काठमाडौं । नेपालमा पछिल्लो एक वर्ष इलेक्ट्रीक कारको बिक्रीमा ठूलो परिवर्तन आएको छ । ठूला कम्पनीले ल्याएका इलेक्ट्रीक कारले बजारमा नयाँ बेच्चमार्क स्थापना गर्न सफल भएका छन् ।
निजी कारको बिक्रीमा व्यापक गिरावट आएको समयमा इलेक्ट्रीक कारको बिक्रीमा भने उच्च वृद्धि भएको छ । चालु आर्थिक वर्षमा नै इलेक्ट्रीक कारको बिक्रीमा २०० प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।
यस्तोमा इलेक्ट्रीक कार ल्याउन हरेक गाडी वितरक कम्पनी लागि गरेका छन् । अहिले बजारमा बिक्री हुँदै आएको महिन्द्रा इटुओ प्लस र इभेरिटो, हुन्डाई कोना, किया निरो र एमजी इजेडएस प्रति उपभोक्ताले निकै आकर्षण देखाएसँगै अन्य ब्राण्डले पनि इलेक्ट्रीक कार ल्याउने भएका छन् ।
सन् २०२० भित्रै नेपाली बजारमा आउने तीन संम्भावित र कम मूल्यका इलेक्ट्रीक कार यस प्रकार रहेका छन् ।
टाटा ‘नेक्सन इभी’
टाटा मोटर्स इन्डियाले उत्पादन गरेको पहिलो इलेक्ट्रीक एसयूभी नेक्सन भारतमा बिक्री सुरु भएको एक महिना पुरा भएको छ ।
कम्बस्चन इन्जिनयुक्त नेक्सनकै धेरै फिचर प्रयोग भएको यस इलेक्ट्रीक कारलाई कम्पनीले तीन भेरियन्टमा बजारमा ल्याउने घोषण गरेको छ । जसमा एक्सएम, एक्सजेड प्लास र एक्सजेड प्लस लग्जरी रहेको छ ।
जिपट्रोन टेक्नोलोजीमा आधारित यो एसयूभीले फुलचार्जमा ३१३ किलोमिटर रेञ्ज प्रदान गर्ने एआरएआई ले प्रमाणित गरेको छ । ३०.२ किलोवाट आवरको हाइइनर्जी डेनसिटी लिथियम आयान पोलिमोर ब्याट्री सेल दिइएको छ । यसको मोटरमा लिक्वीड कुल्ड सिस्टम प्रदान गरिएको छ ।

यसमा रहेको व्याट्री चार्ज गर्न घरायसी चार्जरबाट ८ घण्टा लाग्छ भने डिसी फार्स्ट चार्जरबाट चार्जगर्दा ६० मिनेटमा ८० प्रतिशत चार्जगर्न सकिन्छ । यसमा दिइएको व्याट्री र मोटरमा ८ वर्ष वा १ लाख ६० हजार किलोमिटर वारेन्टी दिने कम्पनीले घोषणा गरेको छ ।
नेक्सन इभीले ९.९ सेकेन्डमा १०० किलोमिटरको स्पीड भेट्टाउन सक्छ । जसले पावर १२९ पिएस तथा २४५ एनएम टर्क जेनेरेट गर्दछ । टाटाले पहिलो पटक यस कारमा सनरुफ पनि राखेको छ ।
नयाँ ३५ प्रकारको कनेक्टेड फिचर रहेको यो कारलाई टाढाबाटै कन्ट्रोल गर्न सकिनेछ । स्मार्ट फोनको यापको माध्यमबाटै कारको स्क्यान समेत गर्न सकिने कम्पनीले जनाएको छ । जसको सहायताले कारको व्याट्री तथा मोटरका साथै अन्य टेक्नीकल पार्टसको स्टाटस थाहा पाउन सक्नेछ ।
२०५ एमएमको उच्च ग्राउण्ड क्लियरेन्स यसमा पाउन सकिन्छ । सुरक्षालाई मध्यनजर गर्दै हाइ स्ट्रेन्थ स्टिल र बोस्टले ब्याट्रीलाई ढाकिएको छ, जुन वाटर तथा डस्ट प्रुफ रहेको छ ।
टाटाको नेपालको लागि आधिकारीक वितरक सिप्रदी ट्रेडिङले यसलाई नेपाल बजारमा ल्याउने तयारी सुरु गरिसकेको छ ।
महिन्द्रा ‘केयूभी १००’
महिन्द्राले भारतीय बजारमा इलेक्ट्रीक केयूभी १०० सार्वजनिक गरिसकेको छ । आगामी महिनाबाट भारतमा बिक्री सुरु हुने बताइएको केयूभी १०० अटो एक्स्पो २०२० मा सार्वजनिक गरिएको थियो ।
कम्पनीले आफ्नो चर्चित माइक्रो एसयूभी केयूभी १०० इलेक्ट्रीकको भारतमा मूल्य भने ८ लाख ५० हजार भारु निर्धारण गरेको छ ।
केयूभी १०० इलेक्ट्रीकले एकपटकको फुलचार्जमा १४० किलोमिटर रेञ्ज प्रदान गर्ने जनाइएको छ । अहिले बजारमा बिक्री वितरण भइरहेको ग्यासोलिन केयूभी-१०० जस्तै आकार, स्वरुप र फिचरमा उपलब्ध हुने छ ।

महिन्द्रा इकेयूभी-१०० मा ४० किलोवाटको नयाँ मोटर दिइएको छ । यसमा प्रयोग भएको व्याट्री ५ घण्टा ४५ मिनेटमा घरायसी प्रयोजनको रेगुलर चार्जरबाट फुल चार्ज गर्न सकिन्छ भने, ४५ मिनेटमा फास्ट चार्जरबाट ८० प्रतिशत चार्ज गर्न सकिने दाबी कम्पनीको छ ।
यो गाडीको लम्बाई ३७ सय एमएम, चौडाई १७ सय ३५ एमएम, उचाई १६ सय ५५ एमएम रहेको छ भने ह्वीलवेस २३ सय ८५ एमएम रहेको छ । लिथियम आयोन व्याट्री प्रयोग भएको महिन्द्रा इकेयूभी-१०० निक्कै प्रतिक्षित कारको रुपमा रहेको छ ।
नेपालमा यसको बिक्री अग्नी ग्रुप अन्तर्गतको अग्नी इनर्जीले गर्नेछ ।
ग्रेटवाल ‘आर १’
अटो एक्स्पो २०२० मा सार्वजनिक भएको ग्रेटवाल मोटर्सको इलेक्ट्रीक कार ‘आर-१’ अहिले चर्चामा रहेको इलेक्ट्रीक कार हो । चीनमा करिब ९ लाख नेपाली रुपैयाँ बराबरमा किन्न सकिने यो कार नेपाल आउँदा करिब १५ लाख हाराहारीमा पर्ने भएकाले पनि नेपालका धेरै व्यवसायीक घरानाको आँखा यसमा लागेको छ ।
यसमा ३३ किलोवाटको लिथियम आयोन ब्याट्री र ३३ किलोवाटकै इलेक्ट्रीक मोटर जडान गरिएको छ । प्रतिघण्टा १०० किलोमिटरको रफ्तारमा दौडने यो कार फुलचार्जमा ३५१ किलोमिटरको दुरी तय गर्ने क्षमता राख्छ ।

ग्रेटवाल आर-१ मा ९.० इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम दिइएको छ भने कनेक्टेड कार टेक्नोलोजी, टायर प्रेशर मोनिटरिङ सिस्टम, रिभर्स पार्किङ सेन्सर जस्ता फिचरले यसलाई उत्कृष्ट बनाएको छ ।
यसलाई नेपाली बजारमा कुन व्यवसायीक घरानाले ल्याउँछ भन्ने एकिन नभएपनि सन् २०२० भित्रै नेपाल आउन सक्ने मोडलको रुपमा यसलाई हेरिएको छ ।


