काठमाडौं । टाटा मोटर्सका लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले अल न्यु एच ५ को बुकिङ्ग खुलाएको छ । सिप्रदी ट्रेडिङले २५ हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म लिएर एच ५ को बुकिङ्ग खुलाएको हो ।
यसैबीच कम्पनीले, कार बुकिङ्ग गर्ने ग्राहकले बुकिङ्ग पश्चात् कार खरिद नचाहेको खन्डमा १२० प्रतिशत रकम फिर्ता दिने योजना ल्याएको छ ।
एक्स इ, एक्स एम, एक्स टी र एक्स जेड गरि चार भेरियन्टमा आउने एच ५ को मूल्य ६० देखि ८० लाख रुपैयाँको पर्न आउने कम्पनीले जनाएको छ । एक्सइ यो एसयूभीको लो भेरियन्ट हो भने एक्सजेड टप भेरियन्ट हो । यो एसयूभी अगामी भदौ १० गतेबाट सुरु हुने नाडा अटो शोमा सार्वजनिक हुने कम्पनीले जनाएको छ ।
क्रियोटेक २.० लिटर टर्बो डिजेल इन्जिन यूक्त यस एसयूभीले भारतीय बजारमा निकै राम्रो व्यापार गरिरहेको छ । जीप किलरको नाम पाएको एच ५ मा दिएको इन्जिनले १३८ बीएच पावर र ३५० एनएम टर्क उत्पादन गर्छ ।
एच ५ को लम्बाई ४५९८ एमएम, चौडाई १८९४ एमएम, उचाई १७१४ एमएम रहेको छ । यसको ह्वीलवेश २७४१ एमएम रहेको छ भने, ग्राउन्ड क्लियरेन्स २०५ एमएम रहेको कम्पनीले जनाएको छ ।
यसमा डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल र टाटाको अन्य मोडलमा उपलब्ध स्टेरिङ्ग ह्वील लगाइएको छ । एच ५ मा सुपर–ड्राइभ मोड दिइएको छ भने कम्फर्ट, अटो, डायनामिक र रफ–रोड गरी चार ड्राइभिङ अप्सन प्रदान गरिएको छ ।
मल्टी फक्शन स्टेयरिंग ह्वील, लेदर अपहोस्ट्री, एप्पल कार प्ले, एन्ड्रोइड सिस्टम लगायतका विशेषता एच५मा समेटिएका छन् ।

