४ मिटरभन्दा लामो साइजको एसयूभी राइजको विक्री सुरु

काठमाडौं । टोयोटाको नयाँ एसयूभी राइज विक्री सुरु भएको छ । कम्पनीले आज आफ्नो शोरुममा एक कार्यक्रम आयोजनागरी यसको आधिकारीक विक्री सुरु गरेको हो ।

टोयोटाको आधिकारीक वितरक यूनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले नेपाल ल्याएको राइज ४ मिटरभन्दा केही लामो साइजमा उपलब्ध रहेको छ । राइजको लम्बाई ४०३० एमएम, चौडाई १७१० एमएम, उचाई १६३५ एमएम र ह्वीलवेस २५२५ एमएम रहेको छ । यसमा ग्राहकले २०० एमएमको ग्राउन्ड क्लियरेन्स पाउने छन् । ३६ लिटरको इन्धन ट्याङ्की र ३६९ लिटरको बुट स्पेश उपलब्ध छ ।

विशेषत थाइल्याड, इन्डोनेशिया, जपानमा अघिल्लो वर्षबाट आएको राइज तत्काल दुई भेरियन्ट नेपाल आएको छ ।

अहिले १.२ लिटर नेचुरल्ली एस्पीरेटेड इन्जिनमा मात्रै राइज नेपाल आएको हो । अबको केही दिनपछि १.० लिटर टर्बो इन्जिनमा राइज नेपाल आउने कम्पनीले जनाएको छ ।

टोयोटाले राइज १.२ लिटर म्यानुयल भेरियन्टको मूल्य ६६ लाख तोकेर विक्री सुरु गरेको छ भने, १.२ लिटर अटोमेटीक भेरियन्टको मूल्य ७२ लाख ५० हजार रुपैयाँ कायम गरिएको छ ।

यसमा रहेको नेचुरल्ली एस्पीरेटेड १.२ लिटर इन्जिनले अधिकतम ६००० आरपीएममा ८७ हर्स पावर र ४५०० आरपीएममा ११३ एनएम टर्क प्रदान गर्छ । यसको उच्चगति क्षमता भने १६० किलोमिटर प्रतिघन्टा मात्रै रहेको छ ।

सुरक्षाको लागि राइजमा ६ वटासम्म एयरव्याग, भेहिकल स्टेविलीटी कन्ट्रोल, इबीडीको साथमा एबीएस, हिल स्टार्ट एसिस्ट कन्ट्रोल, ४ वटा पार्किङ सेन्सर, आइएसओ फिक्स चाइल्ड सिट जस्ता फिचर प्रदान गरिएको छ ।


Back_to_top