यस्तो छ टोयोटाको तेस्रो ईभी बीजेड३ एक्स

काठमाडौं । जापानी अटो जायन्ट टोयोटा मोटर्सले नयाँ इलेक्ट्रीक एसयूभी बीजेड ३ एक्स अनभिल गरेको छ । कम्पनीले चीनमा जारी बेइजिङ अटोशो २०२४ मा उक्त कार अनभिल गरेको हो ।

टोयोटाले चिनियाँ कम्पनी जीएसीसँगको जोयन्ट भेन्चरमा बनाएको बीजेड ३ एक्समा इन्टेरियर स्पेश र कम्फर्टलाई विशेष ध्यान दिइएको छ ।

टोयोटाले यसअघि चिनियाँ बजारमा बीजेड ४ एक्स एसयूभी र बीजेड ३ सेडान गरी दुई ईभी लन्च गरेको थियो । यी दुवै ईभी ई टीएनजीए प्ल्याटफर्ममा बनेकाले नयाँ बीजेड ३ एक्स पनि यसै प्ल्याटफर्ममा बनेको अनुमान गरिएको छ । साथै यसमा पनि बीबाइडीले बनाएको लिथियम आयोन फस्फेट ब्याट्रीको प्रयोग भएको छ ।

५ सिटे यो एसयूभीमा मिनीमलिस्ट इन्टेरियर हुनुका साथै सुरक्षाका लागि एडास फिचर समेत रहेको छ । ठूलो साइजको टचस्क्रीन इन्फोटेन्मेन्ट सिस्टमका साथै यसमा ड्राइभर असिस्ट सिस्टम समेत हुने बताइएको छ ।

यसको लम्बाइ ४५३९ एमएम, चौडाइ १८८७ एमएम तथा १५६० एमएमको उचाइ रहेको छ । यो एसयूभी टोयोटाको बीजेड४ एक्स भन्दा झण्डै १५२ एमएम सानो रहेको छ ।

सिंगल ह्वील ड्राइभ र अल ह्वील ड्राइभ अप्सनमा उपलब्ध हुने यो एसयूभीमा ७१।४ किलोवाट आवरको ब्याट्री प्याक रहनेछ । यसको रेन्ज ३६० देखि ४०५ किलोमिटर सम्मको हुनेछ । यो ईभीमा १५० किलोवाट सम्मको चार्जिङ स्पीडमा फास्ट चार्जरले चार्ज गर्न सकिनेछ । यो ईभीलाई जम्मा ३० मिनेटमै ८० प्रतिशतसम्म चार्ज गर्न सकिनेछ ।

आगामी वर्षको अन्त्यसम्म बजारमा आउने अपेक्षा गरिएको यो ईभीले बीवाईडी अटो३, ओमोडा ई ५, मारुती सुजुकीको ईभीएक्स, हुन्डाई क्रेटा ईभी तथा टाटा कर्भ ईभीसँग प्रतिस्पर्धा गर्नेछ ।


Back_to_top