काठमाडौं । नेपालमा स्कुटर बजार तीव्र गतिमा परिवर्तन हुँदै गएको छ । नयाँ उत्सर्जन मापदण्ड, इन्जिन प्रविधि र ग्राहकको रुचीमा आएको परिवर्तनका कारण केही चर्चित स्कुटरहरू बजारबाट हराउँदै गएका छन् ।
एक समय नेपालमा निकै संख्यामा बिक्री हुने होण्डा एभिएटर ११० र यामाहा फसिनो ११० अहिले शोरुममा देखिँदैनन् । स्टाइल आराम र ब्राण्ड भरोसाका कारण यी स्कुटर सबै वर्गका ग्राहकको रोजाइमा पर्थ्यो । तर, केही वर्ष यता यी दुवै स्कुटरको नयाँ मोडल बजारमा देखिन छाडेका हुन् ।
नेपालमा निकै लोकप्रिय मानिएका यी दुई स्कुटरको नयाँ मोडल बजारमा नदेखिनुको कारण के हो ? नेपाली बजारमा अहिले किन यी स्कुटर किन्न पाइँदैनन् ? धेरै स्कुटर प्रयोगकर्ताको जिज्ञासा छ । यहाँ हामीले तिनै जिज्ञासा मेटाउने प्रयास गरेका छौं ।
ब्राण्ड
होण्डा र यामाहा दुवै स्कुटर जापानी ब्राण्ड हुन् । तर, नेपालमा आएका दुवै स्कुटर भने भारतमा उत्पादन भएका मोडल हुन् । होण्डा र यामाहाको नेपालमा आउने अधिकांश कम्प्युटर सेग्मेन्टका मोडल भारतमै निर्माण हुन्छन् ।
होण्डा एभिएटर नेपाली बजारमा सन् २००८ को आसपासमा प्रवेश गरेको स्कुटर हो । ११० सीसी क्षमताको इन्जिन, सन्तुलित ह्याण्डलिङ र आरामदायी सिटका कारण पारिवारिक प्रयोगका लागि लोकप्रिय बन्यो र दैनिक आवतजावत गर्ने ग्राहकले रुचाउन थाले । नेपालमा होण्डाको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले त्यतिबेला नेपालमा यसको मूल्य करिब २ लाख ३० हजार रुपैयाँ हाराहारीमा राखेको थियो ।

यामाहाको फसिनो स्कुटर भने नेपालमा सन् २०१५ मा भित्रियको हो । नेपालमा यामाहाको बिक्रेता एमएडब्लू इन्टरप्राइजेज (हाल एमएडब्लू राइड्स) कम्पनीले २ लाख २० हजार रुपैयाँ आसपासको मूल्यमा फसिनो उपलब्ध गराएको थियो ।
फसिनो भने क्लासिक युरोपियन स्कुटरको जस्तो लुक्स र हलुका तौलका कारण युवापुस्तासँगै धेरै महिलाहरूको रोजाइमा पनि पर्न थाल्यो । दुवै स्कुटर आफ्नो समयमा स्टाइल, राम्रो माइलेज दिने, आकर्षक डिजाइन र ब्राण्ड भरोसाका कारण नेपालमा निकै चर्चित हुँदै गएका थिए । यी दुवै स्कुटर भारतमा सार्वजनिक भए लगतै नेपालमा आएका थिए ।
बिक्री बन्द हुनुको कारण
यी दुवै स्कुटर बजारबाट हराउनुको मुख्य कारण उत्सर्जन मापदण्ड (बीएस ६) हो । एभिएटर र फसिनो दुवै स्कुटर बीएस फोर इन्जिनमा उत्पादन भएका मोडल हुन् ।
भारतमा सन् २०२० देखि अनिवार्य बीएस ६ सिस्टम लागू भएपछि दुवै कम्पनीले स्कुटरलाई बीएस ६ मा अपडेट नगरी बीएस फोर मोडलको पूर्ण रूपमा उत्पादन नै बन्द गरेका हुन् ।
यामाहाले भने बीएस फोर मोडल उत्पादन बन्द गरेको केही समयपछि फसिनो स्कुटरलाई बीएस ६ माप्दण्डमा १२५ सीसीको इन्जिनमा अपडेट गरेर उत्पादन गर्न थाल्यो । होण्डा एभिएटरको भने कुनै अपडेट मोडल बजारमा आएन ।
भारतमा २०२० देखि दुवै स्कुटरको उत्पादन बन्द भएसँगै नेपालमा ल्याउन नपाएका हुन् । त्यसैले नेपाली बजारबाट पनि विस्तारै नयाँ मोडल हराउँदै गए ।

त्यसपछि यामाहाले भने ११० सीसीको सट्टामा बीएस ६ एफआई इन्जिनमा निर्माण भएको फसिनो १२५ सन् २०२२-२३ तिर नेपालमा सार्वजनिक गर्यो । अर्को तर्फ होण्डा भने आफ्नो एक्टिभा र डिओ मोडलको बिक्रीमा केन्द्रित भयो ।
यामाहाको फसिनो १२५ नयाँ बीएस ६ एफआई इन्जिनमा नेपाल आए पनि फसिनो ११० ले पाएको जस्तो चर्चा यसले बटुल्न सकेन । त्यसैले कम्पनीले हाल यस मोडलको इम्पोर्ट गर्न सेकेको छैन । नेपालको भन्सार तथ्यांक हेर्दा पनि फसिनो १२५ स्कुटर इम्पोर्ट भएको देखिँदैन ।
एक समय नेपाली सडकमा धेरै छाएका होण्डा एभिएटर र यामाहा फसिनो आज नयाँ रूपमा बजारमा नदेखिनुको कारण डिजाइन वा ब्राण्ड कमजोरी नभइ प्रविधि, इन्जिन क्षमता र नियम परिवर्तनले हो ।
बीएस ६ मापदण्ड, नयाँ बजार ट्रेन्ड र १२५ सीसी सेग्मेन्टको बढ्दो मागका कारण ११० सीसीका स्कुटरको उत्पादन नै नभएर नेपालमा आउन छाडेको हो ।


