काठमाडौं । सुन्दर यातायातले ११ करोड रुपैयाँ लगानीमा २० वटा विद्युतीय बस ल्याउने भएको छ । विद्युतीय सवारीलाई प्राथमिक्ता दिँदै सुन्दर यातायातले चालू आर्थिक वर्षभित्र २० वटा बस ल्याउने तयारी गरेको हो ।
सुन्दर यातायातका सञ्चालक भेषबहादुर थापाका अनुसार सरकारले नीति नियम ल्याउन सहयोग गरेको खण्डमा चालू आर्थिक वर्षभित्र २० वटा विद्युतीय बस ल्याइने छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युतीय सवारीको नीति नियम निर्माण गर्ने बाचासँगै यातायात व्यवसायीहरुमा आशा जागेको उनले बताए । ‘सरकारको नीति बने हामी गाडी ल्याउँछौँ, नीति नबने योभन्दा बढी हामी अघि बढ्न सक्दैनौँ,’ थापाले मेरोअटोसँग भने ।
सुन्दर यातायातले २ वटा विद्युतीय बस ल्याइसकेको छ भने थप ५ वटा बस ल्याउने तयारी गरेको छ । थप ५ वटा गाडी वैशाख पहिलो अथवा दोस्रो सातासम्ममा आइपुग्ने उनले जानकारी दिए ।
यस्तै सुन्दर यातायातले सुकेधारमा रहेको आफ्नो ग्यारेजमा चार्जिङ स्टेशन समेत जडान गरि सकेको छ । यातायातले बैशाख १५ गते यातायात व्यवस्था विभागलाई विद्युतीय बस चेकजाँच गर्न बुझाउने छ । विभागबाट स्वीकृती पाएपश्चात बैशाख भित्रै रिङरोडमा बस सञ्चालनमा ल्याइने थापाले जानकारी दिए ।
प्रधानमन्त्री ओलीले इलेक्ट्रीक सवारी उत्पादन गर्नेलाई सरकारले आफै सहयोग गर्ने बताएका थिए । उनले नेपाल उद्योग वाणिज्य महासंघको साधारण सभामा बोल्दै उनले सरकारले वातावारणमैत्री सवारीलाई प्राथमिकता दिने नीति लिएको बताएका थिए ।
प्रधानमन्त्री ओलीले इलेक्ट्रीक गाडी उत्पादनलाई प्राथमिकता दिने गरि नीति ल्याउने तयारी गरेको बताएपछि विद्युतीय सवारी ल्याउन इच्छुक व्यवसायीहरु निकै आशावादी देखिएका हुन् । सरकारले विद्युतीय सवारी सञ्चालनमा समेत सहज अवथा सृजना गरिदिनेमा आफूहरु आशावादी रहेको थापाको भनाइ छ ।

