युरोपमा लगातार खस्किँदै टेस्ला, बीवाइडीको बिक्रीमा भने उछाल

काठमाडौं । युरोपमा अमेरिकी विद्युतीय कार टेस्लाको व्यापारमा भारी गिरावट आएको छ । कुनै समय युरोपको बेस्ट सेलिङ ईभी ब्राण्ड टेस्लाको व्यापार सन् २०२५ मा ४३.५ प्रतिशतले घटेको हो ।

युरोपियन बजारमा सन् २०२५ मा टेस्लाको बिक्री ७७ हजार ४४६ युनिटमा सीमित भएको छ । जबकि गत वर्ष यही अवधिमा १ लाख ३७ हजार ७१ युनिट कार बिक्री भएको थियो ।

युरोपमा टेस्लाको बिक्री यस वर्षको सुरुदेखि नै लगातार घट्दो क्रममा छ । यस वर्ष टेस्लालाई युरोपको स्थानीय ब्राण्ड फक्सवागेनले समेत ईभी बिक्रीमा पछि पारेको छ ।

युरोपमा टेस्लाको बिक्रीमा उच्च गिरावट आउनुको नयाँ मोडल बजारमा नल्याई पुराना मोडल मात्रै भरपर्नु र कम्पनीका सीईओ इलन मस्क अमेरिकी सत्ता राजनीतिसँग जोडिनु रहेको छ । यद्यपि, पछिल्लो समय मस्क सत्ता राजनीतिबाट बाहिरिसकेका छन् ।

टेस्लाको बिक्रीमा ठूलो गिरावट आइरहँदा चिनियाँ न्यू इनर्जी भेहिलक जायन्ट बीवाइडीको बिक्रीमा भने उछाल आएको छ । सन् २०२५ को ७ महिनामा बीवाइडीको युरोप व्यापार २५० प्रतिशतले बढेको छ ।

बीवाइडीले सन् २०२५ को जुलाइसम्म युरोपमा ५८ हजार ४३४ युनिट ईभी बिक्री गरेको छ । जबकि, बीवाइडीले गत वर्षको सोही अवधिमा कुल १६ हजार ६३३ युनिट मात्र ईभी बिक्री गरेको थियो । बीवाइडीले जुलाइ महिनामा मात्रै युरोपियन बजारमा ९ हजार ७०० युनिट ईभी बेच्न सफल भएको छ।

यस वर्ष युरोपमा १० लाख इभी बिक्री भइसकेको छ । एक वर्ष अगाडि ब्याट्री इलेक्ट्रीक कारको बजार हिस्सा १२.४ प्रतिशत रहेकोमा यस वर्ष बढेर १५.६ प्रतिशत पुगेको हो ।


Back_to_top