स्कोडाले नयाँ कार नेपाल ल्याउँदै, यस्ता छन् फिचर

काठमाडौं । स्कोडाले एजुकेटीभ सेडान कार स्लाभिया नेपाल ल्याउने प्रक्रिया सुरु गरेको छ । स्कोडाको आधिकारीक विक्रेता एमएडब्लू स्कोडाले स्लाभिया सेडान नेपाल ल्याउने भएको हो ।

भारतीय बजारमा आक्रमक रणनीति अबलम्बन गरेको स्कोडाले र्यापीडको स्थानमा नयाँ सेडान ल्याएको थियो । फेब्रुअरी २०२२ बाट भारतमा विक्री सुरु भएको स्लाभिया पहिल्यै नेपाल ल्याउने तयारी भएपनि सरकारले लगाएको आयात प्रतिबन्धको कारण नेपाल आउन सकेको छैन ।

र्यापीडको तुलनामा निकै प्रिमियम फिचर भएको स्लाभिया अन्तर्राष्ट्रिय बजारमा भने यसअघि पनि विक्री हुँदै आएको मोडल हो । स्कोडा स्लाभियामा अगाडि बटरफ्लाई ग्रिल र एलइडी हेडल्याम्पको उत्कृष्ट कम्बीनेशन पाउन सकिन्छ । स्लाभियाको पछाडिको भाग पनि उत्कृष्ट देखिएको छ । यसको पछाडि भागमा क्रिस्टललाइन सहितको एलइडी टेलल्याम्प दिइएको छ ।

सेफ्टी र मनोरञ्जनको लागि उत्कृष्ट बनाउन स्लाभियामा स्कोडाले कुनै कसर बाँकी राखेको छैन । कम्पनीले यसमा एससी, रियर पार्किङ सेन्सर, क्यामेरा, क्रुज कन्ट्रोल, मल्टी–कोलिजन ब्रेक र ६ वटासम्म एयरब्याग दिएको छ । साथै, मनोरञ्जन र चालकको सुविधाको लागि १० इन्चको इन्फोटेनमेन्ट सिस्टम, वायरलेस चार्जिङ, भर्चुअल ककपिट, अटोमेटिक क्लाइमेट कन्ट्रोल जस्ता फिचर प्रदान गरेको छ ।

एमएडब्लू स्कोडाले स्लाभियालाई १.० लिटर टिएसआई इन्जिनमा उपलब्ध गराउने छ । भारतमा भने यसको १.५ लिटर टीएसआई इन्जिन अप्सन पनि उपलब्ध रहेको छ । सिक्स स्पीड म्यानुयल र सिक्स स्पीड टर्क कन्भर्टर तथा ७ स्पीड डीएसजी गियरबक्स मध्ये आफ्नो आवश्यकता अनुसार ग्राहकले छनोट गर्न सक्ने छन् ।

भारतीय बजारमा तीन भेरियन्ट र ५ कलर अप्सनमा उपलब्ध रहेको स्लाभिया नेपाल भने कति भेरियन्ट र मूल्यमा उपलब्ध हुन्छ भन्ने विषयमा कम्पनीले कुनै जानकारी दिएको छैन ।


Back_to_top