ट्राफिक नियम उल्लंघन गर्नेलाई सडकमा खटाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले ट्राफिक नियम उल्लंघन गर्नेलाई सडकमा स्वयंसेवक खटाउने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।

आइतबार सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले गृहमन्त्री रवि लामिछानेको ट्राफिक नियम उल्लंघन गर्नेलाई सडकमा खटाउने निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो ।

शुक्रबार ललितपुर गोदावरीका २२ वर्षीय उज्जव माली, बझाङका २२ वर्षीय कृष्ण विक, पर्साका २१ वर्षीय इमामुल हक लगायत ७ जनाले ट्राफिक नियम उल्लंघन गर्दा सडकमा खटाउने निर्णय विरुद्ध सर्वोच्चमा रिट दायर गरेको थिए । सोही रिटको सुनवाइ गर्दै सर्वोच्चले तत्काल सो निर्णय कार्यान्वयन नगराउन आदेश दिएको हो ।

गृहमन्त्री लामिछानेले गणतन्त्र दिवस (जेठ १५ गते) मापासे लगायतका ट्राफिक नियम उल्लंघन गर्नेलाई स्वयंसेवामा खटाउने निर्णय भएको जानकारी गराएका थिए । ट्राफिक प्रहरीले जेठ १६ गतेदेखि मापसे गरेका, ओभर स्पीडमा सवारी चलाउने, लेन मिचेका र ट्राफिक बत्ती उल्लंघन गरेकाहरूलाई स्वयम्सेवकको रुपमा सडकमा खटाएको थियो ।


Back_to_top