काठमाडौं । नेपालको प्रचलित कानुनमा सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) बिना सवारी साधन चलाउन पाइँदैन ।
जुन वर्गको सावारी साधन चलाउने हो अनिवार्य रुपमा सोही वर्गको लाइसेन्स लिएको हुनुपर्छ । एउटा वर्गको लाइसेन्स लिएर अर्को वर्गको सवारी पनि चलाउन पाइँदैन । उदाहरणका लागि मोटरसाइकल (ए वर्ग)को लाइसेन्स भएकाले कार चलाउन पाउँदैन । त्यस्तै, कार (बी वर्ग)को लाइसेन्स भएको व्यक्तिले मझौला (एफ वर्ग) तथा ठूला (जी वर्ग) सवारी साधन पनि चलाउन पाइँदैन ।
तोकिएका योग्यता पुगेका व्यक्तिले लाइसेन्स लिनका लागि लिखित र प्रयोगात्मक (ट्रायल) परीक्षा पास गर्नुपर्छ । परीक्षा पास गर्न सजिलो छैन । निकै मेहनतका साथ सवारी सिकेर ट्रायल पास भएपछि मात्रै लाइसेन्स पाइन्छ ।
लाइसेन्स लिन जति गाह्रो छ, त्यसलाई जोगाइ राख्न पनि उत्तिकै अनुशासित भई ट्राफिक र सडक नियम पालना गर्नुपर्छ । लाइसेन्स छ भन्दैमा जथाभावी सवारी साधन चलाएमा लाइसेन्स निलम्बनदेखि खारेजसम्म हुनसक्छ ।
यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ बमोजिम चालकले पालना गर्नुपर्ने सर्त तथा नियम पालन नगरेमा लाइसेन्स निलम्बन र खारेजी गर्न सकिने व्यवस्था छ । ट्राफिक प्रहरीको सिफारिसमा यातायात व्यवस्था विभागले लाइसेन्स निलम्बन गर्छ ।
१ वर्षभित्र तोकिएका ट्राफिक नियम ५ पटकभन्दा बढी उल्लंघन गरेमा ६ महिनासम्म निलम्बनको व्यवस्था छ ।
साथै, यातायात व्यवस्था नियमावली २०५४ मा सो बाहेक चालकले यी ७ गल्ती गरेमा लाइसेन्स निलम्बन हुने व्यवस्था छ ।
१. यात्रीवाहक सार्वजनिक सवारीको चालकले सवारीमा दर्ताको प्रमाणपत्रमा लेखिएको सिट संख्याभन्दा बढी यात्री राखी सवारी चलाएमा ।
२. यात्रीको सवारीको चालकले मालसमान (यात्रीको झिटीगुन्टा बाहेक) बोकेमा र मालवाहक सवारीले यात्रु बोकेमा ।
३. पर्यटक सवारीको चालकले पर्यटक बाहेक अन्य यात्रु बोकेमा ।
४. निजी सवारीको चालकले निजी प्रयोजनको लागि दर्ता गरिएको सवारी यातायात सेवाको लागि प्रयोग गरेमा ।
५. सार्वजनिक सवारीको चालकले बाटो इजाजतपत्र नलिएको बाटोमा सवारी चलाएमा ।
६. सवारी चालकले सवारी चलाउँदा मोबाइल फोनको प्रयोग गरेमा ।
७. चालकले मादक पद्धार्थ तथा अन्य लागू पद्धार्थ सेवन गरी सवारी चलाएमा ।
यी कसुर गरेमा निलम्बन भएको सवारी चालक अनुमतिपत्र निलम्बन अवधि पूरा भएपछि मात्रै विभागले पुनः फुकुवा गर्नेछ ।
लाइसेन्स खारेज हुने अवस्था
१. चालकको मुत्यु भएमा : चालकको मृत्यु भएमा स्वतः सवारी चालक अनुमतिपत्र खारेज हुनेछ । विभागले चालक अनुमतिपत्र दर्ता किताबबाट निजको लागत कट्टा गर्नेछ । किताबबाट लागत कट्टा भएपछि उक्त लाइसेन्स खारेज भएको मानिने छ । लाइसेन्स होल्डर व्यक्तिको मृत्यु भएमा नातेदारले ३५ दिनभित्र यातायात कार्यालयमा मुत्युदर्ताको प्रमाणपत्र बुझाउनु पर्नेछ ।
२. नवीकरण नगरेमा : हालको कानुनी व्यवस्था अनुसार हरेक ५/५ वर्षमा सवारी चालक अनुमतिपत्र नवीकरण गर्नुपर्छ । ५ वर्ष भित्रमा लाइसेन्स नवीकरण नगरे स्वतः रद्द हुन्छ ।
यद्यपि, ५ वर्ष भित्र भने जरिवाना तिरेर लाइसेन्स नवीकरण गर्न पाइन्छ । म्याद नाघेको ९० दिनसम्म नवीकरण गर्दा कुनै जरिवाना लाग्दैन । त्यस्तै, १ वर्षसम्म म्याद नाघेमा दस्तुरको १०० प्रतिशत, २ वर्षसम्म २०० प्रतिशत, ३ वर्षसम्म ३०० प्रतिशत, ४ वर्षसम्म ४०० प्रतिशत र ५ वर्षसम्म ५०० प्रतिशत जरिवाना तिरेर नवीकरण गर्न सकिन्छ ।

