नेपालमा असफल हुँदै अमेरिकी ब्राण्डः राम्रो भएर पनि सधैँको लागि बन्द भयो यो मोटरसाइकल

काठमाडौं । अमेरिकी ब्राण्डका उत्पादन नेपालमा सफल भएपनि भारतमा उत्पादन बन्द हुँदा समस्या भोगिरहेका छन् । नेपालमा राम्रो बजार भएपनि अमेरिकी कम्पनीले भारतीय बजार छाड्दा फोर्ड, सेभ्रोलेट जस्ता मास मार्केट ब्राण्ड छाँयामा परे । सेभ्रोलेट सन् २०१७ देखि नै बन्द भइसकेको छ । फोर्डले भने भारत बाहेकका देशमा बनेको गाडी ल्याएर विक्री गर्ने योजना अगाडि सारेको छ ।

अमेरिकी चार पाङ्ग्रे सवारी ब्राण्डको अवस्थाभन्दा खराब अबस्था दुई पाङ्ग्रेमा छ । पछिल्लो समय नेपाली बजारमा डबल स्पोर्टस मोटरसाइकलको क्रेज बढ्दै गएको भएपनि अमेरिकी कम्पनी असफल भएर बाहिर गएको छ । हाल नेपाली बजारमा भारत, चीन, ब्राजिल लगायत थुप्रै देशमा उत्पादन भएको डबल स्पोर्टस मोटरसाइकलहरु भने सफलरुपमा विक्री वितरण भइरहेका छन् ।

नेपालमा सबैभन्दा लोकप्रिय डबल स्पोर्टस मोटरसाइकल हिरो एक्सपल्स २००, होन्डा एक्सआर १५०/१९० एल, यामाहा एक्सटीजेड, मोटरहेड एक्सटर्क, क्रसफायर ट्रेकर २५०, हाउजे १५० एनके रहेका छन् । यसका अलावा अन्य धेरै कम्पनीले पनि डबल स्पोर्टस मोटरसाइकल विक्री गर्दै आएका छन् ।

डबल स्पोर्टस सेग्मेन्टमा अमेरिकी कम्पनी यूएम ब्रान्डको डिएसआर २३० मोटरसाइकल यो सेग्मेन्टमा निकै सम्भावना बोकेको मोटरसाइकल थियो । तर, आइएमई मोटर्सले यसको विक्री बन्द गरेको छ । उसोत आइएमईले नै हार्लेको विक्री पनि लगभग बन्द अबस्थामा पुर्याएको छ । हार्ले पनि अमेरिकी कम्पनी हो ।

यस्तो थियो डिएसआर २३०

यूएम ब्रान्डको डिएसआर २३० नेपाली बाटोमा गुडेको यदाकदा भेटिन्छ । अहिले बढ्दै गएको एड्भेन्चर राइड कल्चरलाई सुहाउँदो यो मोटरसाइकल मूल्य तथा फिचरका हिसावले अन्य प्रतिस्पर्धीलाई कडा टक्कर दिन सक्ने थियो ।

यूएम डिएसआर २३० मा २२३ सीसी सिगंल सिलिन्डर, ४ स्ट्रोक, एयर कुल्ड इन्जिन रहेको छ । यो इन्जिनले ७५०० आरपीएमा १६ हर्षपावर तथा ५५०० आरपीएममा १७.७ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स जडान गरिएको छ । यसको कुल तौल १४४ केजी रहेको छ । यसलाई ह्यान्डल गर्न निक्कै सजिलो हुन्छ ।

यसको सिट हाइट ८२० एमएम र ग्राउन्ड क्लियरेन्स २४० एमएम रहेको छ । अनरोड तथा अफरोड दुवैमा उत्कृष्ट प्रदर्शन गर्ने क्षमता भएको यो मोटरसाइकलले बजारमा राम्रो प्रभाव जमाउन सकेन ।

यसमा अगाडि टेलीस्कोपीक इन्र्भटेड गोल्डेन कलरको लङ ट्राभल सस्पेन्सन थियो । जसले बम्पी रोडमा उत्कृष्ट प्रदर्शन गर्छ । यसको रियरमा भने मोनोशक सस्पेन्सन रहेको थियो । उत्कृष्ट ह्याण्डलिङको बाबजुद यसलाई कम्पनीले विक्री गर्न सकेन ।

यो मोटरसाइकलमा १७ इन्चको अलोय ह्वील, दुवैतर्फ हाइड्रोलिक भेन्टीलेटेड डिस्क ब्रेक, सेमी डिजिटल इन्स्टुमेन्ट क्लष्टर यसमा रहेको थियो ।

यो मोटरसाइकलको मूल्य, ह्याण्डलिङ, पावर, लुक्स, पर्फमेन्सका आधारमा भन्दा एकदमै सम्भावना बोकेको यो मोटरसाइकल सदाको लागि बन्द भएको छ ।

पछिल्लो समय आइएमई मोटर्सले यूएम डिएसआर २०० को मूल्य ४ लाख र यूएम डिएसआर २३० को मूल्य ४ लाख ३५ हजार रुपैयाँ राखेर विक्री गर्दै आएको थियो ।


Back_to_top