ट्रायल सेन्टर शिलान्यास

डोटी । पुरानो क्षेत्रीय सदरमुकाम दिपायल राजपुरमा गाडी तथा बाइक चलाउनका लागि लिइने अनुमतिपत्रका लागि ट्रायल सेन्टर स्थापना गरिएको छ । राजपुरमा निर्माण गरिने उक्त सेन्टरको सुदूरपश्चिम प्रदेशका भौतिक योजना तथा पूर्वाधारमन्त्री पठानसिंह बोहराले आज शिलान्यास गर्दै सामान्यतया लाइसेन्स रिन्यु तथा नयाँ लाइसेन्स लिन कैलाली–कञ्चारपुर धाउनुपर्ने झन्झटबाट नागरिकले मुक्ति पाउने बताए । उनले भने, “यो ट्रायल सेन्टरले नागरिकलाई राहत मिल्नेछ, सामान्य कामका लागि जिल्ला बाहिर गएर दुःख गर्नुपर्ने अवस्था हट्नेछ ।” 

सुदूरपश्चिम प्रदेशका अछाम, बाजुरा र डोटी जिल्लालाई लक्ष्य गरी दिपायलस्थित राजपुरमा यातायात व्यवस्था सेवा कार्यालय स्थापन गरिएसँगै अहिले सेन्टर पनि शिलान्यास गरिएको हो । आगामी असार महीनासम्म सेन्टर निर्माण सम्पन्न गरिसकिने लक्ष्य लिइएको छ । जिल्ला समन्वय समितिका संयोजक रामबहादुर ऐरले सेन्टरले सुदूर पहाडका तीन जिल्लाका नागरिकलाई निकै राहत पुग्ने बताए । उनले भने, “लाइसेन्स लिन र रिन्यु गर्न यहाँका जनताले निकै दुःख गर्नुपर्ने र खर्च बढी हुने गरेको थियो । अब घरमै ट्रायल सेन्टर स्थापना भएकाले सबैलाई सहुलियत मिल्नेछ ।”


Back_to_top