स्पोर्ट्स कार बनाउने योजनाबाट पछि हट्यो टाटा, रेसमो प्रोजक्ट बन्द

काठमाडौं । भारतीय कार उत्पादक कम्पनी टाटाले अघिल्लो वर्ष निक्कै महत्वकांक्षी परियोजना सार्वजनिक गर्यो । त्यो थियो स्पोर्टस कार उत्पादन गर्ने । तर कम्पनीले घोषणाको एक वर्षमै तत्कालका लागि उक्त परियोजनालाई निरन्तरता नदिने जनाएको छ । 

टाटाले आफ्नो स्पोर्टस कार रेसमो गत वर्षको जेनेभा इन्टरनेशनल मोटर शोमा सार्वजनिक गरेको थियो । 

रेसमो परियोजनामा टाटाको प्यासेन्जर तथा कमर्सियल भेइकल सेगमेन्टमा नै सहभागी थियो । कम्पनीले त्यसको विकास र अनुसन्धानमा लाग्ने लगानी एनालाइसिस पश्चात् तत्कालका लागि बन्द गर्ने निर्णयमा पुगेको हो । 

टाटा मोटर्सका ग्रुप सीएफओ पीबी बालाजीका अनुसार कम्पनीले ल्याएका सबै परियोजना र मोडललाई समयले साथ दिन्छ भन्ने ग्यारेन्टी नहुने भएकाले रेसमो त्यस्तै एक हुन पुग्यो । अहिलेको आर्थिक अवस्थाको विश्लेषण गरेर अघि बढ्नु बुद्धिमता भएको बालाजीको भनाइ छ । टाटाले उक्त परियोजना रद्द गरेको नभई तत्कालका लागि स्थगित गरेको उनले जानकारी दिए । 

टाटाले कमर्सियल र प्यासेन्जर कार प्रोजेक्टलाई बढी ध्यान दिएकाले रेसमो जस्ता परियोजना स्थगित गरिएको टाटाका प्रवक्ताले जनाएका छन् । रेसमो परियोजना सिमित वर्गका लागि मात्र भएकाले त्यसमा तत्काल लगानी बन्द गरियो भने कम्पनीकाे क्यास फ्लो बचत हुने प्रवक्ताको भनाइ छ । 


Back_to_top