भारतमा यी ४ एसयूभी किन्न ९ महिनासम्म कुर्नु पर्ने, नेपालमा कस्तो छ अवस्था

काठमाडौं । सन् २०२० मा बजारमा आएका ४ एसयूभी भारतमा किन्न चाहने ग्राहकले ९ महिनासम्म कुर्नु पर्ने अवस्था रहेको छ । महिन्द्राको अफरोड एसयूभी थार, हुन्डाईको नयाँ जेनेरेशन क्रेटा, निसानको सब फोर मिटर एसयूभी म्याग्नाइट र किया सोनेट लामो वेटिङ गर्नु पर्ने एसयूभी हुन् ।

यी ४ कार मध्य नेपाली बजारमा दुईको विक्री वितरण भइरहेको छ । हुन्डाई क्रेटा र किया सोनेट नेपालमा विक्री भइरहेका एसयूभी हुन् भने निसान म्याग्नाइट नेपालमा विक्री सुरु हुने तयारी भइरहेको छ । तर, महिन्द्रा थार भने आगामी मार्चमा मात्रै नेपाली बजारमा प्रवेश गर्ने विक्रेता कम्पनी अग्नी इनकर्पोरेटले जनाएको छ ।

भारतमा सर्वाधिक वेटिङ पिरियड रहेको महिन्द्राको एड्भेञ्चर एसयूभी ग्राहकले खुवै मनपराएका छन् । पहिलो पटक पेट्रोल इन्जिनमा समेत बजारमा आएको थार भारतमा किन्न चाहने ग्राहकले ९ महिनासम्म कुर्नु पर्ने अवस्था रहेको महिन्द्राले जनाएको छ ।

कम्पनीले यसलाई २.२ लिटर डिजेल र २.० लिटर पेट्रोल इन्जिनमा ल्याएको छ । फोर ह्वील ड्राइभ सिस्टम सहित आएको नयाँ थारमा थुप्रै परिमार्जन र पूर्णत नयाँ लुक्समा ल्याएकै कारण यसको माग उच्चरुपमा बढेको हो । नेपाली बजारमा यसले कस्तो प्रतिक्रिया पाउने छ त्यसको लागि भने अझै केहि समय कुर्न पर्ने हुन्छ ।

निसानको म्याग्नाइटलाई नेपाली बजारमा फेब्रअरी पहिलो साताबाट विक्री गर्ने तयारी भइरहेको पायोनियर मोटोकर्पले जनाएको छ । भारतमा करिब ८ महिनाको वेटिङ पिरियड पुगिसकेको म्याग्नाइटलाई नेपाली ग्राहकले कसरी लिन्छन् भन्ने बुझ्न केहि दिन कुर्नु पर्ने हुन्छ । यद्यपी कम मूल्य र उत्कृष्ट फिचरको कार म्याग्नाइटले नेपालमा पनि राम्रो व्यापार गर्ने अनुमान गर्न सकिन्छ ।

नयाँ जेनेरेशन क्रेटा हुन्डाईको सर्वाधिक सफल मोडल हो । नेपालमा यसको विक्री तथ्यांक करिब ७ हजार यूनिट पुरा भइसकेको छ । निकै सफल क्रेटाको नयाँ जेनेरेशन मोडल अहिले भारतमा बुकिङ गर्ने ग्राहकले ७ महिना कुर्नु पर्ने अवस्था रहेको छ । नेपालमा त्यति धेरै समय कुर्नु नपर्ने भएपनि कम्पनीमा ३० देखि ४५ दिन भने कुर्नु पर्ने अवस्था रहेको विक्रेता कम्पनी लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले जनाएको छ ।

किया सोनेट पनि धेरै समय कुर्नु पर्ने सव फोर मिटर एसयूभी हो । कियाले केहि महिनाअघि बजारमा ल्याएको सोनेट भारतमा ४ महिना वेटिङ पिरियड रहेको कम्पनीले दाबी गरेको छ । निकै स्टाइलिस डिजाइनमा आएको सोनेट नेपालमा पनि कार्तिकबाट विक्री सुरु भएको छ । इन्टरकन्टिनेन्टल ट्रेडिङले विक्री गर्दै आएको सोनेट नेपालमा पनि ग्राहकले खोजी गर्ने मोडलमा पर्छ ।


Back_to_top