टीभीएस आइक्यूब उपत्यकाका ४ शोरुमबाट मात्रै बुकिङ गर्न सकिने

काठमाडौं । जगदम्वा मोटर्सले टीभीएस आइक्यूबको आधिकारिक रुपमा बुकिङ खुल्ला गरेको छ । कम्पनीको पहिलो इलेक्ट्रीक स्कुटर आइक्यूबको मूल्य ४ लाख २९ हजार ९०० रुपैयाँ निर्धारण गरेर बुकिङ लिन सुरु गरेको हो ।

कम्पनीका अनुसार टीभीएसको नक्साल, टेकु, सानो भर्याङ र कान्तिपथमा रहेको आधिकारिक शोरुमबाट मात्रै आइक्यूब बुकिङ गर्न सकिन्छ ।

अब ग्राहकले टीभीएसको शोरुममा आइक्यूबको टेष्ट राइडसमेत गर्न पाउने छन् । जगदम्वा मोटर्सले हाल एक भेरियन्टमा मात्रै आइक्यूव ल्याउने जनाएको छ ।

टीभीएस आइक्यूवमा ३.०४ किलोवाट आवरको आइपी ६७ प्रमाणित लिथियम आयन ब्याट्री रहेको छ । यो ब्याट्रलाई एक पटक फुल चार्ज गरेर १०० किलोमिटरसम्म गुडाउन सकिने कम्पनीको दावी छ । यसका अलावा आइक्यूबको एसटी भेरियन्टले भने १४० किलोमिटर रेन्ज दिने कम्पनीको दावी छ ।

यो ब्याट्रीलाई सामान्य चार्जरमा चार्ज गर्दा ४ घन्टामा ८० प्रतिशत चार्ज गर्न सकिने कम्पनीले जनाएको छ । त्यस्तै फास्ट चार्जरको प्रयोगले यसलाई २ घन्टा ३० मिनेटमा ८० प्रतिशत चार्ज गर्न सकिन्छ ।आइक्यूवमा ३ किलोवाट क्षमताको मोटर रहेको छ भने यसले १४० एनएम पीक टर्क जेनेरेट गर्छ । यसको टप स्पीड क्षमता ८२ किलोमिटर प्रतिघन्टा रहेको छ ।

आइक्यूबमा ५ इन्चको टीएफटी डिस्प्लेका स्मार्ट कनेक्ट फिचर उपलब्ध रहेको छ । स्कुटरमा रिभर्स सहितको पावर तथा इकोनोमी मोड उपलब्ध छ ।


Back_to_top