एफआई इन्जिन भएका यामाहा एफजेड २५ र पल्सर एनएस २०० मा कस्तो फरक

काठमाडौं । पछिल्लो समय मोटरसाइकल चढ्ने, किन्न चाहने मानिसको संख्या ह्वात्तै बढेको छ । अझै २०० सीसी र २५० सीसी सेग्मेन्टमा अपग्रेड हुनेहरुको संख्या निकै बढेको पाइन्छ ।

हाल, नेपाली बजारमा आकर्षक बनोट, उच्च पर्फमेन्स र उत्कृष्ट मूल्यका मोटरसाइकल उपलब्ध रहेका छन् ।

यसैबीच, हामीले बनावट, मूल्य, इन्जिन पावर क्षमता, विशेषता लगायतका पक्षमा निक्कै समानता रहेका तर, एक अर्कामा प्रतिस्पर्धा गरिरहेका सिंगल च्यानल एबीएसयुक्त पल्सर एनएस २०० र यामाहा एफजेड २५ बीच तुलनात्मक अध्ययन गरेका छौं । यी दुबै बाइकमा फ्युल इन्जेक्टेड इन्जिन लगाइएको छ ।

इन्जिन

यामाहा एफजेड २५ मा  सिगंल सिलिन्डर एयरकुल्ड एफआई इन्जिन लगाइएको छ । यसले ८ हजार आरपीएममा २०.६ बीएच पावरका साथै ६ हजार आपीएममा २० एनएम टर्क उत्पादन गर्छ । यसमा पाँच स्पीड गियरबक्स र वेट मल्टी डिस्क हाइड्रोलिक क्लच दिइएको छ ।

पल्सर एनएस २०० मा उपलब्ध फ्युल इन्जेक्टेड एसओएससी फोर भल्भ लिक्वीड कुल्ड ट्रिपल स्पार्क इन्जिन लगाइएको छ । यसले ९ हजार ७५० आरपीएममा २३.१७ बीएच पावरका साथै १८.३ एनएम टर्क उत्पादन गर्छ । यसमा ६ स्पीड गियरबक्स रहेको छ ।

डायमेन्सन

यामाहा एफजेड २५ को तौल १५२ केजी, लम्बाई २०१५ एमएम,  चौडाई ७७० एमएम, उचाई १०७५ एमएम रहेको छ । १३६० एमएमको ह्वीलवेश दिइएको यस मोटरसाइकलमा ग्राउन्ड क्लियरेन्स १६० एमएम रहेको छ । यसको सिट हाइट ७९५ एमएम रहेको छ ।

एनएस २०० एफआइको लम्बाई २०१७ एमएम, चौडाई ८०४ एमएम, उचाई १०७५ एमएम रहेको छ । १६७ एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ भने १३६३ एमएमको ह्वीलवेश दिइएको छ । ८०५ एमएमको सिट हाइट भएको यस बाइकको तौल १५२ किलोग्राम नै रहेको छ ।

विशेषता

यस्तै, पल्सर एनएस २०० एफआइको फ्रन्टमा ३७ एमएमको टेलिस्कोपिक फर्क र रियरमा निट्रोक्स मनोशक याब्जर्वर लगाइएको छ । यसमा डिजीटल स्पिडोमिटर, एनालग टेकोमिटर, डिजीटल ट्रिपमिटर, ओडोमिटर, हेडलाइट, एलइडी टेललाइट, एक्जुलरी लाइट दिइएको छ ।  

यामाहा एफजेड २५ को फ्रन्टमा २८२ एमएम र रियरमा २०० एमएमको हाइड्रोलिक सिंगल डिस्क ब्रेक लगाइएको छ । यसको फ्रन्ट र रियरमा १७ इन्चको अलोय ह्वील लगाइएको छ ।  एलइडी लाइट, वाइड टायर, फ्रन्टमा टेलिस्कोपिक फर्क, रियरमा मनोशक सस्पेन्सन, डायमन्ड फ्रेम, डिजीटल स्पिडोमिटर, टेकोमिटर, ओडोमिटर, ट्रिपमिटरको विशेषता दिइएको छ । इलेक्ट्रीक स्टार्ट, एलइडी हेडलाइट, एलइडी टेललाइट र अटोमेटिक हेडल्याम्पको विशेषता यसमा दिइएको छ ।

टपस्पीड क्षमता र माइलेज

पल्सर एनएस २०० एफआइको टपस्पीड क्षमता प्रतिघन्टा १३६ किलोमिटर रहेको छ । यसले प्रतिलिटर ५३ किलोमिटर माइलेज प्रदान गर्छ । 

यस्तै, यामाहा एफजेड २५ को टपस्पीड क्षमता प्रतिघन्टा १३४ किलामिटर रहेको छ भने, प्रतिलिटर ४३ किलोमिटर माइलेज प्रदान गर्छ ।

मूल्य

यामाहा एफजेड २५ को मूल्य ३ लाख ८९ हजार रहेको छ भने, केही दिनमै सार्वजनिक हुने तयारीमा रहेको पल्सर एनएस २०० एबीएस भर्सनको मूल्य करिब ३ लाख ८० हजार रुपैयाँ पर्ने अनुमान गरिएको छ । 


Back_to_top