काठमाडौं । कर्णाली करिडोर अन्तर्गत हुम्ला सदरमुकाम सिमिकोटदेखि चिनियाँ सीमा नाका हिल्लासम्मको सडक दुई लेनमा स्तरोन्नति हुने भएको छ । चीन सरकारले सिमिकोट-हिल्सा करिब ९५ किलोमिटर सडक दुई लेनमा विस्तार गरिदिने भएको हो ।
उक्त सडक दुई लेनमा स्तरोन्नति गर्न सम्भाव्यता अध्ययन गर्न चीनसँग २०८१ भदौ ६ गते सम्झौता गरिएको थियो । सोही अनुसार अहिले चिनियाँ पक्षकले सडक विस्तारको पहिलो चरणको काम अघि बढाएको छ ।
असार पहिलो साता १० जनाको चिनियाँ प्राविधिक टोली आएर हिल्सादेखि सिमिकोटसम्मको सडकको सम्भाव्यता र नक्सांकनका लागि आवश्यक अध्ययन गरेका थिए । उनीहरूले करिब एक हप्ता लगाएर अध्ययन गरेका हुन् ।
सडक विभाग अन्तर्गत उत्तर-दक्षिण तथा व्यापारिक मार्ग विस्तार आयोजना निर्देशनालयका सूचना अधिकारी (सीडीई) विनोद भट्टराईले चिनियाँ पक्षले हिल्सादेखि सिमिकोटसम्मको सडकको फिजिबिलिटी स्टडी सकेको जानकारी दिए । उनका अनुसार चिनियाँ पक्षले चाँडै रिपोर्ट बुझाउने बताएको छ ।
‘चिनियाँ प्राविधिकहरू असारमा नेपाल आएका थिए । उनीहरूले हिल्सादेखि सिमिकोटसम्मकै सडकको फिजिबिलिटी अध्ययन गरेर गएका छन् । सकेसम्म चाँडै रिपोर्ट बुझाउने बताएका छन् । सम्भवतः असोज भित्रै रिपोर्ट आइसक्छ होला,’ उनले मेरोअटोसँग भने ।
चिनियाँ पक्षले रिपोर्ट बुझाएपछि मात्रै विस्तृत थाहा हुने उनले बताए । ‘रिपोर्ट नआएसम्म कति किमी सडक निर्माण गरिदिन्छन् ठ्याक्कै थाहा हुँदैन । तर, उनीहरूले अध्ययन चाँहि हिल्सादेखि सिमिकोटसम्मकै गरेका छन्,’ उनले भने ।
चिनियाँ टोलीले ३ वर्षमा सडक निर्माण सक्ने लक्ष्य राखिएको बताएका छन् । जसमा पहिलो वर्ष नक्सांकन र प्राविधिक तयारी हुने, दोस्रो वर्ष निर्माण थालनी र तेस्रो वर्षमा सडक कालोपत्र गर्ने लक्ष्य राखेका छन् ।

कर्णाली करिडोर अन्तर्गत कालिकोटको खुलालुदेखि चिनियाँ नाका हिल्सासम्म २६९ किमीलाई दुई खण्डमा विभाजन गरी सडक निर्माण भइरहेको छ । दक्षिण खण्ड (खुलालु-सलीसल्ला) १२३ किमी र उत्तर खण्ड (सिमिकोट-हिल्सा १४६ किमी) रहेको छ ।
कर्णाली कोरिडोर उत्तर खण्ड (हिल्सा-सिमिकोट) सडक योजना निमित्त प्रमुख ई. बेलबहादुर नेपालीका अनुसार हिल्सा सिमिकोट खण्डमा ट्रयाक खोल्ने काम सकिएको छ ।
योजना प्रमुख नेपालीका अनुसार उत्तर खण्ड अन्तर्गत हिल्सा-यारी, एलबम, धारापरी क्षेत्रको २५ किमी सडक ग्राभेल भइरहेको छ । सलीसल्ला-हिल्सा खण्डमा २ वटा पक्की पुल बनिसकेको छ भने ३ वटा निर्माणाधीन अवस्थामा रहको उनले बताए । साथै, अफ्ठेरो ठाउँमा सेनाले सडक फराकिलो बनाउने काम पनि गरिरहेको छ ।
त्यस्तै, १२३ किमी लामो दक्षिण खण्डमध्ये ५० किलोमिटर सडक स्तरोन्नति सहित कालोपत्र गर्न ठेक्का लागेको छ । कर्णाली कोरिडोर दक्षिण खण्ड (खुलालु-सल्लीसल्ला) सडक योजना प्रमुख तुलाराम शर्माले ५० किमी सडक कालोपत्र गर्न दुई खण्डमा ठेक्का लगाइएको बताए ।
उनका अनुसार पिलुचौर-कुवाडी (२३.७ किमी)खण्डको ठेक्का ठेक्का एम/एस पीएस कन्स्ट्रक्सनले ९७ करोड ७८ लाख रुपैयाँमा पाएको छ । त्यस्तै, कुवाडी-तुम्चा (२७.३ किमी) खण्डको ठेक्का एम/एस कोन्टेक/सिंह जेभीले १ अर्ब ४ करोड ९९ लाख रुपैयाँमा पाएको छ ।
साथै, यसखण्डको ३० किमी सडक ग्राभेल र १ किमी ढलान भइसकेको जानकारी दिए । साथै, कल्भर्ट निर्माण, साँघुरा ठाउँमा फराकिलो बनाउने काम भइरहेको उनको भनाइ छ । यसअघि नै यसखण्डमा ९ वटा पक्की पुल निर्माणको ठेक्का लागिसकेको छ । चालु आवमा यस खण्डका लागि ७९ करोड ३५ लाख रुपैयाँ बजेट छुट्याइएको छ ।
हुम्ला सिमिकोट सडक दुई लेनमा स्तरोन्नति भएपछि कर्णाली प्रदेशलाई मात्र नभई राष्ट्रिय अर्थतन्त्रलाई समेत योगदान पुर्याउने देखिन्छ । नेपाल-चीन बीच वैदेशिक व्यापार बढ्ने छ ।
कर्णाली करिडोर पनि नेपाल, भारत र चीन जोड्ने त्रिदेशीय सडक हो । भारतीय सीमा बाँकेको जमुनाहदेखि सुर्खेत, कालिकोट, बाजुरा, हुम्ला हुम्ला हुँदै चीनको सिमान हिल्लसासम्म पुग्छ ।

