काठमाडौं । एमजीको आधिकारीक बिक्रेता पारामाउन्ट मोटर्सले नाडा अटो शो २०२४ मा नयाँ मोडल देखाउने भएको छ । कम्पनीले आफ्नो उत्पादन मध्ये सबैभन्दा प्रिमियम मोडल साइबरस्टर प्रदर्शनी गर्ने भएको हो ।
एमजी साइबरस्टर प्रिमियम स्पोर्टस् कार हो । कम्पनीले अघिल्लो महिनाबाट मात्रै यसको अन्तर्राष्ट्रिय बजारमा निर्यात सुरु गरेको छ । यस्तोमा नेपालमा पनि यसलाई बिक्री सुरु गर्न लागिएको हो ।
नेपालमा चाँडै बिक्री सुरु हुन लागेको साइबरस्टरको मूल्य १ करोड ६० लाख हाराहारी पर्ने अनुमान गरिएको छ ।
आइकोनिक रोडस्टरलाई समर्पित गरेर लामो हुड, स्मुथ बडी लाइन दिएर यसलाई तयार गरेको छ । यो स्पोर्टस कारको टप स्पीड क्षमता २०१ किलोमिटर प्रतिघन्टा छ ।
रोडस्टर डिजाइनमा तयार भएको साइबरस्टर एमजीको लाइनअपमा सबैभन्दा बलियो मोडल हो । अन्तर्राष्ट्रिय बजारमा साइबस्टर फोर ह्वील र रियर ह्वील ड्राइभ सिस्टममा उपलब्ध छ । नेपाल आउने मोडल सम्भवत रियर ह्वील ड्राइभ हुनेछ । यसमा २५० किलोवाटको मोटर दिइएको छ ।
एमजीले आफ्नो इलेक्ट्रीक स्पोर्टस् कारमा ७७ किलोवाट आवर क्षमताको लिथियम आयोन ब्याट्री दिएको छ । उक्त ब्याट्रीलाई सिंगल चार्जमा ५०८ किलोमिटर गुडाउन सकिन्छ ।
इलेक्ट्रीक साइबरस्टरको लम्बाई ४५३५ एमएम, चौडाइ १९१३ एमएम र उचाई १३२९ एमएम छ । यसको ह्वीलबेस २६९० एमएम रहेको छ । कारमा १९ इन्चको ह्वील, इलेक्ट्रीक हुड, ७ इन्चको टच स्कृन बोस्चको ८ वटा स्पीकर रहेको छ ।
पछिल्लो समयमा एमजी ब्रान्ड टी–सिरिज, एमजीए, एमजीबी लगायतका रोडस्टरको लागि परिचित छ । कम्पनीले नयाँ ईभीमा एरो सेप्ड टेललाइट दिएको छ । कम्पनीले यो ईभी मोडर्न डिजाइनमा तयार गरेको छ ।