काठमाडौं । सरकारको लापरवाहीका कारण दसैंको मुखमा बाग्मतीमा नयाँ मोटरसाइलको दर्ता रोकिएको छ । साविकको बाग्मती अञ्चलमा ९९ लटसम्म मोटरसाइकल दर्ता भइसकेको छ ।
अब १०० को लटमा प्रवेश गर्न कानुनी अड्चन परेको छ । सरकारले समयमै सवारी तथा यातायात व्ययवस्था नीयमावली संशोधन नगर्दा यस्तो समस्या अएको हो ।
यातायात व्यवस्था विभागका प्रवक्ता गोकर्ण उपाध्यायका अनुसार यातायात व्यवस्था नियमावलीमा २ डिजिटसम्म मात्रै लट नम्बर राखेर मोटरसाइकल दर्ता गर्न पाइने व्यवस्था छ । यही व्यवस्थाका कारण ९९ लटको सबै नम्बर सकिएपछि २ दिनदेखि नयाँ दर्ता रोकिएको हो ।
यातायात व्यवस्था नियमावलीमा २ महलको लट नम्बर राखेर मात्रै सवारी दर्ता गर्नुपर्ने प्रावधान छ । काठमाडौंमा ‘बा ९९ प’ मा ‘९९९९’सम्म मोटरसाइकल वितरण भइसकेको छ ।
बाग्मतीमा दर्ता भइसकेका मोटरसाइकलको संख्या १० लाख पुगेको छ । कानुनले नयाँ दर्ता गर्न नदिने अवस्था आएपछि बुधबारबाट दर्ता बन्द भएको सतुंगलस्थित मोटरसाइकल कार्यालयका प्रमुख गणेश अर्यालले बताए । उनले केही दिनमा नै समस्या समाधान हुने दाबी गरेका छन् ।
कार्यालयले लट नम्बरको व्यवस्थाका कारण आउन सक्ने समस्याबारे यातायात व्यवस्था विभाग र मन्त्रालयलाई गत साउनमै जानकारी थियो । तर, दुबै निकायले समयमै ध्यान नदिँदा धेरै सवारी साधन खरिद हुने सिजनमै मोटरसाइकलको दर्ता बन्द भएको हो । यातायात व्यवस्था विभागका प्रवक्ता उपाध्यायले नियमावली संशोधनका लागि प्रस्ताव मन्त्रिपरिषदमा पुगिसकेको बताए । उनले अब तीन डिजिटमा पनि लट नम्बर राखेर सवारी दर्ता गर्न सकिने गरी नियमावली संशोधन हुने बताए ।


