काठमाडौं । जर्मन लग्जरी कार ब्राण्ड मर्सिडिज र चिनियाँ अटोमोबाइल ग्रुप जिलीको संयुक्त लगानीमा रहेको स्मार्ट ब्राण्डले मिनी कार ल्याउने भएको छ ।
मर्सिडिज र जिली मिलेर स्थापना भएको स्मार्ट ब्राण्डमा #1, #3, #5 र #6 मोडल बजारमा यसअघि नै उपलब्ध छन् । ह्यासट्याग १, ३ र फाइभ एसयूभी हुन् । ह्यासट्याग ६ भने सेडान कार हो ।
स्मार्टले मिनी कार ह्यासट्याग २ नामबाट ल्याउन लागेको छ । यसलाई कम्पनीले अप्रिलमा आयोजना हुने बेइजिङ अटो शोबाट बिक्री थाल्नेछ ।
दुई ढोका भएको मिनी कारको रुपमा बजारमा आउने स्मार्ट ह्यास्याग २ चिनियाँ र युरोपेली देशहरुको मागलाई ध्यानमा राखेर बजारमा ल्याउन लागिएको हो ।
ह्यासट्याग २ को लम्बाइ २७ सय एमएम र ह्वीलवेस १९ सय एमएम रहने बताइएको छ । कम्पनीले ३० किलोवाट आवरको एलएफपी ब्याट्री दिएर ल्याउन लागेको मिनी कार रियर ह्वील ड्राइभ सिस्टमको साथ आउने छ ।
स्मार्टका उत्पादन नेपाली बजारमा सीजी मोटर्सले बिक्री बितरण गर्दै आएको छ । सीजीले ह्यासट्याग ३ र ह्यासट्याग १ एसयूभी केही दिन अघिबाट बिक्री थालेको हो ।
नेपालमा स्मार्ट ब्राण्डको सबैभन्दा सस्तो मोडलको रुपमा उपलब्ध ह्यासट्याग १ को सुरुवाती भेरियन्टकै मूल्य ९९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

