नेक्सन म्याक्स टेस्ट ड्राइभः ग्राउन्ड क्लियरेन्सले ढुक्क, स्पोर्टस् मोडले रोमाञ्चक

काठमाडौं । टाटा नेक्सन ईभी नेपालको लागि धेरै परिचय दिनु नपर्ने मोडल हो । सन् २०२१ मा नेपाल आएको नेक्सन ईभी अहिले नेपाली सडकमा सबैभन्दा धेरै चल्ने विद्युतीय एसयूभी हो ।

विगत दुई वर्षमा २ हजार ५ सय यूनिट बिक्री भइसकेको टाटा नेक्सन ईभीको सफलतासँग जोडिएको मुख्य कुरा यसको डिजाइन हो । सब फोर मिटर सेग्मेन्टमा आएको नेक्सन कम्बस्चन इन्जिनमै सफल भइसकेको थियो । एरो डाइनामिक डिजाइन, उच्च ग्राउन्ड क्लियरेन्स र मल्टीपल ड्राइभ मोड इन्टरनल कम्बस्चन इन्जिनमै थियो ।

नेक्सन प्राइमको सफलतासँगै यसको रेन्ज कम भएको धेरैलाई लाग्न थालेसँगै टाटाले भारतमा धेरै रेन्ज दिने नेक्सन म्याक्स मोडल सार्वजनिक गरेको थियो । भारतमा बिक्री सुरु भएको केही महिनापछि नेपाल आएको म्याक्स मोडल हामीले टेष्ट ड्राइभ गरेका थियौं ।

टेष्ट ड्राइभ अनुभव

काठमाडौंको थापाथलीदेखि साँखु हुँदै जहरसिंह पौवासम्म हामीले यसलाई चलाएका थियौं । कम्पनीका अनुसार रेगुलर प्राइम मोडलको तुलनामा म्याक्समा सबै कुरा धेरै पाइने दावी थियो ।

एउटै साइजको गाडीमा लगभग समान पावरको मोटर, १० किलोवाट ठूलो ब्याट्री भएपछि रेन्ज त धेरै हुने नै भयो । पाँच किलोवाट ठूलो मोटर भएको कारण पावर पनि धेरै छ । तर, यसको क्याविनको बनोटमा खासै ठूलो भिन्नता नपाएपनि इलेक्ट्रोनिक पार्किङ ब्रेक, स्पोर्टस् मोड जस्ता फिचरले लोभ्याउँछ । टाटाले यसमा दिएका बटमले यसको एसी, डोर लक, बुट ओपन, विन्ड सिल्ड डिफग जस्ता काम निकै सहज तरिकाले गर्न सकिन्छ ।

टाटाले म्याक्समा दिएको रिजेनेरेटीभ ब्रेकिङ सिस्टमको लेभल छनोट गर्न पनि निकै सजिलो स्थानमा बटम दिएको छ । उक्त बटमको सहायाताले लेभल तल माथि गर्न सकिन्छ ।

यसमा दिइएको ईको, सिटी र स्पोर्टस् मोड बाटोको अवस्था अनुसार प्रयोग गर्न सकिन्छ । हामीले टेस्ट ड्राइभको दौरान तीन वटै मोडको प्रयोग गरेका थियौं । स्पोर्टस् मोडमा पाइने पावर र उच्च ग्राउन्ड क्लियरेन्सले जो कोहीलाई सहजै लोभ्याउँछ ।

नेक्सनको ब्याट्री साइज ठूलो र रेन्ज ४५३ किलोमिटर दावी गरिएपनि सडकमा बास्तविक रेन्ज २७० किलोमिटर हाराहारी मात्रै पाउन सकिने हाम्रो टेस्ट ड्राइभले देखायो । दुई दिनको टेष्ट ड्राइभमा एउटै गतिमा गाडी चलाएर रेन्ज परीक्षण सम्भव थिएन । त्यसले नियमित सडकमा गुडाउने जसरी र कहिले काँही स्पोर्टस् मोडमा पनि गाडी चलाइएको कारण औषत २५० किलोमिटर रेन्ज हामीले पाएका थियौं ।

यदि एसी र हिटरको प्रयोग नगर्ने, ईको मोडमा मात्रै चलाउने र समथर वा उकालो तथा ओरालो मिसिएको बाटो भए २९० किलोमिटरसम्म पनि रेन्ज पुग्न सक्ने देखियो । १० किलोवाट क्षमताको ब्याट्री बढ्दा बढेको रेन्जलाई निकै राम्रो मान्न सकिन्छ ।

यस्तो छ नेक्सन म्याक्स

टाटाको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङले नेक्सन म्याक्सको मूल्य ४६ लाख ४९ हजार रुपैयाँ तोकेर बिक्री सुरु गरेको छ । मूल्यको हिसावले नेक्सन प्राइम मोडलको तुलनामा ३ लाख रुपैयाँ बढी हो ।

नेक्सन म्याक्समा ४०.५ किलोवाट आवरको ब्याट्री दिएको छ । रेगुलर मोडलको तुलनामा पार्कमोड सहितको इलुमीटेड गियर नव, इलेक्ट्रोनीक पार्किङ ब्रेक, एयर प्यूरीफायर, चारवटै चक्कामा डिस्क ब्रेक, भ्यान्टिलेटेड सिट थपिएको छ ।

त्यस्तै, सुरक्षाका लागि म्याक्समा ईएसपी तथा हिल होल्ड असिस्ट समेत थपिएको छ । यसमा अब स्मार्ट वाच कनेक्ट तथा क्रुज कन्ट्रोलको पनि सुविधा पाउन सकिन्छ ।


Back_to_top