नाडाको नयाँ नेतृत्वलाई यी विषय बन्न सक्छन् फलामको चिउरा

नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको ४५ औं साधारण सभाबाट नयाँ कार्यसमिति चयन भएको छ । नयाँ कार्यसमितिमा अधिकांश पुरानै अनुहार सदस्यको रूपमा निर्वाचित भएका छन् भने केही नयाँ अनुहारलेले प्रवेश पाएका छन् ।

नाडाको जिम्मेवारी समाल्न आएका अधिकांश पुराना अनुहार नेपालमा दशकौंदेखि व्यवसाय गर्दै आएका व्यापारी हुन् भने यसलाई व्यवसाय वा उद्योगमा परिणत गर्नु पर्छ भन्ने सोच भएका धेरै सदस्य निर्वाचित भएका छन् । यसले आगामी दिनमा नाडाले सरकारसँग अटोमोबाइल क्षेत्रको विकासमा कसरी साझेदारी गर्छ त्यो भने हेर्न केही समय कुर्नु पर्ने हुन्छ ।

यहाँ चर्चाको विषय निर्वाचनमा होमिएको समयमा अध्यक्ष र सदस्यले उठाएका विषय हुन् । अधिकांश उमेदवारले निर्वाचनको समयमा प्रादेशिक संरचनालाई बलियो र अधिकार सम्पन्न बनाउने बताएका थिए । त्यसको मतलब उनीहरूको कार्य क्षमता र कार्य दक्षता वृद्धि गर्छौं भनेका हुन् जस्तो लाग्छ । त्यसको लागि कस्तो काम गर्ने भन्ने विषयमा ठोस योजना कुनै पनि सदस्यसँग छैनभन्दा फरक पर्दैन ।

पारदर्शी र सामाजिक उत्तरदायित्व सहितको व्यवसाय गर्न सबै व्यवसायीलाई प्रेरित गर्न नसक्ने हो भने नाडा जस्ता संस्थाको उपादेयिता समाप्त हुनेछ । यतातर्फ नेतृत्वले ध्यान दिनु पर्छ । अन्यथा यत्रो तामझाले चुनिएर आएको नेतृत्व आफैं गुम्नाम भएर जाने निश्चित छ ।

चुनावमा बोलिएका यी विषयलाई गम्भीर ढंगले यहाँ केलाउन जायज हुन्छ । अध्यक्षमा प्रतिस्पर्धा गर्न जसरी नाडाको सदस्यता विस्तार गरिएको छ । यो मोडालीटी नै नाडाको लागि घातक छ । यहाँ सदस्यको संख्या आयातकर्ताभन्दा तीन सय प्रतिशत बढी खुद्रा व्यापार गर्नेहरूको छ । खुद्रा व्यापर फस्टाउनु आफैँमा देशको अर्थतन्त्रका लागि सकारात्मक भए पनि नाडाको सदस्यको प्रारूपमा यो ‘म्याच’ हुने देखिँदैन । त्यसैले यो कार्यसमितिले सदस्यको विषयमा थप छलफल र विश्लेषण गरेर निर्णय लिनु पर्ने छ । त्यो काम यो कार्यसमितिको लागि फलामको चिउरा सरह हुन्छ ।

अर्को विषय थप पेचिलो बन्नेवाला छ, त्यो हो डिलरहरूको समिति । यसअघि डिलर समिति निर्माण गर्न अध्यक्ष कृष्णप्रसाद दुलालले प्रयास गरेका थिए । उनको प्रयासमा तत्काल एकमत नहुनु र उनले ‘पेलेरै जाने’ नीति लिँदा जटिल बनेको थियो । अहिलेको निर्वाचनमा अध्यक्षले नै त्यसलाई सम्बोधन गर्ने प्रतिबद्धता गरेको विषय बाहिर आएको छ । अबको नयाँ कार्यसमितिले यसलाई स्वीकार नगरी सुख छैन । तर, कसरी गर्ने भन्ने विषयमा निकै ठूलो माथापच्ची गर्नु पर्ने अवस्था छ ।

सागर गजुरेल

कुनै पनि संस्थाको उपादेयिता त्यति बेला मात्रै पुष्टि हुन्छ, जति बेला उसले आफ्ना सदस्य, नागरिक र सरकारको आवश्यकतामा आफूलाई खरो रूपमा उतार्न सक्छ । अहिले नेपालमा सरकार र व्यवसायीको ध्यान नेपालमा नै सवारी साधन उत्पादन गर्ने भन्ने छ । उता नागरिकको समस्या सवारी साधनको मूल्य, वार्षिक कर, उच्च ब्याजदर, कम फाइनान्स सुविधा जस्ता विषयमा छ । यसलाई सम्बोधन गर्न सहज छैन । त्यसको लागि सबै किसिमको बाटो देखाउनेदेखि अन्तर्राष्ट्रिय स्तरमा नेपालको अटोमोबाइल क्षेत्रलाई चिनाउने प्रयास गर्नु पर्ने अवस्था त्यतिकै छ ।

सवारीसाधन परीक्षण, ड्राइभिङ लाइसेन्सको समस्या, प्रदुषण मापदण्ड, सुरक्षित सडक, उपत्यको ट्राफिक समस्या समाधानमा नाडाले सरकारलाई प्रस्ट योजना दिन सक्नु पर्छ । त्यसमा काम गर्न सक्ने विज्ञको टीम निर्माण, तथ्यांकको संयोजन, व्यवसायको सम्भावित खोज र दक्ष जनशक्ति निर्माणमा पहल कदमी गर्नु नाडाको दायित्व भित्र पर्छ । यसलाई व्यवस्थित गर्न अहिलेको कार्यसमिति चुक्नु हुन्न ।

एसेम्बल प्लान्ट स्थापना, इन्सीलरी उद्योग खोल्ने र १० वर्ष भित्र नेपालको अटोमोबाइल बजार कस्तो र कत्रो हुन्छ भन्ने खोज गर्नु पर्ने अवस्था छ । त्यसको लागि ४५ औं साधारण सभामा प्रमुख अतिथिको मन्तव्य राख्दै अर्थमन्त्री जनार्दन शर्माले पनि प्रस्ट योजना ल्याउन आह्वान नै गरेका छन् । उनको आह्वानले योजना प्रस्तुत गर्नै पर्ने बाध्यतामा नयाँ कार्यसमिति परिसकेको छ ।

राजनीति गर्न कै लागि चुनावमा गएका होइनौं भन्ने पुष्टि गर्न नाडालाई सहज छैन । विगतमा सधैं कर घटाउ भन्दै आएको नाडालाई यसपटक विद्युतीय गाडीको विस्तारमा ठोस योजना दिनु पर्ने अवस्था छ । चार्जिङ स्टेशन निर्माण, सार्वजनिक यातायातमा विद्युतीय गाडीको सम्भाव्यता र दिगो योजनासँगै सबै सरोकारवालाको हितमा काम गर्नु पर्नेछ । त्यसको लागि अब बन्ने कार्यसमिति कस्तो हुनु पर्छ भन्ने हेक्का नेतृत्वले पुर्याउनु पर्नेछ ।

समग्रमा परिवर्तनको बाटोमा रहेको यातायात क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउने काममा नाडा लाग्नु पर्छ । पारदर्शी र सामाजिक उत्तरदायित्व सहितको व्यवसाय गर्न सबै व्यवसायीलाई प्रेरित गर्न नसक्ने हो भने नाडा जस्ता संस्थाको उपादेयिता समाप्त हुनेछ । यतातर्फ नेतृत्वले ध्यान दिनु पर्छ । अन्यथा यत्रो तामझाले चुनिएर आएको नेतृत्व आफैं गुम्नाम भएर जाने निश्चित छ ।

 


Back_to_top