काठमाडौं । विद्युतीय कारको बिक्री ७५ प्रतिशतसम्म पुग्दा धेरै चिनियाँ ब्राण्डले नेपालमा ‘सेल्स इन्जोइ’ गरेका छन् । विशेषगरी चिनियाँ उत्पादक एमजीबाट सुरु भएको राम्रो बिक्री बीवाइडी हुँदै ओमोडा–जेकोदेखि दीपलसम्म पुगेको हो ।
सन् २०१७ को अन्तिममा नै बीवाइडी नेपालमा प्रबेश गरेपनि एमजीको जेडएस ईभी नेपालमा चिनियाँ उत्पादनको स्विकार्यता जगाउन सफल मोडल हो । एमजीले जेडएस ईभी सन् २०१९ मा लन्च गरेको थियो । अहिलेसम्म पनि जेडएस ईभी नेपाली बजारमा सफलताको स्वाद चाखिरहेको छ ।
सन् २०२० बाट बीवाइडीले पनि सडकमा आफ्नो उपस्थिति बलियो बनाउन थालेको थियो । तर, उसलाई सडकमा बलियो उपस्थिति जनाउन सन् २०२३ सम्म कुर्नु परेको थियो । बीवाइडीको बिक्रीमा उछाल १०० किलोवाट क्षमताको मोटरमा एटो–थ्री नेपाल ल्याएसँगै भएको हो ।
बीवाइडीले एटो-थ्री मार्फत सफलता पाएसँगै अन्य दर्जनौं ब्राण्ड नेपाल आए । नेटा, जीडब्लूएम ओरा, ओमोडा, नामी, एक्सपेङ, जेको, केई, अवतार, स्मार्ट, जिकर, लीप, स्काइवेल, भोल्टस् जस्ता ब्राण्ड नेपाल आए । तर, यी मध्ये सबै ब्राण्डले सफलताको स्वाद भने चाख्न पाएका छैनन् । केही ब्राण्डले भने सफलताको झण्डा गाडेका छन् ।
नेपालमा ईभीको बिक्री बढेसँगै ‘सेल्स इन्जोइ’ गरेका चार ब्राण्डका बारेमा हामीले यहाँ जानरकारी दिएका छौं ।
एमजी : नेपाली बजारमा चिनियाँ ईभी लिएर सबैभन्दा पहिला सेल्स इन्जोइ गर्ने ब्राण्ड एमजी हो । एमजी जेडएस ईभी मार्फत ईभी बिक्री थालेको कम्पनीसँग अहिले जेडएस ईभी, कोमेट र एमजी फोर जस्ता मोडल छन् ।

पारामाउन्ट मोटर्सले बिक्री गर्दै आएको एमजी ब्राण्डका ईभी अहिले पनि उत्तिकै रुचाइएको मोडल हुन् । सन् २०१९ देखि अहिलेसम्म यी ब्राण्डका ईभी निरन्तर सफल हुँदै आएका छन् ।
बीवाइडी : चिनियाँ ब्राण्ड बीवाइडी सबैभन्दा पहिला नेपाल ईभी ल्याउने मध्येको एक ब्राण्ड हो । ईभी सिक्स मोडलबाट नेपाल प्रबेश गरेको बीवाइडीका सुरुवाती मोडल नेपालमा बिक्री बन्द भइसकेका छन् ।

अहिले साइमेक्स इंक प्रालिले एटो-थ्री, डल्फीन र सिल जस्ता ग्लोवल मोडल नेपालमा बिक्री गर्दै आएको छ । उसको एटो–थ्री र डल्फीनले निकै ठूलो सफलता हात पार्न सफल मोडल हो ।
ओमोडा/जेको : नेपाल आएको छोटो समयमा नै ओमोडा/जेको ब्राण्डले सफलताको स्वाद चाखेको छ । त्यसको लागि ओमोडा ई-फाइभ र जेको जे-सिक्सले ग्राहकको मन जित्न सफल भएको हो ।

एसपीजी अटोमोवाइलले नेपालमा बिक्री थालेको चिनियाँ चर्चित ब्राण्ड चेरीको इलेक्ट्रीक ब्राण्ड ओमोडा/जेकोले छोटो समयमा नै करिब १० प्रतिशत ईभीको बजार हिस्सा लिन सफल भएको छ । यसको सफलतामा ओमोडा ई-फाइभको नयाँ कुप्पे डिजाइन र जेकोको लाइफ स्टाइल एसयूभीले निकै महत्वपूर्ण भूमिका खेल्यो ।
दीपल : नेपाली बजारमा प्रबेश गरेको केही दिनमा नै लग्जरी गाडी चाहने ग्राहकको ध्यान खिच्दै सडकमा बाक्लो उपस्थिति जनाउन सफल ब्राण्ड दीपल हो । दीपल चिनियाँ ब्राण्ड चांगानको सहायक ब्राण्ड हो ।

दीपल एस-०७ मोडल मार्फत नेपाल प्रबेश गरेको दीपलले अहिले एल-०७ मोडल पनि बिक्री गर्दै आएको छ । दीपलको सफलताले ठूला ईभी नेपाल ल्याउन धेरै कम्पनीहरु लागि परेका छन् ।

