्थिक गतिविधि बढेसँगै मानिसको मोबिलिटी पनि बढेकाले स्कुटर व्यापारमा उल्लेख्य वृद्धि भएको हो ।

नेपाली बजारमा दर्जनौं ब्राण्डका स्कुटर भित्रिए पनि आधा दर्जन ब्राण्डको वर्चश्व देखिन्छ । नेपालमा होण्डा, हिरो, यामाहा, टीभीएस, सुजुकी, भेष्पा अप्रिलिया लगायत ब्राण्डका स्कुटर लोकप्रिय छन् ।

 

१ वर्षको अवधिमा स्कुटर व्यापारमा होण्डा मार्केट लिडर बनेको छ । कुल आयातमा होण्डाले मात्रै झडै आधा स्कुटर आयात गरेको छ । सन् २०२४ मा होण्डाले मात्रै ३७ हजार ९१७ युनिट स्कुटर आयात गरेको छ । यो कुल आयातको ४८.५६ प्रतिशत हो । होण्डाको तुलनामा अरु ब्राण्ड निकै पछाडि छन् । नेपालमा होण्डाका डिओ, डिओ १२५ र ग्राजिया स्कुटर बिक्री हुँदै आएका छन् ।

त्यस्तै, दोस्रोमा टीभीएस रहेको छ । सन् २०२४ मा टीभीएसले २० हजार ४९४ युनिट पेट्रोलबाट चल्ने स्कुटर नेपाल आयात गरेको हो । टीभीएस एनटर्क १२५ नेपाली बजारमा निकै रुचाइएको स्कुटर हो । कम्पनीले २०२४ मा लगभग सबै एनटर्क नै आयात गरेको हो ।

त्यसैगरी, स्कुटर बजारमा टीभीएसलाई .पछ्याइरहेको यामाहा तेस्रो स्थानमा छ । यामाहाले सन् २०२४ मा १४ हजार २६० युनिट स्कुटर नेपाल भित्र्याएको हो । यामाहा रेजेडआर सिरिज नेपाली बजारमा निकै सफल मोडल मानिन्छ । त्यस्तै यामाहा फसिनो र एरोक्स १५५ पनि नेपाली बजारमा बिक्री भइरहेको छ

विगतमा चर्चित हिरोले भने आफ्नो बजार वर्चश्व् गुमाउँदै गएको देखिएको छ । सन् २०२४ मा हिरोले जम्मा ३ हजार युनिट स्कुटर मात्र आयात गरेको छ । यो दोस्रो र तेस्रो स्थानमा रहेका यामाहा र टीभीएसकोभन्दा निकै कम हो । हिरोले नेपाली बजारमा जुम ११० स्कुटर मात्र उपलब्ध गराएको छ । हिरोले अप्रिलदेखि मात्र स्कुटरको बिक्री सुरू गरेको थियो ।

सन् २०२४ मा अन्य ब्राण्डका २ हजार ४०६ युनिट स्कुटर नेपाल भित्रिएको तथ्यांक छ ।


Back_to_top