काठमाडौं । सन् २०२५ नेपाली अटोमोबाइल क्षेत्रका लागि सुखद नै रह्यो । अघिल्लो वर्षको तुलनामा कार आयत १५ प्रतिशतले बढेर १५ हजार ८४७ युनिट पुगेको हो ।
सन् २०२५ मा ११ हजार ७७३ युनिट विद्युतीय -ईभी) र ४ हजार ७४ युनिट कम्बस्चन कार नेपाल भित्रिएका हुन् । सन् २०२५ मा नेपाली बजारमा ४ दर्जन बढी ब्राण्डका करिब ८० बढी मोडल कार आएका हुन् । तीमध्ये करिब ३ दर्जन मोडलका कारको आयात १० युनिटभन्दा बढी रहेको छ ।
सन् २०२५ मा करिब १ दर्जन मोडल मात्रै ५०० युनिट बढी आएका छन् । जसमा तीन मोडलका ईभी कारले मात्रै १ हजार युनिटको आँकडा पार गर्न सफल भएका छन् ।
सन् २०२५ मा बीवाइडी एटो टु, एमजी एस फाइभ र टाटा टिगोर ईभी -एक्सप्रेस टी) १ हजार बढी युनिट आयात भएका हुन् । एटो टु र एस फाइभ एसयूभी हुन् भने टिगोर सेडान कार हो । यी कारको हामीले यहाँ चर्चा गरेका छौं ।
बीवाइडी एटो-टु
गत भदौमा आयोजित नाडा अटो शो २०२५ मा नेपाल आएको बीवाइडी एटो-टुले ४ महिनामै हजार युनिटको माइलस्टोन पार गरेको छ । नेपालका लागि बीवाइडीको आधिकारिब बिक्रेता साइमेक्स इंकले ४ महिनामा एटो-टु १ हजार ७४ युनिटको आयात गर्न सफल भएको हो ।

यसअघि बीवाइडी डल्फिन र एटो थ्रीले पाएको सफलतालाई एटो टुले पनि निरन्तरता दिएको हो । बीवाइडीको एटो-टुमा २०० एमएम अग्लो ग्राउण्ड क्लियरेन्स छ । जुन औषत ईभीमा हुनेभन्दा धेरै अग्लो हो ।
यसमा ५१ किलोवाटको ब्लेड ब्याट्री रहेको छ । जसले एकपटकको फुलचार्जमा ३४५ किलोमिटर रेन्ज दिने डब्लूएलटीपीले प्रमाणित गरेको छ । एटो टुमा १०० किलोवाटको मोटर छ । जसले २९० न्युटन मिटर टर्क दिन्छ ।
एटो-टुको लम्बाइ ४२९० एमएम, चौडाइ १७७० एमएम, उचाइ १५७० एमएम छ । यसमा २६२० एमएम लामो ह्वीलवेस पाउन सकिन्छ । यसमा १७ इन्चको अलोय ह्वील, ८.८ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, १२.८ इन्चको रोटरी इन्फोटेन्मेन्ट डिस्प्ले, ५० वाटको वायरलेस चार्जर, ६ वटा एयरब्याग दिइएको छ । यसको मूल्य मूल्य ४३ लाख ९९ हजार रुपैयाँ रहेको छ ।
एजमी एस फाइभ
सन् २०२५ को मार्चबाट नेपालमा बिक्री सुरू भएको एमजी एस फाइभ निकै चर्चित मोडल हो । नेपालका लागि एमजीको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्स सन् २०२५ मा एमजी एस फाइभ १ हजार ५२ युनिट आयात गर्न सफल भएको छ ।

९ महिनामा १ हजार युनिटको माइलस्टोन पूरा गरेको एमजी एस फाइभ डिजाइन, फिचर र मूल्यकै कारण धेरैले रुचाएको देखिन्छ । पारामाउन्ट मोटर्सले एस फाइभको मूल्य ४३ लाख ९९ हजार रुपैयाँ मूल्य तोकेको छ ।
एमजी एस-फाइभमा ४९ किलोवाट आवर र ६२ किलोवाट आवरको दुई ब्याट्री अप्समा उपलब्ध छ । यसको सानो ब्याट्रीले ३४० किलोमिटरदेखि र ठूलो ब्याट्रीले ४३० किलोमिटरसम्म रेन्ज दिन्छ ।
यसमा ९९ किलोवाट पीकपावरको इलेक्ट्रीक मोटर छ । जसले २५० न्यूटन मिटर टर्क जेनेरेट गर्छ ।यसको लम्बाइ ४४७६ एमएम, चौडाइ १८४९ एमएम र उचाइ १६२१ एमएम छ । यसमा २७३० एमएम लामो ह्वीलबेस छ । एमजीले एस-फाइभको कम्फर्ट भेरियन्टमा १७ इन्चको अलोय ह्वील र १७५ एमएम अग्लो ग्राउण्ड क्लियरेन्स दिएको छ ।
एमजीको एस-फाइभमा १२.८ इन्चको टचस्क्रीन इन्फोटेन्मेन्ट सिस्टम, १०.२५ इन्चको इन्फर्मेसन डिस्प्ले, रियर भ्यू क्यामरा, वायर लेस एण्ड्रोइड अटो र एप्पल कारप्ले दिइएको छ । यसमा ४ वटा प्रिमियम स्पीकर छ । पीयू लेदरले मोरिएको स्टेरिङ ह्वील, प्यासिभ इन्ट्री सिस्टम, पेडल स्टार्ट, फेब्रिक सिट कभर, अटोमेटिक एसी, भीटुएल सुविधा पाउन सकिन्छ ।
एमजी एस-फाइभमा ७ वटा एयरब्याग, अटोहोल्ड, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, लेन डिपार्चर वार्निङ, ट्राफिक जाम असिस्ट, फ्रन्ट र रियर कोलुजन वार्निङ, इन्टेलिजेन्ट हेडल्याम्प कन्ट्रोल जस्ता फिचर दिएको छ ।
टिगोर ईभी
सन् २०२५ मोडलका आधारमा टाटा टिगोर ईभी सबैभन्दा धेरै आयात भएको छ । सिप्रदी ट्रेडिङले १ वर्षको अवधिमा १ हजार १४६ युनिट टिगोर ईभी ल्याएको हो ।

टिगोर ईभी ट्याक्सीको रूपमा बिक्री हुँदै आएको छ । टिगोर ईभी नेपाली बजारमा ‘एक्सप्रे टी’ नामबाट बिक्री हुँदै आएको छ ।
एक्सप्रेस टीमा २४ किलोवाट आवको ब्याट्र छ । जसले एकपटकको फुलचार्जमा २६० किलोमिटर बढी रेन्ज दिने कम्पनीको दाबी छ ।
यसमा ४८ किलोवाटको इलेक्ट्रीक मोटर छ । जसले १७० न्युटन मिटर टर्क प्रदान गर्छ । यसको लम्बाइ ३९९३ एमएम, चौडाइ १६७७ एमएम, उचाइ १५३२ एमएम र ह्वीलबेस २४५० एमएम छ । यसको मूल्य ३६ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

