काठमाडौं । सन् २०२२ देखि विद्युतीय सवारी (ईभी)मा आक्रमक बजार विस्तार गरिरहेको सिप्रदी नेपालमा सबैभन्दा धेरै ईभी बेच्ने बेच्ने कम्पनी हो । सिप्रदीले अहिलेसम्म ६ हजार ३४० युनिट विद्युतीय कार बिक्री गरेको छ ।
सिप्रदीलाई पच्छाइरहेको बीवाइडीले पनि ६ हजार १४२ युनिट विद्युतीय कार बिक्री गरिसकेको छ । यस्तोमा यी दुई कम्पनीको बीचमा थोरै युनिटको मात्रै अन्तर पाउन सकिन्छ ।

टाटा र वीवाइडीका गाडीमा समानता भने निकै कम छ । बीवाइडी ठूला र मूल्यका हिसाबले ४० देखि ६७ लाख मूल्य भएको गाडी बिक्री गर्ने कम्पनी हो । जबकि टाटासँगै २२ लाखदेखि ४५ लाख रुपैयाँभन्दा कम मूल्यका गाडी छन् । यस्तोमा ईभीको कारोबार रकममा भने टाटालाई बीवाइडीले उछिनेको छ ।
कुन मोडल कति बिक्यो ?
टाटाले नेपालमा बिक्री गर्दै आएको नेक्सन, टिगोर, टियागो र पन्च गरी चार मोडल हो । यी चारवटै मोडल पेट्रोलबाट प्रेरित मोडल हुन् । कम्पनीले आफ्नो पेट्रोल कारलाई इलेक्ट्रीमा पनि बनाएर पठाएको कारण बजारमा सुरूदेखि राम्रो छाप प¥यो ।
उच्च ग्राउण्ड क्लियरेन्स, सब फोर मिटर एसयूभी र चल्तीको मोडलसँगै पेट्रोलको तुलनामा निकै सस्तो मूल्यमा आएको कारण नेक्सन ईभीले गज्जबको व्यापार गर्न सफल भयो । दुई वर्षभन्दा बढी समय राम्रो संख्यामा बिक्री भएको नेक्सन ईभी २ हजार ७७४ युनिट नेपाल आयो ।

टिगोर ईभी निजी तथा ट्याक्सी दुवैमा प्रयोग हुँदै आएको छ । सिप्रदीले अहिलेसम्म १ हजार २३७ युनिट टिगोर ईभी नेपाल ल्याइसकेको छ । साथै, कम्पनीको सबैभन्दा कम मूल्यको टियागो ईभी पनि अहिलेसम्म १ हजार ८४६ युनिट नेपाल आएको छ ।
सिप्रदीले नाडा अटो शो २०२४ मार्फत बिक्री थालेको पन्च ईभी पनि ४८४ युनिट आयात भइसकेको छ । कम्पनीको चुस्त सर्भिस, बलियो नेटवर्क र भरपर्दो चार्जिङ पूर्वाधारको कारण चीन ईभीमा कहलिएको भए पनि टाटाले नेपाली बजारमा पहिलो स्थान सुरक्षीत गर्न सफल भएको हो ।

कम्पनीले सन् २०२५ को सुरूवातसँगै नेक्सन ईभी लङ रेन्ज र कर्भ ईभी नेपाली बजारमा ल्याउने तयारी तीव्र बनाएको छ । यी दुई मोडलको आयातसँगै बजारमा थप बलियो बन्ने रणनीतिमा सिप्रदी रहेको बुझ्न सकिन्छ ।

