काठमाडौं । युवाहरुले पछिल्लो समय एड्भेन्चर मोटरसाइकलको प्रयोग बढाउँदै लगेका छन् । एड्भेन्चर मोडलमा युवाको क्रेज बढेसँगै विभिन्न ब्राण्डले कम क्षमताका ‘लाइट वेट’ मोडलहरु उपलब्ध गराएका छन् ।
कालोपत्रे सडक होस् या कच्ची अफरोड दुबै बाटोमा सहजै चलाउन सकिने एड्भेन्चर मोटरसाइकल मूल्यका हिसावले केही महंगा छन् । विगतमा विश्वभर ठूला मोटरसाइकल निर्माताले मात्रै उत्पादन गर्ने एड्भेन्चर मोडल आजकल अधिकांश ब्राण्डले उत्पादन गर्दै आएका छन् ।
नेपालमा पनि हिरोदेखि टेकनसम्मले एड्भेन्चर मोडल विक्री गर्दै आएका छन् । अहिले नेपालमा तीन लाखदेखि १२/१५ लाखसम्म मूल्य पर्ने एड्भेन्चर मोडल किन्न पाइन्छ । अधिकांश कम्पनीले विक्री गर्ने एड्भेन्चर मोटरसाइकलहरु २०० सीसीभन्दा माथिका छन् । यद्यपि, कम मूल्य र हलुका तौल भएका १५० सीसी क्षमताका एड्भेन्चर मोडल पनि उपलब्ध रहेका छन् । यी नै साना एड्भेन्चर मोटरसाइकलहरुको बारेमा हामीले यहाँ चर्चा गर्दैछौं ।
मोटरहेड १५० आर

मोटरहेडको १५० आर मोटरसाइकलमा १४९ सीसीको सिगंल सिलिन्डर, एयर कुल्ड कार्बोरेटर इन्जिन रहेको छ । उक्त इन्जिनले अधिकतम ८००० आरपीएममा ११.१४ पीएस र ६५०० आरपीएममा ९.८ एनएम टर्क जेनेरेट गर्छ ।
क्लासीक डर्ट डिजाइनमा रहेको यो मोटरसाइकलमा ड्यूल डिस्क ब्रेक, ट्युबलेस टायर, इन्भर्टेड फ्रन्ट एण्ड मोनोसक रियर सस्पेन्स, हाइ माउन्टेड बिबिआर आल्मुनियम मफ्लर, ड्यूल स्पोर्ट टायर पाउन सकिन्छ ।
यसमा ५.७ लिटर क्षमताको इन्धन ट्याङ्की छ । केबल ११८ किलोग्राम मात्रै तौल रहेको १५० आरको मूल्य ३ लाख १० हजार रुपैयाँ रहेको छ ।
हाउजे एनके १५०

नेपालमा केहि समय अगाडि मात्रै विक्री सुरु भएको हाउजे एनके १५० मा १४९ सीसीको सिगंल सिलिन्डर, एयर कुल्ड, फोर स्ट्रोक, काब्रुरेटर इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम ८००० आरपीएममा १२ पीएस पावर र ६००० आरपीएममा ११.६ एनएम टर्क प्रदान गर्छ ।
एनके १५० को तौल १३९ किलोग्राम छ । यसमा १२.५ लिटरको इन्धन ट्याङ्क छ । हेलोजन हेडल्याम्प र टेलल्याम्प, एलसीडी इन्ट्रुमेन्ट, १८० एमएम टेलीस्कोपीक फ्रन्ट एण्ड रियर सेन्ट्रल एब्जर्बर, स्पोक ह्वील, अगाडी डिस्क र पछाडि ड्रम ब्रेक जस्ता फिचर दिइएको छ ।
कम्पनीले यो मोटरसाइकलको मूल्य ४ लाख १० हजार रुपैयाँ राखेर विक्री गरिरहेको छ ।
हार्टफोर्ड भिआर १५०

हार्टफोर्ड नेपालमा बिक्री हुने सबैभन्दा पुरानो मध्यको एक एड्भेन्चर मोटरसाइकल हो । कुनै समय निकै चर्चामा रहेको यो बाइक अहिले पनि सडकमा गुडेको देख्न सकिन्छ ।
यसमा १४९ सीसीको फोर स्ट्रोक सिगंल सिलिन्डर इन्जिन रहेको छ । उक्त इन्जिनले ८३०० आरपीएममा १३ पीएस पावर र ७००० आरपीएममा १२.४५ एनएम टर्क प्रदान गर्छ ।
यसमा पनि होन्डाकै जत्रो १२ लिटर क्षमताको इन्धन ट्याङ्की छ । हाडफोर्डमा डिजिटल इन्ट्रुमेन्ट क्लस्टर, डबल प्रिस्कोप फ्रन्ट सस्पेनस, ग्रीपी मोटार्ड टायर, नयाँ स्पोक ह्वील, युएसडी सस्पेन्सन जस्ता फिचर छन् । यो मोटरसाइकलको मूल्य ४ लाख ९० हजार रुपैयाँ रहेको छ ।
यामाहा एक्सटीजेड १५०

यामाहाले नेपालमा सुरुमा एक्स्टीजेड १२५ ल्याएको थियो । त्यसपछि १२५ को आयात बन्द गरेर १५० ल्याएको हो । यामाहा एक्सटीजेडमा १४९ सीसी सिंगल सिलिन्डर, एफआई इन्जिन रहेको छ । यो इन्जिनले अधिकतम ७५०० आरपीएममा १२.५ पीएस पावर र ६००० आरपीएममा १३.१ न्युटन मिटर टर्क प्रदान गर्छ । १३१ किलोग्राम तौल रहेको यो मोटरसाइकलमा अगाडि १९ इन्च र पछाडि १७ इन्चको टायर प्रयोग भएको छ ।
अगाडि २४० एमएमको डबल पिस्टन क्यालीपर डिस्क ब्रेक र पछाडि ड्रम ब्रेक दिइएको छ । होन्डा एक्सआर १५० र यसमा प्रायः जस्तो समान फिचरहरु छन् । यो मोटरसाइकलको मूल्य ५ लाख ६९ हजार रुपैया निर्धारण गरेर विक्री गर्दै आएको छ ।
होन्डा एक्सआर १५० एल

नेपालमा एड्भेन्चर मोडल भन्ना साथ धेरैले सम्झने होन्डा ब्राण्ड हो । अहिले पनि होन्डाले थुप्रै एड्भेन्चर मोडल विक्री गर्दै आएको छ । होन्डाको सबैभन्दा सानो एड्भेन्चर मोटरसाइकल एक्सआर १५० एल मोडल हो ।
१५० सीसी क्षमताको फोर स्ट्रोक, एसओएचसी, एयरकुल्ड इन्जिन यसमा रहेको छ । उक्त इन्जिनले अधिकतम ७७५० आरपीएममा १२.१४ पीएस पावरका साथै ६००० आरपीएममा १२.५ एनएम टर्क प्रदान गर्छ ।
होन्डा एक्सआर १५० एलको कुल तौल १३१ किलोग्राम रहेको छ । यसको अगाडि १९ इन्च र पछाडि १७ इन्चको टायर दिइएको छ । अगाडि ह्वीलमा २४० एमएमको डबल पिस्टन क्यालीपर डिस्क बे्रक उपलब्ध एक्सआर १५० को पछाडि चक्कामा भने ड्रम बे्रक रहेको छ ।
लामो यात्राको लागि उपयोगी यो मोटरसाइकलमा १२ लिटर क्षमताको इन्धन ट्यांकी दिइएको छ । मोटरसाइकलको अगाडी टेलिस्कोपिक फर्क र पछाडि स्विंग आर्म सस्पेन्सन पाउन सकिन्छ । फोर बोल्ट माउन्टिङ सिस्टम, स्मुथ फोर स्ट्रोक पावर, डिजिटल स्पीडोमिटर रहेको एक्सआर १५० एलको मूल्य ६ लाख ४९ हजार ९०० रुपैयाँ रहेको छ ।


