काठमाडौं । विश्वभर कार उपभोक्ताहरुको संख्या बढ्दै गइरहेको छ । विकासको बाटोमा तिब्र रुपमा लम्किरहेका देशहरुमा कार चढ्नेहरुको संख्या व्यापक रुपमा बढी रहेका छन् ।
मानिसहरुको क्रयशक्ति बढ्दै जाँदा सवारीसाधनको उपभोगसमेत बढ्दै गइरहेको छ । यस्तैमा सन् २०१८ मा विश्वमा सबैभन्दा धेरै कार उत्पादन गर्ने देश चीन बनेको छ । चीनले गएको वर्ष २३.७ मिलियन अर्थात् २ करोड ३७ लाख यूनिट प्यासेन्जर कार उत्पादन गरेको छ ।
त्यस्तै धेरै प्यासेन्जर कार उत्पादन गर्ने देशको सूचिमा दोस्रो नम्बरमा जापान रहेको छ । २०१८ मा जापानले ८३ लाख यूनिट प्यासेन्जर कार उत्पादन गर्न सफल भएको छ । तेस्रो स्थानमा रहेको जर्मनीले गत वर्ष ५१ लाख यूनिट कार उत्पादन गरेको छ ।
चौथो स्थानमा हाम्रो छिमेकी देश भारत रहेको छ । २०१८ मा भारतले ४० लाख ६० हजार कार उत्पादन गर्दा पाँचौं स्थानमा रहेको दक्षिण कोरियाले ३६ लाख प्यासेन्जर कार उत्पादन गर्न सफल भएको छ ।
धेरै कार उत्पादन गर्ने देशमा अकेरिका छैटौं स्थानमा रहेको छ । अमेरिकाले २०१८ मा २८ लाख प्यासेन्जर कार उत्पादन गरेको छ । त्यस्तै सातौं स्थानको ब्राजिलले २३ लाख, आठौं स्थानमा रहेको स्पेनले २२ लाख, नवौं स्थानको फ्रान्सले १७ लाख र १०औं स्थानमा रहेको मेक्सिकोले १५ लाख वटा प्यासेन्जर कार उत्पादन गरेको द स्पेक्टेटर इन्डेक्सले उल्लेख गरेको छ ।


