भैरहवामा पुनः उडान गर्दै जजिरा र थाई एयर एसिया

काठमाडौं । भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा जजिरा एयरवेज र थाई एयर एसियाले पुनः उडान गर्ने भएका छन्।

गत वर्ष दुवै एयरलाइन्सले भैरहवामा उडान गरे पनि केही महिनामै बन्द गरेका थिए । अब फेरि दुवै एयरलाइन्सले विन्टर सिजनमा उडान थाल्ने भएका हुन् ।

थाई एयर एसियाले अक्टोबर २६ देखि सुरु हुने ‘विन्टर सेडुअल’ मा उडान गर्नेगरी तयारी गरेको छ। हप्तामा दुई उडान गर्ने एयरलाइन्सको योजना छ।

त्यस्तै, जजिरा एयरले पनि विन्टर ‘सिजन’मा उडान गर्ने योजना बनाएको छ। जजिराले हाल कुवेतबाट काठमाडौं उडान गर्दै आएको छ।

जजिराले यसअघि दुईपटक भैरहवाबाट उडान गरिसकेको छ। विसं २०७९ फागुनमा दोस्रोपटक उडान सुरु गरेको यस वायुसेवाले त्यसअघि साढे दुई महिना उडान गरेर प्राविधिक कारण देखाउँदै उडान स्थगित गरेको थियो। एयरलाइन्सले पुनः नियमित उडान सुरु गर्न लागेको हो।

हाल भैरहवाबाट नियमित उडान गरिरहेको नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को उडान लामो समयदेखि हुन सकेको छैन। काठमाडौं मलेसिया र मलेसियाबाट भैरहवा उडान गरिरहेको एयरलाइन्सले विमानको अभावमा उडान स्थगित गरेको जनाइएको छ। गौतमबुद्ध विमानस्थलमा विभिन्न चार्टर्ड उडान सञ्चालन भइरहेका छन्।

सरकारले पोखरा र भैरहवामा उडान गर्ने विदेशी वायुसेवालाई सरकारले आकर्षक छुट सुविधासमेत दिएको छ।

सरकारले ‘नागरिक उड्डयन क्षेत्रको समग्र सुधार तथा गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन सम्बन्धी कार्ययोजना’ अनुसार छुट दिएको हो। यी दुई विमानस्थलको अन्तर्राष्ट्रिय उडानका लागि हवाई टिकटमा लाग्ने प्रतियात्रु ३ हजार रुपैयाँको यात्रु सेवा शुल्कमा छुट छ।

यी दुवै विमानस्थलको अन्तर्राष्ट्रिय उडानमा पार्किङ, ल्यान्डिङ र न्याभिगेसन शुल्कमा पूर्ण तथा नेपाल एयरलाइन्सले दिने ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ७५ प्रतिशत छुट दिइएको छ।


Back_to_top