अटोमेटीक कारमा ४ प्रकारको गियरबक्स, तपाईको कारमा कुन ?

काठमाडौं । गाडी चालकलाई सहज होस् भनेर निर्माता कम्पनीले नयाँ नयाँ फिचर आविश्कार गरिरहेका हुन्छन् । त्यसको लागि कम्पनीहरुले निरन्तर ‘आर एण्ड डी’मा ठूलो लगानी गरिरहेका हुन्छन् ।

आजभन्दा १ सय १५ वर्ष अगाडि नै सन् १९०४ मा अटोमेटीक गियरबक्स बनेको थियो । त्यसतवेला यसको नाम ‘हर्सलेस क्यारेज गियरबक्स’ भनिन्थ्यो । तर, सन् १९३९ जनरल मोटर्सले ‘हाइड्राम्याटिक’ नाम दिएर ठूलो संख्यामा अटोमेटीक गियरबक्स उत्पादन  र चलनमा ल्याएकाे इतिहास पाइन्छ ।

अहिले नेपाली बजारमा उपलब्ध विभिन्न ब्राण्डका फरक-फरक अटोमेटीक गियरबक्स भएका गाडी विक्री गर्दै आएका छन् । अहिले नेपालमा उपलब्ध अटोमेटीक गियरबक्समा ‘अटोमेटीक म्यानुयल ट्रास्मीसन’ (एएमटी) सबैभन्दा धेरै प्रयाेगमा ल्याएको सस्तो प्रविधि हो ।

यो गियरबक्स इन्ट्री लेवलका बजेट कारहरुमा प्रयोग गर्ने गरेको पाइन्छ । त्यस्तै अन्य अटाेमेटीक गियरबक्सको रुपमा एएमटीकाे साथै सीभीटी, डीसीटी तथा टर्क कन्भर्टर आदि विभिन्न नामले उपलब्ध गियरबक्स भएका कार बजारमा उपलब्ध रहेका छन् ।

के हो अटोमेटीक म्यानुअल ट्रास्मीसन (एएमटी) ?

यो प्रविधी म्यानुयलको केही परिस्कृतरुप हो । कम मूल्यमा अटोमेटीक कार खोज्ने मानिसलाई यो उत्तम विकल्प हो । म्यानुयल भन्दा केही फरक यो गियरबक्सले आवश्यकता अनुसार सेन्सरको माध्यमबाट स्पीड र एक्सीलरेसन अनुसार आफैँ गियर परिवर्तन गर्छ ।

एएमटी सिस्टमले गियर परिवर्तन गरेकाे चालकले राम्रैसँगै अनुभव गर्न सक्छन् । विशेषत सहरी क्षेत्रमा हुने बाक्लो ट्राफिकमा एएमटी उपयुक्त मानिन्छ । तर, हाइवेमा भने गियर परिवर्तनमा केही समय लिने भएकोले चालकलाई पावर छुटेको वा झट्का लागेको अनुभव हुन्छ ।

यो गियरवक्स जडान भएको कारको मूल्य म्यानुयलको तुलनामा धेरै महंगो हुँदैन । यसले कारको माइलेज पनि म्यानुयलभन्दा ठूलो फरक हुँदैन । नेपालमा विक्री हुने रेनो क्वीड, हुन्डाई सेन्ट्रो, डाट्सनको रेडी गो, मारुती सेलेरियो तथा एसप्रेसो जस्ता गाडीमा एएमटी गियरबक्स प्रयोग गरिएको छ ।

टर्क कन्भटर गियरबक्स

टर्क कन्भटर सन् १९६५-७० देखि अमेरिकामा व्यापक प्रयोग हुँदै आएको गियरबक्स हो । यसलाई अहिले पनि विश्वका धेरै कार उत्पादकले प्रयोग गर्दै आएका छन् । सवैभन्दा पूरानो सिस्टम भएकोले पनि यसलाई निकै उपयोगी गियरबक्स मानिन्छ ।

यसको विकास भएको ५० वर्षमा निकै परिमार्जन र परिस्कृत हुँदै यसको प्रयोग बढाइएको हो । अहिले पनि जर्मन ब्राण्ड बीएमडब्लू, अमेरिकी फोर्ड जस्ता उत्कृष्ट कार निर्माताले यही गियरबक्स प्रयोग गरिरहका छन् । कुनै पनि कम्पनीले आफ्नो गियरबक्सको नाम एएमटी, सीभीटी, डीसीटी, डिएसजी जस्तो नाम दिएको छैन भने त्यसमा टर्क कन्भटर गियरबक्स प्रयोग भएको मान्नु पर्छ ।

यो गियर सिस्टमले कारको माइलेज १० प्रतिशतसम्म घटाउने गर्छ । यसको प्रयोग निकै ‘स्मुथ’ मानिन्छ । निकै कम स्पीडमा गियर परिवर्तन भएको यसमा थाहा हुँदैन । तर, हाइवेमा गाडी चलाउँदा भने चालकले गियर परिवर्तन भएको थाहा पाउने छन् ।

फोर्ड फिगो, होण्डा अमेज, टाटा नेक्सन, मारुती सुजुकी भिटारा ब्रेजा जस्ता मोडलमा यो गियरबक्स प्रयोग भएको छ ।

कन्टीनीवस भेरीयबल ट्रास्मीसन (सीभीटी)

प्रायःजसो कारमा ५ वा ६ स्पीड, ७ वा ९ स्पीडको गियर बक्स भन्ने गरिन्छ तर, सिभीटी गियरबक्स भएको गाडीमा गियरको संख्याले केही फरक पार्दैन । यो टेक्नलोजी प्रयोग भएको गियरबक्सले आवश्यता अनुसार निरन्तर गियर परिवर्तन गरिरहेको हुन्छ । तर, यसरी भएको गियर परिवर्तन चालकले महशुस गर्न सक्दैनन् ।

यसमा प्रयोग भएको दुईवटा पूल्लीले निरन्तर गियरलाई परिवर्तन गरिरहेको हुन्छ । यो गियरवक्सको मुख्य फाइदा भनेको कार ड्राइभिङ निकै सहज हुनु हो । सिभीटी गियरबक्स टोयोटा र होन्डाले धेरै मोडलमा प्रयोग गरेका छन् ।

ड्यूल क्लच ट्रास्मीसन (डिसीटी)

ड्यूल क्लच ट्रास्मीसन (डिसीटी) वा डाइरेक्ट सिफ्ट गियरबक्स (डिएसजी) दुबै एकै प्रविधि हो । यसको नामले नै यो सिस्टममा दुईवटा क्लच छ भन्ने दर्शाउँछ । यो गियरबक्समा दुईवटा क्लचले सिक्रोनाइज रुपमा काम गर्छ ।

पहिलो क्लचले १, ३, ५ जस्तो अड नम्बरको गियर परिवर्तन गर्छ भने दोस्रो क्लचले २, ४, ६ जस्तो इभन नम्बरको गियर चलाउँछ । यो गियरबक्सको मुख्य फाइदा भनेको दुईवटा क्लचले काम गर्ने भएकोले एकदमै कम समयमा गियर चेन्ज हुने गर्छ । यही कारण चालकलाई गियर परिवर्तन भएको महसुसनै हुँदैन ।

यो गियरवक्सको गियर अप र डाउन दुबै पक्ष एकदमै स्मुथ हुुन्छ । यसको अर्को विशेषता भनेको उत्कृष्ट माइलेज हो । दुईवटा क्लच सिस्टम हुने भएकोले यो गियरबक्स महंगो भने हुन्छ । प्रायःजसो प्रफर्मेन्स कारहरुमा यो गियरबक्सको प्रयोग भएको हुन्छ । साथै, यसको मर्मत खर्चपनि अन्य गियरबक्सको तुलनामा महंगो हुने गर्छ ।

हुन्डाई क्रेटा, किया सेल्टोस, जीप कम्पास, स्कोडा कुशक जस्ता एसयूभीहरुमा यो अटोमेटिक गियरवक्सको प्रयोग भएको छ ।


Back_to_top