निर्वाण चौधरीलाई ३ प्रश्नः नेटा भी किन चढ्ने ?

काठमाडौं । चौधरी ग्रुप अन्तर्गतको सिजी मोटरले चिनियाँ ब्राण्ड होजोन मोटरको इलेक्ट्रीक क्रसओभर नेटा भी आजबाट आधिकारीक रुपमा विक्री सुरु गरेको छ । कम्पनीले सन् २०१४ मा स्थापना भएको र सन् २०१९ बाट गाडी उत्पादन थालेको थियो ।

चिनियाँ बजारमा गाडी विक्री गर्न थालेको तीन वर्षपनि नपुग्दै होजोन मोटर्सको उत्पादन नेपाल आएको हो । नेपाली बजारमा यो कारले कस्तो विक्री पाउँछ भन्ने विषयमा अहिल्यै एकिन गर्न सकिदैन । यद्यपि, यसमा धेरै मानिसको चासो भने रहेको देख्न सकिन्छ ।

सिजी मोटरका प्रबन्ध निर्देशक निर्वाण चौधरीलाई मेरोअटोले विश्व बजारमा आएको ३ वर्ष मात्रै भएको नयाँ ब्राण्ड नेपाल ल्याउनुको कारण बारे पहिलो प्रश्न गरेको थियो ।

प्रश्न १. नेपालमा इलेक्ट्रोनिक्स होम एप्लाइसेन्सको पायोनियर कम्पनीको नाताले मात्रै नयाँ ब्राण्डमा जोखिम मोल्नु भएको कि अन्य केही देखेर होजोनका उत्पादन नेपाल ल्याउनु भएको ?

कुनैपनि कम्पनी नयाँ काम पुरानै परम्परागत कम्पनीको तुलनामा नयाँ कम्पनीले राम्रो गर्ने हामीले देखेका छौं । अहिलेको अवस्थालाई अटोमोवाइलमा एउटा युगको अन्त्य हुनेतिर र अर्को युगको सुरुवाति चरणमा रहेको मान्न सकिन्छ । यस्तोमा परम्परागतभन्दा नयाँ कम्पनी प्रति विश्वास हुनु स्वाभाविक हो । विश्व जुन दिशामा जान्छ हामी त्यता नै जाने हो । १० वर्षअघि नै विद्युतीय गाडी ल्याउन सकिन्थ्यो । त्यसको लागि विद्युत चाहिन्थ्यो । अहिले नेपालमा विजुली पनि उपलब्ध रहेको र, विश्वमा टेस्ला जस्ता नयाँ ब्राण्डले विश्वास जित्दै गएको कारण हामीले होजोन ब्राण्ड नेपाल ल्याएका हौं ।

प्रश्न २. नेपालमा साना गाडीको बजार हरेक वर्ष घट्दो छ । अहिले बजारमा ४ मिटरभन्दा छोटा एसयूभी र ४.३ मिटर हाराहारीका कम्प्याक्ट एसयूभीको बजार सबैभन्दा ठूलो छ । तर, तपाईले ल्याउनु भएको नेटा भी क्रसओभर मोडल हो । कसरी ग्राहकलाई आकर्षित गर्नुहुन्छ ?

नेपालमा साना ह्याचव्याक कारको बजार घटेको हो । सबै ह्याचव्याक चढ्ने मानिससँग एसयूभीमा जान सक्ने अवस्था छैन । हाम्रो गाडी साइजमा सब फोर मिटर एसयूभीभन्दा लामो छ । सँगसँगै फिचरमा पनि अहिले बजारमा उपलब्ध ३५/४० लाखका एसयूभीभन्दा उत्कृष्ट छ ।
अहिले बजारमा सबैभन्दा धेरै खोजिने गाडी नै क्रसओभर मोडल हो जस्तो लाग्छ । यो एउटा पूर्णत पारिवारीक कार हो । यसलाई हामीले ‘भ्यालू फर मनी’ कारको रुपमा बजारमा ल्याएका छौं । यसले ग्राहकको आवश्यकता त पुरा गर्छ नै आर्थिक रुपमा पनि राम्रो बचत गराउँछ ।

अन्तिम प्रश्नः गाडी ल्याउनु भयो भोलिबाट बजारमा गुड्न थाल्छ । एउटा सिटी कारको रुपमा प्रयोग हुने हुँदा ग्राहकले चार्जिङ घरमा नै गर्लान् । तर, कतै घुम्न जान मनलागेको खण्डमा के गर्ने ? अझ सहज तरिकाले भनौं चार्जिङ पूर्वाधिर विस्तारका योजना कस्ता छन् ?

तपाईले भनेजस्तै घरमा नै यसलाई चार्ज गर्ने हो । दोस्रो यसको रेन्ज ४ सय किलोमिटर हाराहारी छ । त्यसैले पोखरा, चितवन, बर्दिवास जस्ता सहरमा जान चार्जको समस्या हुँदैन । अर्को हामी डिलर नेटवर्क विस्तार गर्दैछौं । नेटवर्क विस्तारसँगै चार्जिङ स्टेशन पनि निर्माण हुन्छ । हामी फास्ट चार्जिङ नेटवर्क पनि विस्तार गर्छौ । यसलाई हाम्रो सुरुवात सम्झनुहोस् । चाँडै हामी थप मोडल र ब्राण्ड लिएर आउँछौं ।


Back_to_top