काठमाडौं । टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले चालु आर्थिक वर्षको पहिलो दुई महिना साउन र भदौमा ६५६ युनिट विद्युतीय कार नेपाल ल्याएको छ । कम्पनीले सबै ईभी मोडल मिलाएर उक्त संख्यामा आयात गरेको हो ।
टाटाको सर्वाधिक धेरै आयात भएको विद्युतीय कार मोडल पन्च ईभी भएको छ । कम्पनीले साउन अन्तिममा सार्वजनिक गरेको पन्च ईभी ग्राहकले निकै मनपराइरहेका छन् । त्यसलाई आयातले पनि पुष्टि गर्छ ।
सिप्रदीले साउनमा २११ युनिट पन्च ईभी ल्याएकोमा भदौ महिनामा १०९ युनिट आयात गरेको देखिन्छ । दुई महिनाको मिलाउँदा कम्पनीले ३२० युनिट पन्च नेपाल ल्याइसकेको छ ।
टाटाको दोस्रो धेरै आयात टियागो ईभी देखिन्छ । टियागो ईभी पनि फेसलिफ्ट मोडलको रूपमा साउनमै सार्वजनिक भएको ईभी हो । कम्पनीले नयाँ टियागो ईभी साउनमा ४५ युनिट र भदौमा १०७ आयात गरेको देखिन्छ । समग्रमा दुई महिनामा टियागो ईभी १५२ युनिट आयात भएको छ ।
ट्याक्सीको रूपमा बिक्री वितरण हुँदै आएको टिगोर ईभी पनि राम्रो संख्यामा आयात भएको छ । साउन महिनामा आयात नभए पनि भदौमा १४९ युनिट टिगोर ईभी आयात भएको भन्सार तथ्यांकमा देखिन्छ ।
टाटाको सर्वाधिक चर्चामा रहेको नेक्सन केथ्रीको पनि नयाँ मोडल कम्पनीले भदौमा ल्याएको थियो । अहिलेसम्म सिप्रदीले साउनमा १४ युनिट र भदौमा २१ युनिट गरी कुल ३५ युनिट नेक्सन ल्याएको देखिन्छ ।

मोडल अनुसार हेर्दा टाटाको कुल आयातमा पन्च ईभीको हिस्सा ४८.७८ प्रतिशत रहेको छ । दोस्रो स्थानको टियागो ईभीको हिस्सा २३.१७ प्रतिशत र तेस्रो स्थानको टिगोर ईभीको हिस्सा २२.७१ प्रतिशत देखिन्छ । सबैभन्दा कम रहेको नेक्सनले कुल हिस्सामा ५.३३ प्रतिशत हिस्सा ओगटेको छ ।

