विद्युतीय स्कुटर : ‘च्याउ उम्रे’ सरी भित्रिए, टिक्न नसकेर बन्द भए २ दर्जन बढी ब्राण्ड

काठमाडौं । नेपालमा चारपाँग्रे विद्युतीय सवारी (ईभी) साधनको प्रयोग ह्वात्तै बढेको छ । सरकारले लिएको ईभी प्रोत्साहन नीति, कर छुट सुविधा, न्यून संचालन खर्च लगायत कारणले चारपाँग्रे ईभीको बिक्री उल्लेख्य रूपमा बढेको हो ।

नेपाल विश्वमै ‘ईभी एसेप्टेन्स’ धेरै हुने मुलुकको अग्रस्थानमा पर्छ । हाल नेपालमा बिक्री हुने चारपाँग्रे निजी सवारी साधनमा करिब ६५ प्रतिशत हिस्सा ईभी रहेको छ ।

चारपाँग्रे ईभी फस्टाइरहँदा दुईपाँग्रे भने स्थापित हुनै संघर्ष गरिरहेको छ । चारपाँग्रे ईभी ग्राहकको रोजाइमा पर्न थाले पनि दुईपाँग्रे ईभीप्रति भने आकर्षित हुन सकेको देखिँदैन । नेपाली बजारमा वार्षिक औसतमा सवा १ लाख युनिट हाराहारी दुईपाँग्रे सवारी साधन बिक्री हुन्छन् । तीमध्ये विद्युतीय हिस्सा करिब ३ प्रतिशत मात्रै रहेको छ ।

नेपाली बजारमा च्याउ उम्रे सरी विद्युतीय स्कुटर ब्राण्ड भित्रिएका छन् । पछिल्लो ६ वर्ष (सन् २०१९ देखि) यता नेपाली बजारमा ७४ ब्राण्डको विद्युतीय स्कुटर भित्रिए । तर, ती मध्ये हाल मुस्किलले डेढ दजर्न ब्राण्डले मात्रै बजारमा टिक्न सकेको देखिन्छ । नेपाल भित्रिने अधिकांश इलेक्ट्री स्कुटरमा चिनियाँ ब्राण्डको वर्चश्व रहेको छ ।

पेट्रोल स्कुटरको तुलनामा भरपर्दो नहुनु, कमजोर रेन्ज, मूल्य महँगो हुनु, पर्याप्त चार्जिङ स्टेसन नहुनु लगायत कारण विद्युतीय स्कुटर उपभोक्ताको रोजाइमा पर्न नसकेका हुन् ।

नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल, दुईपाँग्रे सवारीसाधन कमिटिका सभापति अभिक ज्योतिले विद्युतीय स्कुटरको मूल्य महँगो हुनु र रेन्ज कम भएकै कारण उपभोक्ता आकर्षित हुन नसकेको बताउँछन् ।

‘पेट्रोलबाट चल्ने मोटरसाइकल/स्कुटरको तुलनामा ईभी स्कुटरको मूल्य महँगो छ । पेट्रोल स्कुटर/बाइकबाट जहाँ पनि ढुक्कसँग यात्रा गर्न सकिन्छ । तर, ईभी दुईपाँग्रेबाट लामो दूरीको यात्रा गर्न सक्ने अवस्था छैन । रेन्ज कम छ । अधिकांशले ५०/६० किमीभन्दा रेन्ज दिँदैनन् । पर्याप्त चार्जिङ स्टेसन छैन । चार्ज गर्न समय लाग्छ,’ उनले मेरो अटोसँग भने, ‘अनि यस्तोमा उपभोक्ता कसरी आकर्षित हुन सक्छन् ?’

सस्तो मूल्यमा लामो रेन्ज दिने विद्युतीय स्कुटर ल्याउन सके उपभोक्ता आकर्षित हुने उनको भनाइ छ । ‘अहिले ईभी गाडीमा आम मानिसको आकर्षण देखिन्छ । सस्तो मूल्य र लामो रेन्जकै कारण रोजाइमा परेको हो,’ उनले भने, ‘त्यस्तै, दुईपाँग्रे ईभीप्रति आकर्षण बढाउन सस्तो मूल्यमा लामो रेन्ज दिने स्कुटर ल्याउनुपर्छ । अनि मात्र उपभोक्ता आकर्षित हुन् सक्छन् ।

पछिल्लो समय अरूले बेचेको देखेर एकपटक २/४ युनिट स्कुटर ल्याउने र त्यसपछि ब्राण्ड नै बन्द गर्ने प्रवृति बढेकाले पनि उपभोक्ताको विश्वास जित्न नसकेको उनले बताए । सरकारले ईभी स्कुटर बिक्रीका लागि कुनै मापदण्ड नतोक्नु र व्यापारी नाफामा मात्र केन्द्रीत हुँदा ईभी ब्राण्डको संख्या बढेको उनले बताए ।

हाल बजारमा भित्रिने इलेक्ट्रीक स्कुटरमा ५ प्रतिशत मात्रै ब्राण्डेड रहेको उनले बताए । खुला बजार अर्थतन्त्र भएकाले कसैलाई पनि व्यापारमा रोक्न नमिल्ने, तर निश्चित मापदण्ड तोक्नुपर्ने उनको भनाइ छ । अहिले समग्र दुईपाँग्रे सवारीमा स्कुटरको हिस्सा करिब ४० प्रतिशत रहे पनि ईभीको हिस्सा ५ प्रतिशतभन्दा कम रहको उनले बताए ।

सरकारले बिक्रेताले स्कुटर ल्याउनु पूर्व निश्चित संख्यामा चार्जिङ स्टेसन, डेडिकेटेड सर्भिस सेन्टर निर्माण, पार्टसको उपलब्धताको ग्यारेन्टी गर्नैपर्ने नियम लागू गरे मात्रै ‘टापटिपे’ प्रवृत्ति नियन्त्रण हुने उनको भनाइ छ ।

२ दर्जन ब्राण्ड बन्द

६ वर्षमा ७४ ब्राण्डका विद्युतीय दुईपाँग्रे ब्राण्ड नेपाल भित्रिए । तीमध्ये २ दर्जन बढी ब्राण्ड बन्द भएका छन् । स्थापित व्यवसायी घरानाले भित्र्याएका विद्युतीय स्कुटर ब्राण्ड समेत बन्द भएका छन् ।

यस अवधिमा ओपाई, हिरो, राफ, पियोर ईभी, ओकिनावा, एम्पियर, ओडीसी, यूजीबेस्ट, इमिङमा, ईआस्वा, बाउन्स, टुनवाल, ग्रेटा, जेसिक्स, जेटी, केएसआर, आइमा, लेमिङ, ओक्ला, ईभीट्रिक, एरोमा, मिकु, बेनलिङ, मियामा लगायत ब्राण्ड बन्द भएका छन् । यी अधिकांश ब्राण्डको स्कुटर पछिल्लो ३ वर्षमा आयात भएका छैनन् भने केही ब्राण्ड २/४ युनिट मात्रै ल्याएको देखिन्छ ।

यी ब्राण्ड भने चम्किँदै

नेपाल भित्रिएकामध्ये एक तिहाई बढी ईभी स्कुटर ब्राण्ड बन्द भए पनि १ दर्जन ब्राण्डले भने आफूलाई बजारमा स्थापित गराउने क्रममा छन् ।एथर, एनआइयू, टेल्जी, सेगवे, टीभीएस, याडिया लगायत ब्राण्डको बिक्री बढ्दो क्रममा छ । यी ब्राण्डले पछिल्ला वर्षहरूमा आयात क्रमशः बढाउँदै लगेका छन् ।

पछिल्लो समय ईभी स्कुटरमा एथर सबैभन्दा आक्रमक बनेको छ । एथरले ग्राहकको सुविधालाई केन्द्रमा राख्दै धमाधम चार्जिङ स्टेसन र सर्भिस सेन्टर निर्माण गरिरहेको छ ।

त्यस्तै, टेल्जीले लाइफ टाइम फ्री सर्भिस दिँदै आएको छ भने चाँडै चार्जिङ स्टेसन विस्तारको योजना बनाएको छ । अन्य ब्राण्डले भनजे बिक्रीमा मात्र केन्द्रीत छन् ।

हाल नेपाल भित्रिएको गोगोरोले भने स्कुटर बिक्री अघि काठमाडौं उपत्याकाका ४५ स्थानमा ब्याट्री स्वाप स्टेसन निर्माण गरिसकेको छ । कम्पनीले हालै गोगोरो ब्राण्डको विद्युतीय स्कुटर पनि बिक्री सुरू गरेको छ ।

टेल्जी स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता योम मा ई मोटर्स प्रालिका निर्देशक सञ्जीप शिल्पकार बजारमा आफ्नो ब्राण्ड स्थापित गराउन बिक्रीभन्दा पनि बिक्रीपछिको सेवा र चार्जिङ स्टेसन निर्माणलाई प्राथमिकता दिनुपर्ने बताउँछन् ।

‘एक पटक २/४ युनिट स्कुटर ल्याए बिक्री गर्नु ठूलो होइन । बिक्रीपछि निरन्तर सेवा दिनु ठूलो कुरा हो,’ उनले मेरो अटोसँग भने, ‘हामीले बिक्रीभन्दा चार्जिङ स्टेसन निर्माण, सर्भिस, पार्टसको सहज उपलब्धतालाई प्राथमिकतामा राखेका छौं । यसैले उपभोक्ताको विश्वास बढाउँदै लगेको छ ।’

कुन वर्ष कति आए ?

पछिल्लो ६ वर्ष (२०१९ जनवरीदेखि २०२५ फेब्रअरीसम्म) मा नेपालमा कुल १९ हजार ६७० युनिट विद्युतीय स्कुटर भित्रिएका छन् ।

जसमा सन् २०२२ मा सबैभन्दा धेरै ६ हजार ३८९ युनिट विद्युतीय स्कुटर आयात भएको तथ्यांक छ ।

त्यस्तै, सन् २०१९ मा ४५३ युनिट, सन् २०२० मा ४९४ युनिट, सन् २०२१ मा १ हजार ५५० युनिट, सन् २०२३ मा ४ हजार ७०० युनिट, २०२४ मा ५ हजार १६० हजार युनिट र सन् २०२५ को दुई महिनामा ९२४ युनिट ईभी स्कुटर भित्रिएका छन् ।

 


Back_to_top