काठमाडौं । नेपाली बजारमा ४.५ मिटर लम्बाई भएका धेरै ब्राण्डका ‘लो रुफ इलेक्ट्रीक भ्यान’हरु एकपछि अर्को आउँदै छन् । बजारमा धेरै इलेक्ट्रीक भ्यान उपलब्ध भएसँगै प्रतिस्पर्धा पनि बढ्दै गएको हो ।
विभिन्न कम्पनीहरुले समान स्पेक र साइजका इलेक्ट्रीक भ्यानहरु आयात गर्दै आएका छन् । धेरै कम्पनीले एउटै किसिमका भ्यान ल्याएसँगै नयाँ स्कीममा प्रतिस्पर्धा सुरु भएको हो । नेपालमा बिक्री भइरहेका सबै लो रुफ भ्यानमा ४२ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ । मूल्य पनि लगभग सबैको समान ४५ लाख ५० हजार तोकिएको छ ।
प्रतिस्पर्धा सुरु भएसँगै कम्पनीहरुले गाडीको पछाडि पनि स्पीकर, अगाडि र पछाडि नै क्यामेरा, ५ यूनिट भ्यानको खरिदमा फास्ट चार्जर सित्तैमा, ५ वर्षसम्म फ्रि सर्भिसिङ, देशैभर फास्ट चार्जर नेटवर्क विस्तार, सित्तैमा इन्योरेन्स, वार्षिक कार र एक्सटेन्डेड वारेन्टी दिन थालेका छन् ।
नेपाली बजारमा सुरुमा आयात भएका केही ब्राण्डहरुले ५ वर्ष वा २ लाख किलोमिटर वारेन्टी दिएका थिए । अहिले आएर ६ वर्षसम्मको वारेन्टी अफर गर्न थालिएको छ । विशेषत विश्वको सबैभन्दा ठूलो ब्याट्री उत्पादक कम्पनी सीएटीएलको उत्पादन प्रयोग गरेका इलेक्ट्रीक भ्यानमा वारेन्टी बढ्दै गएको हो ।
ईभी भ्यानको हाइभोल्टेज ब्याट्रीमा वारेन्टी सम्बन्धीत उत्पादक कम्पनीले दिने गरेको व्यवसायीहरु बताउँछन् । उत्पादक कम्पनीले नै यति वर्ष र यति लाख किलोमिटर वारेन्टी भनेर तोकेरै पठाउन थालेका छन् ।
बजारमा लो रुफ इलेक्ट्रीक भ्यान सेग्मेन्टमा सबैभन्दा ठूलो बजार हिस्सा रहेको सीजी केवाइसीको ब्याट्री प्याकमा ५ वर्ष वा २ लाख किलोमिटरको वारेन्टी रहेको छ । त्यस्तै सबैभन्दा पहिला नेपाल आएको डोङफेङको डाँफे मोडलमा पनि ५ वर्ष वा २ लाख किलोमिटरसम्मको वारेन्टी पाइन्छ ।
हालै मात्र त्रिवेणी ग्रुपले ल्याएको कामाको ईभी भ्यानमा पनि ५ वर्ष वा २ लाख किलोमिटर वारेन्टी रहेको छ । त्यस्तै एमएडब्लु बृद्धिले बिक्री गरिरहेको सोकोन ब्राण्डमा पनि ५ वर्ष वा २ लाख किलोमिटरसम्म मात्र वारेन्टी पाउन सकिन्छ ।
तर, पछिल्लो समय आएको एसआरएम ब्राण्डमा भने ६ वर्ष वा ३ लाख ६० हजार किलोमिटरको वारेन्टी रहेको छ र डोङफेङको अर्को ब्राण्ड डीएफएसीले भने ५ वर्ष वा ५ लाख किलोमिटरसम्म व्याट्रीमा वारेन्टी दिन थालेको छ । अर्को चिनियाँ ब्राण्ड सीएचटीसीले ६ वर्ष वा ३ लाख किलोमिटर वारेन्टी दिएको छ ।