काठमाडौं । साना र राम्रा कारको छवि बनाएका हुन्डाई ग्राण्ड आई १० को नयाँ मोडल नियोस र मारुती सुजुकीको सदावहार स्वीफ्ट बीच निकै रोचक प्रतिस्पर्धा भइरहेको छ ।
मारुती सुजुकी स्वीफ्ट सन् २००५ देखि नेपालमा विक्री वितरण हुँदै आएको कार हो भने, हुन्डाई ग्राण्ड आई १० सन् २०१३ देखि नेपालमा विक्री हुँदै आएको छ । ह्याचव्याक सेग्मेन्टमा यी दुई कार निकै सफल मानिन्छन् ।
कोभिड १९ को संक्रमणको कारण लामो समय भएको लकडाउनले सन् २०२० मा यी दुबै कारको आयत अघिल्लो वर्षको तुलनामा कम भएपनि हुन्डाई ग्राण्ड आई १० नियोस नयाँ मोडल भएकाले यसको विक्री तुलनात्मक रुपमा राम्रो देखिएको छ । नेपाल आएको ४ महिनामा नै यसको आयात राम्रो संख्यामा भएको हो ।
सन् २०२० मा मारुती सुजुकीले स्वीफ्ट ४१८ यूनिट आयात गरेको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । केहि महिनाअघि मात्रै बजारमा आएको हुन्डाई ग्राण्ड आई १० नियोस भने ३९७ यूनिट आयात भएको छ । रेगुलर ग्राण्ड आई १० भने सन् २०२० मा ३८१ यूनिट आयात भएको छ ।
यसरी हेर्दा यी दुई मोडल बीच ह्याचव्याक सेग्मेन्टमा कडा टक्कर भइरहेको छ । यस्तोमा यी दुई कारमा कति फरक छ भन्ने विषय हामीले यहाँ उल्लेख गरेका छौं ।
इन्जिन
हुन्डाई ग्राण्ड आई १० नियोस र मारुती सुजुकी स्वीफ्ट दुबैमा समान १.२ लिटर पेट्रोल इन्जिन उपलब्ध रहेको छ । दुबै इन्जिनले समान ६००० आरपीएममा ८१.८ बीएच पावर प्रदान गर्छ भने टर्क पनि लगभग समान रहेको छ ।
माइलेजमा पनि समानता रहेको यी कारले सहरमा १४ किलोमिटर र हाइवेमा १८ किलोमिटर प्रतिलिटर माइलेज प्रदान गर्ने छ । तर, कम्पनीले गरेको एआरएआई परिक्षणमा २१ किलोमिटर प्रमाणित भएको पाइन्छ ।
साइज
साइजमा हुन्डाई नियोस केहि ठूलो रहेको छ । स्वीफ्टको तुलनामा नियोस ३५ एमएम लम्बाई, ५५ एमएम चौडाई र १० एमएम उचाई बढी भएको कार हो । यी दुबै कारको ह्वीलवेस भने समान २४५० एमएम लामो रहेको छ । दुबैमा समान ३७ लिटर क्षमताको इन्धन ट्याङ्की दिइएको छ ।
एक्सटेरियर
झट्ट हेर्दा ग्राण्ड आई १० नियोस बल्की देखिन्छ । अगाडी ठूलो ग्रिल र पछाडि थुप्रै क्रोम फिनिसिङको कारण नियोसको समग्र डिजाइन उत्कृष्ट रहेको छ । यसको हल्का टलह्याच डिजाइनले जो कोहीलाई लोभ्याउँछ ।
उता स्वीफ्ट पनि निकै आकर्षक स्पोर्टस् कार थेममा डिजाइन भएको कार हो । वास्तवमा नियोसभन्दा चौडाईमा कम भएरपनि होचो डिजाइनको कारण स्वीफ्टको रोड प्रेजेन्स फराकिलो देखिन्छ ।
इन्टेरियर
मारुती सुजुकी स्वीफ्टको इन्ेटरियर व्ल्याक कलर थेम र इन्ट्रुमेन्ट क्लष्टरको कम्बीनेसनले स्पोर्टी देखाएको छ । यसमा ७ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम रहेको छ । फ्ल्याट बटम स्टेरिङ, स्टेरिङ माउन्ट भ्वाइस कन्ट्रोल सिस्टम स्वीफ्टमा पाउन सकिन्छ ।
ग्राण्ड आई १० नियोसमा सेमि डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, रोट्री एसी भेन्ट र ८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टमले क्याविनलाई निकै प्रिमियम देखाएको छ । यसको क्याविन स्वीफ्टको तुलनामा उज्यालो रहेको छ । यसको स्टेरिङमा भ्वाइस कन्ट्रोल बटम दिइएको छ ।
मूल्य
नेपालमा मारुती सुजुकी स्वीफ्ट २ भेरियन्टमा उपलब्ध रहेको छ । यसलाई कम्पनीले भिएक्सआई र जेडएक्सआई भेरियन्टमा बिक्री गर्दै आएको छ । भिएक्सआई भेरियन्टको मूल्य ३० लाख ९९ हजार र जेडएक्सआईको मूल्य ३३ लाख ९९ हजार रुपैयाँ रहेको छ ।
उता हुन्डाई ग्राण्ड आई १० नियोसको तीन भेरियन्टमा बिक्री हुँदै आएको छ । कम्पनीले मग्ना, मग्ना अटोमेटिक र स्पोट्ज भेरियन्टको बिक्री गर्दै आएको हो । नियोस मग्ना भेरियन्टको मूल्य ३० लाख ९६ हजार र मग्ना अटोमेटिक र स्पोट्ज भेरियन्टको मूल्य समान ३३ लाख ९६ हजार रुपैयाँ रहेको छ ।

