एफआई इन्जिनमा आयो टीभीएस रेडर १२५, कति बढ्यो मूल्य ?

काठमाडौं । टीभीएस रेडर १२५ को नयाँ भर्सन नेपाल आएको छ । कम्पनीले रेडर १२५ एफआई इन्जिनमा नेपाल ल्याएको हो ।

टीभीएस मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी जगदम्वा मोटर्सले रेडर १२५ एफआईमा ल्याएको हो ।

भारतीय बजारमा लामो समयदेखि एफआई इन्जिनमै बिक्री भइरहेको रेडर १२५ अहिले नेपाल आएको छ । कम्पनीले कार्बुरेटर इन्जिन भएको रेडरको मूल्य २ लाख ७० हजार ९०० रुपैयाँमा बिक्री गर्दै आएको छ । एफआई इन्जिनको मूल्य १९ हजार रुपैयाँले बढाएर २ लाख ८९ हजार ९०० रुपैयाँमा बिक्री थाल्ने तयारी गरेको हो ।

रेडरमा १२४.८ सीसी क्षमताको सिंगल सिलिन्डर, एयर आयल कुल्ड इन्जिन रहेको मोटरसाइकलले अधिकतम ७५०० आरपीएममा ११.३८ पीएस पावर र ६ हजार आरपीएममा ११.२ एनएम अधिकतम टर्क उत्पादन गर्छ ।

टीभीएस रेडर १२५मा एड्जस्टेवल मोनोशक सस्पेन्सन, यूएसबी चार्जिंग, अन्डर सिट स्टोरेज र फराकिलो टायर लगायत विशेषताहरु उपलब्ध रहेका छन् । साथै, यसमा रहेका आकर्षक नयाँ एलइडी हेडलाइट, एंगुलर एलइडी डीआरएल तथा फेन्डर अप फ्रण्टले समग्र बाइकको लुक्सलाई आकर्षक बनाएको छ ।


Back_to_top