एक जनाको ज्यान गएपछि फिर्ता भयो ७ बजेदेखि ट्रिपर संचालन गर्ने निर्णय

काठमाडौं । उपत्यका भित्र टिपर सञ्चालनको समयावधि बढाउने निर्णय फिर्ता भएको छ । बेलुकी ७ बजेदेखि बिहान ७ बजेसम्म ट्रिपरहरु चलाउने निर्णय फिर्ता भएको हो ।

हिजो मात्रै ७ बजेदेखि ट्रिपरहरु संचालन गर्ने निर्णय भएकै दिन बेलुका ७ बजे भक्तपुर सुर्यबिनायकमा ट्रिपरको ठक्करबाट बाइक चालकको घटनास्थलमै मृत्यु भएको थियो । 

अब साउन ४ गतेकै निर्णयअनुसार बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्म मात्रै ट्रिपरहरु संचालन हुने ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ ।  ट्राफिक प्रहरी महाशाखाले आज  सूचना जारी गर्दै बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्म मात्रै ट्रिपर संचालन गर्न सबैमा आग्रह गरेको छ ।

बुधबार प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको अध्यक्षतमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले ट्रिपर संचालनको समयतालिका हेरफेर गरेको थियो । सो बैठकले निर्माण सामाग्रीको ढुवानीमा केही बाधा परेको भन्ने गुनासो आएका कारण समयतालिका हेरफेर गरेको थियो ।

उक्त बैठकले बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्म ट्रिपर संचालन  गर्ने समयलाई बेलुकी ७ बजेदेखि बिहान ७ बजेसम्म संचालन  गर्न अनुमति दिने निर्णय गरेको थियो । सवारी दुर्घटना न्यूनीकरण गर्ने उदेश्यले यसअघि साउन १ गतेको निर्णयअनुसार काठमाडौंभित्र रिङरोड र कोटेश्वरबाट जडिबुटि सम्मको सडक खण्डमा दिउसो टिपर संचालनमा पुर्ण रुपमा रोक लगाएको थियो । यी क्षेत्रहरुमा बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्म मात्र टिपर संचालन गर्न अनुमति दिइएको थियो ।


Back_to_top