शिखर इन्स्योरेन्स र सिप्रदीबीच क्यासलेस इन्स्योरेन्स सम्झौंता

काठमाडौं । नेपालको लागि टाटा मोर्टसको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालि र शिखर इन्स्योरेन्स कम्पनीबीच क्यासलेस इन्स्योरेन्स सम्झौता भएको छ ।

शिखर इन्स्योरेन्सको प्रधान कार्यालय शिखर विजमा भएको एक कार्यक्रममा सिप्रदी ट्रेडिङ प्रालिको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र शिखर इन्स्योरेन्सको तर्फबाट संस्थाको प्रमुख कार्यकारी अधिकृत दिपप्रकाश पाण्डेले संयुक्त रुपमा हस्ताक्षर गरे ।

नेपालमै पहिलोपटक सञ्चालनमा ल्याउन लागेको यस योजनाअन्तर्गत टाटा कम्पनीका जुनसुकै मोडलका गाडीहरु दुर्घटना भएको अवस्थामा ग्राहकले सिधै सिप्रदी ट्रेडिङको आफूलाई पायक पर्ने नेपालभरको कुनै पनि आधिकारिक सर्भिस सेन्टरमा गएर गाडी मर्मत तथा बीमा दावी गर्न सक्नेछन् ।

ग्राहकहरुलाई सुलभ, छिटो र झन्झट रहित सेवा दिन यस व्यवस्थाले सहयोग पुर्याउने दुवै कम्पनीको दावी छ । यसबाटै आउने दिनहरुमा अन्य बीमा कम्पनीहरुसँग पनि सहकार्य गर्दै धेरै भन्दा धेरै ग्राहकहरुलाई सेवा दिने सिप्रदीको योजना भएको बताइएको छ ।

उक्त कार्यक्रममा आ–आफ्नो ब्यापार ब्यबसायका बारेमा प्रोग्रेसिभ इन्स्योरेन्स जस्ता विभिन्न नया प्रवृत्ति र प्रयोगहरुको छलफल भयो । साथै यस्तै तरिकाले आगामी दिनहरुमा निजी कम्पनीहरु मिलेर काम गर्दा हुने विभिन्न फाइदाका वारेमा छलफल भएको सिप्रदी ट्रेडिङले बताएको छ ।


Back_to_top