टाटा एनआरजी क्रसओभर नयाँ अवतारमा आउँदै

काठमाडौं । टाटा मोटर्सले टियागो ‘एनआरजी’ क्रसओभरको फेसलिफ्ट मोडल बजारमा ल्याउने भएको छ । कम्पनीले अगष्ट अन्तिमसम्ममा नयाँ एनआरजी बजारमा ल्याउने भएको हो ।

निकै बल्की र स्पोर्टी डिजाइनमा आउने अनुमान गरिएको नयाँ एनआरजी ‘सिरियसली फन’ ट्यागलाइन सहित बजारमा आउन लागेको हो । कम्पनीले यसअघि बीएस ६ इन्जिनमा यसलाई अपग्रेड गरेको थिएन । अब भने नयाँ इन्जिन र थुप्रै कस्मेटिक परिमार्जन सहित बजारमा ल्याउन लागेको हो ।

टाटाले यसमा १.२ लिटर क्षमताको पेट्रोल इन्जिन दिनेछ । उक्त इन्जिनले अधिकतम ८६ पीएस पावर र ११३ एनएम टर्क प्रदान गर्नेछ । टाटाले नयाँ एनआरजीको बाहिरी डिजाइनमा परिमार्जन गर्नुको साथै पहिलेभन्दा धेरै ग्राउन्ड क्लियरेन्स प्रदान गरेको छ ।

एनआरजीको ह्वील, ड्यासबोर्ड लगायत परिमार्जन भएर आउन लागेको हो । नेपालमा पनि सिप्रदी ट्रेडिङले एनआरजी विक्री गर्दै आएको थियो । नयाँ मोडल पनि चाँडै नेपाल ल्याउने अनुमान गर्न सकिन्छ ।


Back_to_top