टोयोटाको नयाँ फ्युल सेल सिस्टम : मूल्य घट्ने, माइलेज बढ्ने

काठमाडौं । विश्व अटोमोबाइल उत्पादकहरू इलेक्ट्रीक सवारी साधन निर्माणमा केन्द्रीत हुँदा जापानी अटोमोबाइल कम्पनी टोयोटा भने अझै पनि हाइड्रोजन फ्युल सेलमा लगानी बढाइरहेको छ । टोयोटाले सन् २०२४ मा विश्वभर केबल १ हजार ७७८ युनिट फ्युलसेल कार बिक्री गरे पनि नयाँ विकासमा थप लगानी निरन्तर गर्दै आएको हो ।

सन् २०२४ मा अघिल्लो वर्षको तुलनामा ५५.८ प्रतिशत हाइड्रोजन फ्युल सेल कारको बिक्री घटेको हो । तर, पनि टोयोटाले हरेस खाएको देखिँदैन । बिक्री घट्दा पनि कम्पनीले थर्ड जेनेरेशन हाइड्रोजन सिस्टम सार्वजनिक गरेको छ ।

टोयोटाका अनुसार नयाँ जेनेरेशन फ्युल सेल सिस्टम सानो, हलुका र पहिलाको भन्दा थप इफिसियन्ट भएर आएको छ । जापानी अटोमोबाइल जाइन्टले नयाँ जेनेरेशन फ्युल सेल सिस्टम पहिलाको भन्दा दुई गुणा भरपर्दो र आधा कम मेन्टिनेन्स चार्ज लाग्ने भएर आएको दाबी गरेको छ ।

कम्पनीको नयाँ फ्युल सेल सिस्टमको रेन्ज पनि उल्लेखनीय रूपमा सुधार भएको छ । नयाँ सिस्टमको सहयोगमा प्यासेन्जर भेहिलकको रेन्ज २० प्रतिशतले बढ्ने कम्पनीको दाबी छ । अघिल्लो जेनेरेशन मिराइ फ्युल सेलको माइलेज ६४७ किलोमिटर थियो । अब माइलेज बढेर ७७२ किलोमिटरसम्म पुग्नेछ ।

कम्पनीले यो नयाँ प्रविधिको अर्को विशेषता भनेको लागत कम हुनु हो । सेल डिजाइन र म्यानुफ्याक्चरिङ प्रोसेसमा भएको नयाँ प्रगतिका कारण अब फ्युल सेल भेहिलकहरूको मूल्य उल्लेखनीय रूपमा घट्ने छ ।

टोयोटाले हाइड्रोजन फ्युल सेलमा पावर जेनेरेटर, ट्रेन, कन्ट्रक्सन इक्युपमेन्टमा प्रयोग गर्न सकिने बताएको छ । हाइड्रोजन फ्युल सेल रि–फिल गर्न स्टेशनको पर्याप्तता नभएका कारण साइटमै हाइड्रोजन सप्लाई गरी यस्ता इक्युपमेन्टहरू संचालन गर्न सकिने कम्पनीले दाबी गरेको छ ।

हाइड्रोजन फ्युल सेल इन्जिनले विषाक्त ग्यासहरू ननिकाल्ने भएकाले निकै संवेदनशील क्षेत्रमा पनि यस्ता गाडीको प्रयोग गर्न सकिनेछ ।

टोयोटाले नयाँ जेनेरेशनको हाइड्रोजन फ्युल सेल सिस्टम आगामी हप्ता जापानको टोकियोमा हुने ‘इन्टरनेशनल हाइड्रोजन र फ्युल सेल एक्स्पो’मा सार्वजनिक गर्नेछ । नयाँ सिस्टम सहितको पहिलो गाडी भने सन् २०२६ बाट मात्रै विश्व बजारमा आउने छ ।


Back_to_top