काठमाडौं । इन्डो-जापानी ब्राण्ड मारुती सुजुकीले उत्पादन गरेको स्वीफ्ट निकै सफल मोडल हो । सुजुकीको ग्लोबल मोडलको रुपमा आएको स्वीफ्ट ह्याचव्याक धेरै यूवाहरुको छनोटमा पर्ने कार हो ।
‘स्वीफ्टले राम्रो विक्री मात्रै पाएको छैन, मारुती सुजुकीको डिजाइनमा नै नयाँ आयम थपेको छ’, एक समय भारतीय अटो पत्रकार यूगेन्द्र प्रतापले भनेका थिए ।
मारुती सुजुकीले भारतमा उत्पादन थालेको झण्डै २४ वर्षपछि आएको स्वीफ्ट मोडल अहिले पनि टप सेलिङ मोडल हो । बजारमा आएको करिब १७ वर्षमा कम्पनीले भारतमा मात्रै २६ लाख यूनिट हाराहारी स्वीफ्ट विक्री गरिसकेको छ ।
नेपालमा पनि सन् २००५ देखि नै उपलब्ध रहेको स्वीफ्ट निकै राम्रो संख्यामा विक्री भएको मोडल हो । सिजी मोटोकर्पले अहिलेसम्म विगत १६ वर्षमा करिब ९ हजार यूनिट स्वीफ्ट विक्री गरेको जनाएको छ ।

मारुती सुजुकीले १७ वर्षमा स्वीफ्टलाई दुई पटक पूर्णरुपमा परिमार्जन गरेको छ भने तीन पटक फेसलिफ्ट गरेको छ । कम्पनीले सन् २०१२ र २०१८ मा जेनेरेशन चेन्ज गरेको थियो भने २००९, २०१५ र २०२१ मा फेसलिफ्ट गरेको थियो ।
मारुती सुजुकी स्वीफ्टले हरेक जेनेरेशनमा ‘इन्डियन कार अफ दी इयर’ अवार्ड जित्न सफल भएको छ । कम्पनीले सन् २००६, २०१२ र २०१९ को कार अफ दी इयर अवार्ड जितेको हो ।
स्पोर्टी डिजाइन, कम्प्याक्ट साइज र उत्कृष्ट पफर्मेन्सको कारण स्वीफ्ट आफ्नो सेग्मेन्टमा निकै सफल मानिन्छ । सुजुकीको लिगेसीले स्वीफ्टलाई बलियो ब्राण्ड नेमसमेत दिएको छ । जापानी कार खोज्ने धेरै मानिसले स्वीफ्टलाई आफ्नो ग्यारेजमा राखेको पाइन्छ ।

स्वीफ्ट धेरै उपभोक्ताको रोजाईमा पर्नुको मुख्य कारण माइलेज पनि हो । सुजुकीको १.२ लिटर क्षमताको इन्जिन माइलेजको लागि निकै परिचित रहेको छ । आवज विहिन क्याविन स्वीफ्टको अर्को बलियो पक्ष हो । मारुती स्वीफ्टको रिसेल भ्यालू पनि उच्च रहेको छ ।
सन् २०१८ मा आएको थर्ड जेनेरेशन स्वीफ्टलाई कम्पनीले आफ्नो पछिल्लो हार्टटेक प्लेटफर्ममा तयार गरेको हो । कम्पनीले यो जेनेरेशन मोडलमा ड्राइभर ओरियन्टेड ककपीट, इबीडी सहितको एबीएस, दुई एयरव्याग जस्ता फिचर दिएर ग्राहकलाई आफुतर्फ आकर्षित गरिरहेको छ ।

