काठमाडौं । अरनिको राजमार्गको सूर्यविनायक-धुलिखेल सडक आयोजना अन्तर्गत सूर्यविनायक-साँगा खण्डको म्याद थप गरिएको छ ।
१५.८ किलोमिटर लामो सूर्यविनायक-धुलिखेल सडकलाई दुई खण्डमा विभाजन गरी स्तरोन्नति भइरहेको छ । सोमध्ये ७.५ किलोमिटर सूर्यविनायक-साँगा खण्डको काम तोकिएको समय भित्र आधा पनि काम नसकिएपछि १४ महिना (२०८३ फागुन २९ गतेसम्म) म्याद थपिएको हो ।
२०७९ पुस २३ गते भएको ठेक्का सम्झौता अनुसार यो सडक ३ वर्षभित्र (२०८२ पुस २३ गते) भित्र निर्माण सम्पन्न हुनुपर्थ्यो । तर, उक्त अवधिमा करिब ४५ प्रतिशत मात्र काम सम्पन्न नभएपछि १४ महिना म्याद थपिएको हो । साइट क्लियरेन्समा ढिलाइ, बाढिपहिरो लगायत कारण देखाउँदै म्याद थप गरिएको हो ।
सूर्यविनायक-धुलिखेल सडक आयोजना प्रमुख विजयकुमार महतोले साँगा-धुलिखेल खण्डको म्याद १४ महिना थपिएको जानकारी दिए ।
‘ठेक्का सम्झौता अनुसार सूर्यविनायक-साँगा सडक २०८२ पुस २३ गतेसम्म सम्पन्न भइसक्नुपर्थ्यो । तर, हालसम्म करिब ४५ प्रतिशत मात्रै काम सकिएको छ । बाँकी काम सक्न २०८३ फागुन २९ गतेसम्म म्याद थपिएको छ,’ उनले मेरोअटोसँग भने ।
थपिएको म्याद अगावै यसखण्डको काम सक्ने लक्ष्य राखिएको उनले बताए । उनका अनुसार यसखण्डमा नाला निर्माण, आरसीसी रिटेनिङ वाल लगाउने, माटो भर्ने, सबबेस राख्ने, कल्भर्ट निर्माण लगायत काम धमाधम भइरहेको छ ।
नाला निर्माणको काम ९० प्रतिशत बढी सकिएको छ । त्यस्तै, सूर्यविनायक क्षेत्रमा करिब १ किमीमा बेस/सबबेस राख्ने काम भइरहेको उनले बताए । उक्त क्षेत्रमा चाँडै कालोपत्रको काम सुरू गर्ने तयारी भइरहेको उनले बताए ।
यसखण्डमा साइट क्लियरेन्सको काम बाँकी नै रहेको योजना प्रमुख महतोले बताए । उनका अनुसार अझै १ दर्जन घर र १०० बढी बिजुलीको पोल हटाउन बाँकी छ । यो खण्ड निर्माणको ठेक्का लामा कन्स्ट्रक्सन कम्पनी प्रालिले ४ अर्ब ५ करोड ६४ लाख रुपैयाँमा पाएको छ ।
आयोजना अन्तर्ग ८.३ किमी साँगा-धुलिखेल सडकखण्डको प्रगति तुलनात्मक रूपमा बढी छ । यसखण्डको हालसम्म ६० प्रतिशत काम पूरा भएको उनले बताए । यसखण्डको पनि तोकिएको समय (२०८२ मङ्सिर २६ गते) भित्र काम नसकिएपछि ३६३ दिन (२०८३ मंसिर २३ गतेसम्म) म्याद थपिएको छ ।
उनका अनुसार ८.३ किमी सडकमध्ये हालसम्म २ किमी सडक ६ लेनमा कालोपत्र गरिसकिएको छ । धुलिखेल-बाँसबारी (१ किमी) र बनेपाको पुलबजार-जनगल क्षेत्रमा १ किमी सडक कालोपत्र गरिसकिएको हो । अन्य क्षेत्रमा पनि धमाधम बेस/सबबेस राख्ने काम भइरहेको उनले बताए ।

